Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालखप्तडमा आधा अर्बभन्दा बढी खर्च, उपलब्धि शून्य

खप्तडमा आधा अर्बभन्दा बढी खर्च, उपलब्धि शून्य


आशिष बहादुर सिंह
बझाङ, पुस ६
बझाङ, बाजुरा, डोटी र अछाम चार जिल्लाको बीचमा रहेको खप्तडमा एक दशकयता आधा अर्बभन्दा बढी रकम खर्च भएको देखिन्छ । यस पर्यटकीय क्षेत्रमा बढीजसो पर्यटक चैत–वैशाखदेखि असोजसम्म खप्तडमा घुम्न आउँछन् । घुम्न आउने पर्यटकलाई गोरेटो बाटो चिन्न समेत मुस्किल पर्छ तर यहाँ गोरेटो, घोडेटो बाटो बनाउन र मर्मत गर्न करिब आधार अर्बभन्दा बढी रकम खर्च भएको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खप्तड क्षेत्र पर्यटन विकास समितिले आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्म खप्तड क्षेत्रमा गोरेटो, घोडेटो र पदमार्ग निर्माण तथा मर्मत गर्न १२ करोड ६६ लाख खर्च गरेको छ । त्यसैगरी पर्यटन बोर्डले उपलब्ध गराएको विवरणअनुसार, बोर्डले आर्थिक वर्ष २०६५/०६६ देखि २०७५/०७६ सम्म यस कामका लागि ४६ लाख २४ हजार रुपैयाँ खर्च गरेको छ । त्यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमार्फत खप्तड राष्ट्रिय निकुञ्जले यही कामका लागि आर्थिक वर्ष २०६६/०६७ देखि २०७४/०७५ सम्म २२ लाख १० हजार रुपैयाँ खर्च गरेको पाइएको छ । यी विवरणहरूबाट खप्तड क्षेत्रको गोरेटो तथा घोडेटो निर्माण र मर्मतका लागि पछिल्लो १० वर्षमा १३ करोड ३४ लाख ३४ हजार खर्च भएको देखिन्छ ।

पदमार्ग बनाउन यतिविघ्न पैसा खर्च गरिए पनि खप्तडमा पर्यटकलाई घुम्न न सजिलो बाटो छ, न त बाटो देखाउने कुनै संकेत चिह्नको व्यवस्था छ । पर्यटकहरू दैनिकजसो जङ्गल र पाटनहरूमा हराउने गर्छन् । २०७६ असोज दोस्रो साता खप्तड बाबा आश्रमको दर्शन गरेर त्रिवेणी स्नान गर्न ओरालो लागेका काठमाडौं कोटेश्वरका संयोग थापासहित १७ जनाको टोली ६ घण्टासम्म पाटनमा हराएको थियो । खप्तडमा होटल सञ्चालन गर्ने व्यक्तिले आश्रमबाट १५ मिनेटमै त्रिवेणी भेटिने र त्यहाँ स्नान गरेपछि १० मिनेटमै होटल आइपुगिने भनेर दिएको सूचनाका आधारमा चियामात्रै पिएर बिहान ८ बजे घुम्न निस्किएका उनीहरू दिनभर भोक, प्यास र थकानले लखतरान परेका थिए । त्रिवेणी जाने बाटो बिराएपछि दिउँसो २ बजे मात्रै खप्तडको सैन्य ब्यारेक जाने संकेत बोर्ड भएको ठाउँ भेटियो । काठमाडौंबाट खप्तड पुगेका उनीहरूले जीवनमै नपाएको दुःख पाएको सुनाए । ‘काठमाडौंदेखि तीन दिन लगाएर आउनु त के दुःख ?’ थापाले भने, ‘नौ बजे नै होटलमा पुगिहालिन्छ भनेर चिया मात्र खाएर निस्केका थियौं, पाटन जता गयो उस्तै देखिने, भोकै हिँड्नुप¥यो ।’ टोलीका अर्का सदस्य प्रदीप थापाले थपे, ‘अघिल्लो दिनझैं हराउने डरले भोलिपल्ट यात्रा टुंग्याएर काठमाडौं फर्कियौँ ।’

खप्तड राष्टिय निकुञ्जको कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/०६५ यता १ हजार चार सय ४४ जना विदेशी र ५७ हजारभन्दा बढी स्वदेशी पर्यटकले यहाँ भ्रमण गरिसकेका छन् । प्रतिवर्ष सरदर ५ हजारको हाराहारीमा पर्यटकहरु खप्तड पुग्ने गर्दछन । खप्तडका ठूला–ठूला पाटनहरूमा पर्यटक हराउनु स्वाभाविक हो । यहाँ बाटो भुलेर कतिपय बेला स्थानीय गोठालाहरू समेत हराएका छन् । केहीको ज्यान गएको उदाहरण पनि छ । २०७२ सालमा बाटो भुलेर हराएका बझाङ, मालुमेलाका ध्याने खड्का हप्ता दिनपछि मृत फेला परेका थिए । २०७३ सालमा बेपत्ता भएकी खप्तडछान्ना गाउँपालिका–३, धडाकी हरिना सार्की अहिलेसम्म पनि बेपत्ता रहेको खप्तड राष्ट्रिय निकुञ्जका गेमस्काउट कृष्णदत्त अवस्थीले बताए । ‘पर्यटकहरू मरेको वा बेपत्ता भएको मलाई जानकारी छैन । बाटो भुलेर दुःख पाउने त कति हुन्छन् कति, हराएकाहरूलाई रात–विरात नभनी उद्धार गर्ने गरेका छौँ’, अवस्थीले भने ।

गएको वर्ष गंगादशहरा मेला भर्न गएका बझाङको थलारा गाउँपालिकाकी लक्ष्मी रोकाया, किरादेवी रोकाया, देवकी रोकाया र पारु रोकाया दुई दिनसम्म खप्तडमा हराएका थिए । मेला हेरेर घर फर्किने क्रममा बिहान ८ बजेतिर हराएका उनीहरूले एक रात एक दिन जङ्गल र पाटन चहार्दा पनि बाटो फेला पार्न सकेनन् । अर्को दिनको राति मात्रै टाढाको घरमा देखिएको उज्यालो पछ्याउँदै उनीहरू डोटीको सायल पुगेका थिए । बिरामी परेका उनीहरूलाई धेरै दिनसम्म उपचार गर्नुपरेको लक्ष्मी रोकायाका देवर जगदीश रोकायाले बताए ।

संकेत चिह्नमा मात्रै ४६ लाख खर्च :- सरकारी निकायहरूले पदमार्गमा कहाँबाट कता जाने भनेर बाटोमा संकेत चिह्नहरू राख्न प्रशस्तै पैसा खर्च गरेको पाइएको छ । २०६९ सालयता सात वर्षमा खप्तड आउने पर्यटकको यात्रा सहज बनाउने उद्देश्यले ४६ लाख ३० हजार रुपैयाँ त संकेत चिह्न ‘साइनेज सूचना बोर्ड तथा सूचना केन्द्रहरू स्थापनामा खर्च भएको देखिन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सात वर्षमा ७ लाख ३० हजार रुपैयाँ र नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७१/०७२ मा १५ लाख रुपैयाँ सूचना र साइनेजका लागि खर्चेका छन् । यस्तै आव २०६५/०६६ देखि २०७२/०७३ सम्ममा खप्तड क्षेत्र पर्यटन विकास समितिले २४ लाख रुपैयाँ ‘साइनेज र सूचना केन्द्रको लागि खर्च गरेको विवरणबाट देखिन्छ । तर यो खर्चको कुनै नतिजा यहाँ देखिँदैन । खप्तड घुमेर फर्केका काठमाडौं जडीबुटीका प्रतिरोध सुवेदी भन्छन्, ‘खप्तड निकुञ्जभित्र यहाँ प्रवेश गर्ने बाटो र यहाँका पदमार्गहरूमा कहाँबाट कता पुगिने हो केही पनि थाहा पाइँदो रहेनछ । सुन्दा सामान्य लागे पनि चिह्न र सूचना बोर्ड नभएका कारण खप्तडमा रमाउनु साटो डराउनुपर्ने स्थिति रहेछ ।’

स्थलगत रिपोर्टिङका क्रममा संवाददाताको टोली पनि झण्डै पाँच घण्टा यहाँ हराएको थियो । बाबाआश्रमबाट त्रिवेणीका लागि हिडेका हामी डोटीको छिन्टे ढुगा भन्ने ठाँउमा निस्केका थियौँ । अग्ला अग्ला डाडामा चढेर निशाना खोजेपछि हामीले बाटो भेटाएका थियौं । भूस्वर्ग भनेर चर्चित सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय गन्तव्य खप्तड पुग्नेहरूले यहाँ विकासका लागि केही नै नगरिएको पाइला पाइलामै अनुभव गर्छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल यीमध्ये एक हुन् । पर्यटन क्षेत्रमा कुन वर्ष कति बजेट विनियोजन भएको छ भनेर थाहा पाउने आफू जस्ताले खप्तडमा आएको बजेट दुरुपयोग भएको प्रत्यक्ष अनुभव गरेको पौडेलले बताए । स्थानीय बासिन्दाले दिएको जानकारीका आधारमा यात्रा गरेर खप्तड पुग्ने पर्यटकका लागि खान, बस्न सहज पूर्वाधार छैनन् । भएका केही सरकारी गेस्ट हाउसहरू पनि हदैसम्म अव्यवस्थित छन् । चिसोमा सकसपूर्ण तरिकाले रात कटाउनुपरेको पर्यटकहरूको गुनासो छ ।

अछामबाट खप्तड छिर्ने बाटोमा पर्ने गणेशस्थान पाटनमा एक र बझाङको बाटोमा पर्ने लोखाडामा एक गरी खप्तड क्षेत्रमा मात्र ३० भन्दा बढी भवन रहेको देखिन्छ । यसरी हेर्दा खप्तडको घोडा दाउना पाटन, त्रिवेणी, विचपानी, खापरदह, खप्तड बाबा कुटी नागढुङ्गा, सहस्रलिङ्ग लगायतका ठाउँमा धर्मशाला, प्रतीक्षालय, अतिथि गृह आदिका नाममा २२ वटा साना–ठूला भवन र आठवटा ट्रष्ट छन् । जहाँ एकै पटक तीन हजारसम्मलाई खान, बस्न व्यवस्था गर्न सकिनुपर्ने हो । जस्तापाता प्रयोग गरेर बनाइएका नाममात्रका भवन धेरैको छानो हावाले उडाइसकेको छ । कतिपय भवन भत्किएका छन् । छाडा छोडिएका वस्तुभाउ र घोडा खच्चडको मलमूत्रले भवन ढाकिएका छन् । ब्यारेक क्षेत्रमा रहेका दुई वटा र विचपानीमा रहेको एउटा भवन दुःखसुख प्रयोग गर्न सकिने अवस्थाका छन् । बनाउने निकायले निकुञ्जलाई हस्तान्तरण गरेपछि मात्र त्यसको निकुञ्जले हेरचाह गर्ने गरेको दाबी निकुञ्जका कर्मचारीहरुले गरे पनि निकुञ्जले नै बनाएका अधिकांश भवनको हालत भने अरुभन्दा फरक छैन ।

खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय, नेपाल पर्यटन बोर्ड, खप्तड क्षेत्र विकास समितिले यसमा प्रशस्त रकम लगानी गरेको भेटियो । त्यसैगरी तत्कालीन जिल्ला विकास समिति बझाङ, अछाम, डोटी र बाजुरा तथा डोटीको पूर्वचौकी गाउँपालिकाले पनि खप्तडमा भवन बनाउन बजेट खर्च गरेको भेटियो । यी सबै निकायहरूले २०६६ सालयताका १० वर्षमा यहाँ ‘सुविधा–सम्पन्न भवन बनाउन २३ करोड ५२ लाख खर्च गरेका रहेछन् । तर आनन्दले रात काट्न सकिने एउटा पनि भवन छैन । बढी मानिसको चाप हुने नेपाली सेनाको ब्यारेक नजिकै बनिरहेको एउटा पक्की भवन १० वर्षदेखि बनेको बन्यै छ । अहिलेसम्म करिब दुई करोड रुपैयाँ खर्च भइसके पनि अझै काम सकिएको छैन ।

खप्तड राष्ट्रिय निकुञ्जभित्र १३ वर्षदेखि होटल सञ्चालन गर्दै आएका बाजुराका लोक रावल यहाँ भएको अनियमितताका एक प्रत्यक्षदर्शी हुन् । उनले खप्तडको विकासका नाममा कति रकमको दोहन भयो भन्ने हिसाब त गरेका छैनन् तर नजिकबाट अनुभव भने गरेका छन् । ‘खप्तडको नाममा खर्च भएका सबै पैसाका नोट मात्र ओछ्याउने हो भने यहाँका पाटनहरू भरिन्थे होला’, उनले भने, ‘झोलामा पैसा ल्याएर मेरै होटलमा बसेर भाग लगाएको देखेको छु ।’

 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया