Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअन्तर्वार्ता‘धुर्कोटलाई नेपालकै पहिलो स्थानीय तह बनाउने लक्ष्य छ’

‘धुर्कोटलाई नेपालकै पहिलो स्थानीय तह बनाउने लक्ष्य छ’


गत वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन भयो । नेपालको संविधान जारी भएपछि भएको दोस्रो स्थानीय निर्वाचन उम्मेदवारको रूपमा दोहोरिएका धेरै जनप्रतिनिधि जनताद्वारा अस्वीकृत भए । उक्त भिडमा कमैले मात्र दोहोरिएर काम गर्ने अवसर पाए । अवसर पनि तीनैले पाए जसले आफ्नो पहिलो कार्यकालमा जनताको माझमा रहेर जनताकै कामलाई सर्वोपरी ठान्दै जनताको सुखमा मुस्कान र दुःखमा सारथि भएर काम गरे । स्थानीय तहको निर्वाचनमा दोहोरिने जनप्रतिनिधिमध्येका एक जनप्रतिनिधि हुन् भुपाल पोखरेल । धुर्कोट गाउँपालिका, गुल्मीमा अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका पोखरेल केही गरौँ भन्ने दीर्घकालीन सोच र जोस, जाँगर भएका युवापुस्ताका पे्ररणाका स्रोतको रूपमा पनि परिचित छन् । नेकपा माओवादी केन्द्रको विभिन्न तहतप्कामा रही कार्यसम्पादन गर्दै सामाजिक विकासमा धुर्कोट गाउँपालिकालगायत गुल्मी जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भुपाल पोखरेलसँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

अधिकांश स्थानीय तहहरूमा पदाधिकारीमा उम्मेदवारी दिएर दोहोरिन चाहेका जनप्रतिनिधिहरू जनताद्वारा अस्वीकृत भएको समयमा यहाँलाई दोस्रो कार्यकालका लागि कसरी निर्वाचित हुने अवसर मिल्यो ?
वास्तवमा अवसरको वातावरण आफैँले सृजना गर्ने कुरा हो । त्यो अवसर हामीले काम गर्ने तौरतरिका, हाम्रो आचरण, जनउत्तरदायित्व र पोलिटनेसमा बढी निर्भर हुन्छ । अन्जानमा भएका कमीकमजोरीबाहेक जानजान भएका कमिकमजोरीलाई कसैले पनि स्वीकार्ने कुरा हुँदैन । जसले जानाजान गल्ती गर्छ त्यो व्यक्ति क्रमिकरूपमा जनताको नजरमा तल पर्दै जान्छ । जहाँसम्म जनप्रतिनिधिहरूको कुरा छ, जनप्रतिनिधिहरूले जनताका हरेक कुरालाई उच्च प्राथमिकतामा राखेर काम गर्नु पर्दछ । सायद मैले पनि जनतालाई उच्च दर्जामा राखेर काम गरे होला सोही कारण उहाँहरूले मलाई पुनः निर्वाचित गराउनुभयो । संघीयताको पहिलो कार्यकालमै म उहाँहरूको गुन हरहालतमा तिर्नको लागि अहोरात्र खटिएको थिए र अबको यो पाँचवर्षे कार्यकालमा अधुरा सपनाहरूलाई पूरा गर्दै समृद्ध धुर्कोटको अवधारणाका साथ त्यसका लागि आवश्यक प्रत्येक कुराहरूप्रति पूर्णरूपमा विश्स्त पार्न चाहन्छु ।

समृद्ध धुर्कोटका लागि के–कस्ता विकास निर्माणका कामहरू भए त यहाँको पहिलो कार्यकालमा ?
कुनैपनि क्षेत्रमा कसैले पनि आफ्नो मूल्याङ्कन आफैँ गरेको राम्रो मानिँदैन र हुँदैन पनि । हरेक क्षेत्रमा मूल्याङ्कन भन्ने कुरा अरुले गरेको राम्रो हुन्छ । जहाँसम्म मेरो कार्यकालमा विगतको पाँच वर्षमा धुर्कोट गाउँपालिकामा भएका विकास निर्माणका कामहरूको कुरा छ उक्त कुरामा म यहाँहरू सबैलाई विश्वस्त पार्न चाहन्छु कि सीमित स्रोत र साधनका बावजुत पनि हामीले उच्चतम प्रतिफल दिने गरी जनताका कामहरूलाई उच्च प्राथमिकतामा राखेर प्राथमिकताको आधारमा योजनाहरू छनौट गरी कार्यान्वयनमा ल्याएका थियौं । त्यसमा धेरै दीर्घकालीन महत्व राख्ने योजनाहरू पनि समावेश भएका छन् ।

जनताका आधारभूत आवश्यकताहरू पिउने पानी, सुरक्षित आवास, कृषि र पशुपालनलाई व्यावसायिकीकरणलगायतका क्षेत्रहरूमा काम गरेका छौँ । हालसम्म पिउने पानीको समस्यालाई समाधान गर्दै ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत चार हजार घरधुरीमा स्वच्छ पिउने पानीको व्यवस्था मिलाउन सफल भएका छौँ भने गाउँपालिकाका सबै घरमा पिउने पानीको सुविधा पु-याउने गरी कामहरू गरेका छौँ । गुणस्तरीय शिक्षाका र प्रभावकारी स्वास्थ्यका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार, जनशक्ति परिचालन, विभिन्न प्रकारका शैक्षिक तालिमहरूजस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ । रोजगारीका लागि व्यावसायिक कृषि र पशुपालन, सीपमूलक तालिम, प्रविधिमा साना किसान र साना उद्यमीहरूको पहुँच, विभिन्न प्रकारका अनुदानका कार्यक्रम, सिँचाइ, उन्नत बीउबिजनको व्यवस्था, बाँझो जमिनमा जोत्नका लागि अनुदान तथा अन्य विविध सहयोग गर्दै कृषि क्षेत्रमा थप लगानी गर्ने वातावरण सृजना गरेका छौं । जसको कारणले पछिल्लो समयमा व्यावसायिक कृषि प्रणाली फस्टाएको छ ।

त्यसैगरी महिला लक्षित कार्यक्रममा दुई हजार घरधुरीमा बाख्रा विकास परियोजना सञ्चालन गरेर महिलाहरूको क्षमता विकास, आयआर्जन वृद्धि गरी स्वालम्बी बनाउन ३० महिनाको परियोजना सञ्चालन ग-यौँ भने दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेका छौँ भने अपाङ्ग, ज्येष्ठ नागरिक, एकल महिलाहरूलाई पनि आयआर्जनसँग जोड्नका लागि ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम, ज्येष्ठ दिवा सेवा संस्कृत पाठशाला पनि सञ्चालनमा ल्याएका छौँ । अपाङ्गहरूका लागि ग र घ वर्गका उद्यमीका लागि मेसिनरी सामानमा अनुदान ख वर्गका लागि पनि विभिन्न खाले मेसिन तथा औजारहरू वितरण गर्ने कार्य गरेका छौँ ।

वातावरण संरक्षणमा वृक्षरोपण, मुहान संरक्षण, सुख्खा पोखरी निर्माण पहिरो नियन्त्रणका लागि सोही प्रकृतिको वर, स्वामी, पीपल, लाकुरीलगायतका महत्वपूर्ण बिरुवाहरूलाई संरक्षण गर्ने, नयाँ आवश्यक ठाउँमा वृक्षरोपण गर्ने कार्य भएको छ । विपत् व्यवस्थापनमा घर भत्केकाको पुनर्निर्माण, यो वर्षबाट घरको बीमा गर्ने कार्यक्रम पनि ल्याएका छौँ । प्रिमियम रकमको ५० प्रतिशत गाउँपालिकाले बेहोर्छ भने बाँकी ५० प्रतिशत स्वयम् घरधनीले बेहोर्नुपर्ने व्यवस्था रहेको छ ।  बाँझिएको जमिन वा नमिलेको जमिनलाई मिलाउन चक्लाबन्दी गर्दै सिँचाइ र प्रविधिको प्रयोगका लागि ठूलो सहज भई उत्पादन लातक घट्ने, जसमा फलफूलमा सुन्तलाजातका फलफूल र अन्नबलीमा धान र मकैको लागि चक्लाबन्दी कार्यक्रम अगाडि सारेका हो । यो गाउँपालिकाको सबैभन्दा सफल कार्यक्रमअन्तर्गत पनि पर्दछ ।

कृषितर्फ चक्लाबन्दी कार्यक्रमलाई विशेष प्राथमिकता दिएर अगाडि बढेका छौँ । गाउँपालिकाभरि यो वर्ष सकिँदासम्म १२ वटा चक्लाबन्दी गर्ने काम पनि धमाधम भएको छ भने, शिक्षामा अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा, पढ्दै कमाउँदै कार्यक्रम, प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था तथा स्वास्थ्यमा गर्भवतिहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, प्रत्येक वडाबाट एम्बुलेन्स सेवा, प्रत्येक वडामा २४सै घण्टा प्रसूति सेवाजस्ता चौतर्फी क्षेत्रका कामहरू पहिलो कार्यकालमा सम्पन्न भएका छन् र बाँकी रहेका काम अन्तिम चरणमा रहेका छन् । जहाँसम्म हाम्रो कामको कुरा छ हामी कार्यसम्पादन मूल्याङ्कन नेपालकै तेस्रो स्थानमा उभिन सफल भएका छौँ । अबको हाम्रो लक्ष्य भनेको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानीय तह बन्ने रहेकोले सोहीअनुसारको कार्यसम्पादन रणनीतिमा लागेका छौँ  ।

पढ्दै कमाउँदै भन्ने कुरा गर्नुभयो त्यो कस्तो खालको कार्यक्रम हो ?
उक्त कार्यक्रम हामीले यो वर्षदेखि सुरु गरेका हौँ । गतवर्ष हामीले गाउँपालिकाको पञ्चायन माविमा ४० रोपनी जग्गा खरिद गरेर जहाँ भैँसी पनि पाल्ने मलका लागि, टनेल खेती, फलफूल खेती, जसको आम्दानी विद्यालय र विद्यार्थीहरूसँग जोड्ने गरी नेपाल सरकार शिक्षा मन्त्रालयको कार्यक्रमसँग गाउँपालिकाले साझेदारी गरी अगाडि बढाएका हो । नेपाल सरकारको कार्यविधिअनुसार अगाडि बढ्छ । जसको प्रारम्भिक चरणमा छौँ अहिले हामी ।

गाउँपालिकामा पर्यटकीय सम्भावना कत्तिको छ ?
धेरै रहेको छ । यहाँ भएका पर्यटकीय स्थलहरूले गाउँपालिकाको आर्थिक स्रोत वृद्धि गर्ने धेरै आधारहरू पनि रहेका छन् । गाउँपालिकामा भएका पर्यटकीय क्षेत्रहरूमा हामीले गरेका कामहरूको चर्चा कुरा गर्नुपर्दा धुर्कोट कोटको पुनर्निर्माण, संग्रहालय निर्माणको काम अन्तिम चरणमा, गाउँपालिकाको केन्द्रमा सहिद पार्क, विचित्र गुफामा सूचना केन्द्र, झलेवाकेटको पूर्वाधार क्षेत्र, अजमिरकोटको पुनर्निर्माण, कालिका मन्दिरको प्रवद्र्धनात्मक विकास, वस्तुकालिका मन्दिरको पुनर्निर्माण, कुमारीदेवी मन्दिरको पुनर्निर्माणलगायतका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नेगरी योजनाबद्ध तरिकाले कार्यसम्पादन गरेका छौँ । जसको प्रत्यक्ष प्रभाव भनेको अहिले आन्तरिक पर्यटनमा वृद्धि हुँदै गएको छ ।

अबको पाँच वर्ष गाउँपालिकामा के–कस्तो विकास गर्ने लक्ष्य बनाउनुभएको छ ?
अबको पाँच वर्ष विशेष गरेर स्रोत र साधनको अभावका कारण पूरा हुन नसकेका कार्यक्रमलाई पूरा गर्ने, सडकहरूको स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालन गर्नेगरी तयार गर्ने, बाँकी रहेका घरहरूमा स्वच्छ खानेपानी पु-याउने, शिक्षालाई थप गुणस्तरीय बनाउने, स्वास्थ्यलाई गुणस्तरीय बनाउँदै सबै क्षेत्रको पहुँचमा पु-याउने, १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने, रोजगारी सृजना गर्नेगरी चक्लाबन्दी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले थप अगाडि बढाउने, सिँचाइ प्रविधि, बीउ, मल, किसानहरूलाई तालिममा व्यवस्थित गर्ने, महिलाहरू र उनीहरूद्वारा सञ्चालित सहकारीको क्षमता विकास गर्ने , बेरोजगार युवाहरूलाई रोजगारसँग जोड्ने, उत्पादित वस्तुको बजारसँग लिंक जोड्नका लागि बजारीकरणको उचित प्रबन्ध मिलाउने ।

ग्रामीण क्षेत्रको बसाइँसराइदर उच्च हुँदै गएको भन्ने कुराहरू सुनिन्छ धुर्कोटमा त्यसको अवस्था के छ ?
बसाइँसराइको दर त उच्च नै छ । त्यसका विभिन्न कारणहरू छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, पछिल्लो समयमा वन्यजन्तुका कारणले पनि बसाइँसराइदर उच्च भएको छ । शिक्षामा पनि क्रमिकरूपमा सुधार हुँदै गएको छ । स्वास्थ्यमा १५ शय्यासम्मको अस्पताल सुरु हुँदै छ । सडकहरू स्तरोन्नति हुँदै छन् । खानेपानी घर–घरमा पु-याउँदै छौँ । जसको कारणले केही कम भएको हामीलाई अनुभूति मिलेको छ  । वन्यजन्तुको कारणले गर्दा जमिन बाँझिदै गएको छ । जसको कारणले रोजगारीका लागि सहर पस्नेहरूको भीड बढेको हो कि जस्तो लाग्छ ।

वन्यजन्तु नियन्त्रण गर्ने कुनै उपायहरू अवलम्बन गर्नुभएको छैन ?
वन्यजन्तु नियन्त्रणका लागि विद्यमान कानुनले जटिलता उत्पन्न गरेको छ । संघीय सरकार र प्रदेश सरकारलाई कानुन संशोधन गर्नको लागि अनुरोध पठाएका छौँ । मुख्य गरेर बाँदर, बदेल, राते, दुम्सी र चौवडाको जस्ता वन्यजन्तुको समस्या अधिक भन्दा अधिक हुँदा किसानहरूले धेरै पाउनुभएको छ । समस्या समाधानको लागि राज्यले प्रत्येक वर्ष घरेलु हतियार प्रयोग गरेर सिकार खेल्न दिने, बाँदरलाई समाएर बध्याकरण गर्ने, मार्ने वा त्यो पनि भएन भने किसानहरूले घरमा पाल्न पनि इच्छुक देखिन्छन् । पाल्नेसम्मको व्यवस्था गरिदिन आवश्यक कानुन निर्माणमा नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ । यदि भयो भने धेरै हदसम्म बसाइँसराइदर रोकिनेमा हामी विश्वस्त छौँ । सून्य बनाउन त सकिँदैन आउने जाने क्रम चलिरहन्छ । तर यसलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सकिन्छ जस्तो लग्दछ ।

विगतको पाँच वर्षमा गाउँपालिकामा के–कस्ता ऐन नियमहरू निर्माण भए ?
तीन दर्जनभन्दा धेरै ऐन, नियम, कार्यविधि, नियमावली बनाएका छौँ । यो वर्ष पनि एउटा ऐन पास गरेका छौँ । कार्यपालिकाले आवश्यकताअनुसार नीति नियमहरू निर्माण गर्दै अगाडि बढ्ने रणनीति अवलम्बन गरेकोले सोहीअनुसारको व्यवस्थाबमोजिम सञ्चालित भएका छौँ ।

विगतको पाँच वर्ष बजेट खर्चको अवस्था कस्तो रह्यो र चालू आर्थिक वर्षमा के–कस्तो लक्ष्य पूरा गर्ने योजना रहेको छ ?
कोभिडको बेला ८० प्रतिशतभन्दा धेरै खर्च गर्न सफल भयौँ । अघिपछिका वर्षहरूमा ८५ देखि ९०-९५ प्रतिशतसम्म खर्च गर्न सफल भयौँ । शतप्रतिशत खर्च हुन नसक्नुमा विभिन्न कारणहरू रहेका छन् । वस्तुको मूल्य बढ्दा समय थप्नुपर्ने बाध्यता जहाँसम्म निर्माण व्यवसायीबाट हुने काम नै समयमा नहुने समस्याले गर्दा केही समस्या देखिएको हो । जहाँसम्म मलाई लाग्छ संघीय सरकार र प्रदेश सरकारको भन्दा हाम्रो पुँजीगतग खर्च बढी नै रहेको छ । केही सार्वजनिक खरिद ऐनका कारणले खर्चप्रणालीलाई अपेक्षाकृत बनाउन सकिएको छैन । तरपनि लक्ष्य कम्तीमा पनि ९० प्रतिशतभन्दा बढी हुनुपर्ने रहेको छ ।

अन्त्यमा, धेरै स्थानीय तहहरूमा सुशासनको अवस्था कमजोर छ भन्ने गुनासा सुनिन्छ धुर्कोटमा कस्तो छ ?
सेवा प्रवाहलाई गुणस्तरीय बनाउनका लागि हामीले प्रविधीमैत्री बनाएका छौँ । राजस्व संकलन, सामाजिक सुरक्षा भत्ता पनि बैंकिङ प्रणालीमार्फत गरेका छौँ । भुक्तानीको पनि सूत्र प्रयोग गरेर अनलाइन प्रणालीबाट गरेका छौँ । जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइजस्ता कुराहरूलाई पनि अनलाइन प्रणालीमार्फत गर्दै आएका छौँ । कार्यालय व्यवस्थापन, सेवाग्राहीमैत्री संरचना निर्माण, सेवाग्राहीलाई सन्तुष्ट हुनेगरी आवश्यक जनशक्तिको परिचालन गरेर काम गरेका छौँ । जनसेवा नै प्रमुख सेवा भएकोले त्यसका लागि जनप्रतिनिधि कर्मचारी सबै मिलेर काम गरेका छौँ । जसका लागि नागरिकहरूको आलोचना, रचनात्मक सुझाव सल्लाहहरूलाई मनन गर्दै कार्यसम्पादन गरेका छौँ । भष्ट्राचारलाई शून्यमा झार्ने कुरा, अनियमिताता रोक्ने कुरा, ढिलासुस्तीलाई अन्त्य गर्ने कुरामा गाउँपालिकाले प्रभावकारीरूपमा अगाडि बढाएको छ ।


क्याटेगोरी : अन्तर्वार्ता, लुम्न्बिनी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया