Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्तानिर्यातलाई बृद्धि गर्ने मुख्य योजना रहेको छ

निर्यातलाई बृद्धि गर्ने मुख्य योजना रहेको छ


रिब्दीकोट गाउँपालिका, पाल्पा।नारायण बहादुर कार्की रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष हुन । २०२७ सालमा जन्मिएका कार्कीले २०४३ सालमा दश कक्षामा पढ्दै गर्दा देखि नै राजनीतिमा लागेका हुन । तत्कालिन समयमा नेकपा मसाल निकट विद्यार्थी संगठनमा लागेर आफ्नो राजनीतिक यात्रालाई प्रारम्भ गरेका थिए ।

स्वास्थ्य सेवामा १४ बर्ष जागिर गरेका कार्की २०६० सालमा उपदान पाएपछि आफ्नै औषधी पसल सन्चो मेडिकल हल स्थापना गरेर स्वास्थ्य क्षेत्रमै निरन्तर सेवारत रहे । पाल्पा जिल्लामा दिन÷प्रतिदिन ख्याती कमाउँदै गएको उक्त मेडिकल हल २०७५ साल सम्म आफैले सञ्चालन गरी पछि बिक्री गरेका थिए ।

व्यवसाय कै क्रममा २०६२ सालमा माओवादी पार्टीको बुद्धिजिवी संगठनमा बसेर काम गरेका कार्कीले २०६३ सालमा उक्त पार्टीको पार्टी सदस्यता लिएका थिए । २०६४ सालमा बुद्धिजिवी संगठनको पाल्पा जिल्ला सदस्य भएका कार्की सँग २०६८ सालमा उक्त संगठनको जिल्ला सचिव भएर काम गरेको अनु्भव पनि छ ।

२०७५ सालमा पार्टी एकिकरण हुँदा नेकपाको तानसेन नगरपालिकाको नगर सचिव भएर कार्य सञ्चालन गरेका कार्की २०७८ सालमा पार्टी एकिकरण तोडिएपछि नेकपा माओवादी केन्द्रको रिब्दीकोट गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

यहि बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नारायण बहादुर जिसीलाई नौं सय ७८ मतान्तरले जितेका रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायण बहादुर कार्की सँग समसामयिक विषयमा रहेर आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

पाँच बर्षका लागि जनताबाट निर्वाचित भएर आउनु भएको छ, गाउँपालिकाको विकासका लागि के–कस्ता कार्यहरु गर्ने योजना बनाउनु भएको छ ?

अवश्यपनि जनताबाट निर्वाचित भएर आएपछि जनताका कामहरु गर्नु मेरो पहिलो र मुख्य लक्ष्य हो । जसका लागि ‘सु–शासन, समृद्ध रिब्दीकोट र सुखी रिब्दीकोट बासी’ मूल नारा बनाएर उक्त नारालाई सार्थकता बनाउने गरी कार्यसम्पादनमा लागेका छौं । त्यसका लागि पर्यटन, आधुनिक र व्यावसायिक कृषि प्रणालीमा ध्यान दिई उत्पादनको उचित बजार व्यवस्थापन गर्ने रहेको छ ।

कृषि उद्यम गर्न चाहानेहरुका लागि जमिनको व्यवस्था गर्ने, कृषि मजदुरहरुको व्यवस्था गर्ने, उत्पादन बृद्धिका लागि उन्नत जातको बीउविजनको व्यस्था मिलाउने, विभिन्न कृषि सम्बन्धित आवश्यकताहरुमा सहुलियत तथा अनुदानको व्यवस्था गर्ने, प्रत्येक वडामा कृषि उत्पादक समूह बनाएर एउटा नमूना उत्पादन गर्ने, ब्यक्ति, कम्पनी, सहकारी कृषि क्षेत्रमा लगानी गर्न चाहने जो कोहीलाई पनि उक्त क्षेत्रप्रति प्रोत्साहित गर्ने खालको वातावरण निर्माण गर्ने गाउँपालिकाका पुराना धार्मिक तथा पर्यटकीय स्थलहरु भैरवस्थान, जलेश्वर, छत्रदेव, कालिकामाई जस्ता ऐतिहासिक पर्यटकीय स्थालहरु सेल्फी डाँडा, पुर्नाकोट, रिब्दीकोट ढुस्टुङ, रिङसिङलेक, चुनफाँङ डाँडा, जस्ता अति रमणीय स्थलहरुको व्यापक रुपमा प्रचारप्रासर गरेर पर्यटकीय आकर्षणको रुपमा विकास गर्ने, गाउँहरुमा होमेस्टे सञ्चालन गरी पर्यटकहरुलाई बस्ने वातावरण मिलाउनुका साथसाथै आयआर्जन सहित रोजगार र स्वरोजगारको वातावरण तयार गर्ने रहेको छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा जस्ता सबै क्षेत्रहरुमा व्यापक रुपमा सुधार गरी जनतालाई स्थानीय सरकारको अनुभूत हुने आफ्नो जन्मभूमि छोडेर जान मन नलाग्ने गरी विकास निर्माणका योजनाहरु अगाडी बढाउँदै ‘मेरो रिब्दीकोट मेरो गर्व, मेरो स्वर्ग’ भन्ने नारालाई प्रत्येक रिब्दीकोट बासीहरुको जिब्रो जिब्रोमा बस्ने गरी विकास निर्माणका योजनाहरु जनताकै माँझमा रहेर आवश्यकतालाई प्राथमिकता दिंदै कार्यान्वयनमा ल्याउने योजना रहेको छ ।

वर्तमान समयमा कृषि क्षेत्रको अवस्था कस्तो छ ?

पछिल्लो समयमा गाउँपालिकामा कृषि क्षेत्रको अवस्था राम्रो हुँदै गएको छ । गाउँपालिकाले उत्पादनलाई प्राथमिकतामा राखेर योजनाहरु निर्माण गरी कार्यान्वयन गर्ने नीति लिएकोले यहाँ एकपछि अर्को व्यवसायिक कृषि फर्महरु पनि सञ्चालन भएका छन् । बार्षिक तीन÷चार करोड रुपैयाँ भन्दा बढीको हाराहारीमा यहाँबाट विभिन्न कृषि उत्पादनहरु निर्यात हुने गरेको छ । कृषिमा उत्पादनमा आधारित अनुदानको व्यवस्थाले कृषलाई थप प्रोत्साहित गरेको छ । जे होस उत्पादन घट्ने क्रममा नभई बढ्ने क्रममै रहेको छ । हाम्रो सोच भनेको आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई बृद्धि गर्ने मुख्य योजना भएकोले सोही अनुसारका योजनाहरु निर्माण गर्दै कार्यान्वयनमा ल्याउने योजना बनाएका छौं ।

चालु आवको बजेट र नीति तथा कार्यक्रमले कृषि क्षेत्र कसरी सम्बोधन गरेको छ ?

कृषि क्षेत्र गाउँपालिकाको आम नागरिकको आम्दानी बृद्धि गर्ने मुख्य श्रोत हो । जसका लागि धेरै योजनाहरु अगाडी सारिएको छ । उत्पादन बृदिका लागि ‘एक वडा एक उत्पादन’को रणनीति अवलम्बन गरेका छौं ।

उत्पादन सँग नजोडिंदा आर्थिक विकासमा लक्ष्य प्राप्ती गर्न निकै कठिन हुने हुँदा यो रणनीति अवलम्बन गरिएको हो । उत्पादन सँग जोडिनको लागि गाउँपालिकाको कृषि क्षेत्रमा भएको सम्भावनाहरुलाई आत्मसाथ गर्दै सोही खालका योजनाहरु बनाएर अगाडी बढ्ने लक्ष्य पनि रहेको छ ।

जुन लक्ष्य पुरा गर्न सम्पूर्ण देश विदेशमा रहने रिब्दीकोटबासीहरुको भरपुर साथ र सहयोग पाउनेमा हामी विश्वस्त छौं । कृषि क्षेत्र नै रिब्दीकोट समृद्धिको मूल आधार भएकोले दिगो, आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि गाउँपालिकाको एकिकृत कृषि तथा पशुविकासका लागि आवश्यक रणनीति बनाएर कार्यान्वयन गर्ने योजना पनि रहेको छ ।

त्यस्तै, कृषि तथा पशुपालन आधुनिकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्दै कृषकले उत्पादनमा गरेको कृषि तथा पशुउपजको उचित मूल्य प्राप्त गर्ने गरी कृषि उपजको बजारको लागि आवश्यक रणनीति बनाउने, बीउमा आत्मनिर्भर बनाउन धान, मकै, गहुँ, कोदो जस्ता बीउ संरक्षण गर्नुका साथै पुष्प खेतीलाई संरक्षण र प्रवद्र्धन गर्ने, बेमौसमी तरकारी उत्पादन र व्यवसायीक पशुपालनका लागि कृषकको मागमा आधारित तालिमको व्यवस्थापन गर्ने, उत्पादकत्व र बजार प्रतिस्पर्धा बृद्धि गर्न समूह प्रविधी हस्तान्तरण गर्ने, एक वडा एक प्राविधिक सेवा उपलब्ध गराउने, कृषि पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिंदै नयाँ पकेट क्षेत्रको विस्तार गर्ने, पशुमा कृतिम गर्भाधान पशु उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न नश्ल सुधार, पशुसेवा कार्यक्रम सञ्चालन गर्ने, महामारी रोग नियन्त्रण जस्ता कार्यक्रमहरु लागू गर्ने जस्ता विभिन्न योजनाहरु रहेका छन् ।

भने, युवा, महिला, एकल महिला जस्ता व्यवसायीक कृषकलाई कृषिमा शुलभ कर्जाका लागि आवश्यक योजना तर्जुमा गर्ने, प्राङ्गारिक मल कारखानाका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने, टमाटर, सुन्तला र दुध उत्पादनमा दिईने अनुदानलाई निरन्तरता दिने, क्षमताको आधारमा उत्पादनमा आधारित अनुदानलाई थप विस्तार गर्ने, हाईटेक नर्शरीको कार्यक्रम सञ्चालनज गर्ने, एक वडा एक पोखरी कार्यक्रम लागू गर्ने, गैरसरकारी संघ संस्थाहरुको साझेदारीमा कृषि तथा पशु विकास कार्यक्रमलाई थप परिस्कृत गर्ने योजनाहरु छन् ।

गत आर्थिक बर्षमा गाउँपालिकाको बजेट खर्चको अवस्था कस्तो रह्यो ?

गत आर्थिक बर्ष २०७८÷७८ मा बजेट खर्चको अवस्तासन्तोषजनक रहेको छ । ५५ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएकोमा ७८ दशमलव ८८ प्रतिशत अर्थात ४३ करोड १२ लाख ६० हजार रुपैयाँ खर्च भएको छ ।

चालुतर्फ ८५ दशमलव १६ प्रतिशत अर्थात ३२ करोड ९७ लाख २८ हजार रुपैयाँ मध्ये २८ करोड आठ लाख १२ हजार रुपैयाँ खर्च भएको छ । भने, पुँजीगत तर्फको कूल २२ करोड २९ लाख ९७ हजार रुपैयाँ मध्ये १५ करोड ५१ लाख ९९ हजार रुपैयाँ अर्थात कूल पुँजीगत बजेटको ६९ दशमलव ५९ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक बर्षको कति बजेटमा के कस्ता योजनाहरु अगाडी सार्नु भएको छ ?

चालु आर्थिक बर्ष २०७९÷८० का लागि कूल ५१ करोड २९ लाख २५ हजार रुपैयाँ कूल बजेट विनियोजन गरिएकोमा चालुतर्फ ३० करोड १३ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २१ करोड १५ लाख ३० हजार रुपैयाँ विनियोजन भएको छ ।

उक्त बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी लगायतका चौतर्फी क्षेत्रका योजनाहरु कार्यान्वयनमा ल्याउने योजना रहेको छ ।

विगतको पाँच बर्षमा विकासको अवस्था कस्तो भएको महसुस गर्न सकिन्छ ?

पाँच बर्ष अघिको परिपेक्ष्यमा भन्दा स्थानीय सरकार सञ्चालनको पाँच बर्षमा धेरै कामहरु भएको मैले महसुस गरेको छु । सोही अनुसार अन्य रिब्दीकोट बासीहरुले पनि गर्नु भएकै होला । सिमित श्रोत र साधनका वावजुत पनि उपलब्ध श्रोत साधनको अधिक्तम प्रयोगबाट उच्चतम प्रतिफल लिने कार्य भएको देख्न सकिन्छ ।

नयाँ जनप्रतिनिधीहरुले पुराना कामहरुलाई निरन्तरता दिन्छन् कि दिंदैनन् भन्ने स्थानीयस्तरमा एउटा गुनासो बढ्दो क्रममा रहेको पाईन्छ । यहाँले कसरी लिनुभएको छ ?

धेरै मिठो र सान्दर्भिक कुरा उठाउनु भयो । प्रदेश र सघीय सरकारमा यस्ता कुराहरु अलि बढी हावी हुने भएपनि स्थानीय तहहरुमा त्यो कुरा लागू होला जस्तो मलाई लाग्दैन । स्थानीय तहहरु जनता सँग दैनिक ठेक्किएर जनताकै माँझबाट काम गर्ने सरकारहरु हुन ।

जहाँसम्म मेरो विचारमा रिब्दीकोट गाउँपालिकाले कसरी जनतालाई सर्वसम्पन्न बनाउने भन्ने कुरामा सधै ध्यान केन्द्रित गर्ने हुँदा ति कुराहरुमा निश्चिन्त रहनका लागि आग्रह गर्छु । अघिल्लो नेतृत्वले गरेका सबै राम्रा कामहरु म गाउँपालिकामा रहुन्जेल सम्म कार्यान्वयनमा ल्याउने बाचा समेत गर्न चाहान्छु । जनताको हीतमा नहुने कुनै पनि प्रकारका योजनाहरु कार्यान्वयनमा नल्याईने कुरा पनि यहाँको पत्रिका मार्फत जानकारी गराउन चाहान्छु ।


क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया