Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचेम्बरको पर्यटन तथा हवाइ क्षेत्रको सुधारको लागि सरकारलाई सुझाव

चेम्बरको पर्यटन तथा हवाइ क्षेत्रको सुधारको लागि सरकारलाई सुझाव


काठमाडौं, वैशाख १६
कोरोना भाइरसले पर्यटन क्षेत्रमा गम्भीर असर गरेको भन्दै पर्यटनको पुनरुत्थानको लागि नेपाल चेम्बर अफ कमर्सले सरकारलाई सुझाव दिएको छ । सोमवार चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न लागि निजामती तथा संगठित संस्थाका कर्मचारीहरु र नागरिकहरुलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक प्रेरित गर्नुपर्ने सुझाव दिएका छन् ।

कोरोनाबाट होटल तथा एयलाइन्सहरुलाई वित्तीय प्याकेजमार्फत उद्धार गरिनु साथै ऋण, ऋणको ग्यारेन्टी कपोरेट बन्डमा सरकारको टेवा कर छुट एयरपोर्ट चार्ज लगायतमा वित्तिय सुविधा दिनुपर्ने, पर्यटकको प्रवर्द्धनको लागि थिंक ट्यांकको व्यवस्था गर्ने लगायतका सुझाव दिएका छन । त्यस्तै मेडिकल टुरिजम,होम स्टे एग्रो टुरिजम,कल्चरल टुरिजम लगायतका विद्यागत पर्यटन प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याउन चेम्बरले सुझाव दिएको छ । पर्यटकको चाप घटेको समयमा पर्यटन पूर्वाधारमा जोड दिनपर्ने, नेपाल आयल निगम माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेन्टीको व्यवस्था गरी नगद धरौटी फिर्ता गर्नुपर्ने चेम्बरको भनाइ छ ।

यसैगरी चेम्बरले चीनमा कोरोनाको प्रकोप कम हुँदै गएकोले आउदो सेप्टेम्बर अक्टोबरमा पर्यटकीय सिजन भएकोले चीनको विभिन्न सहरबाट पर्यटक भित्र्याउने सरकारी स्तरबाट पहल गर्नुपर्ने, एयरलाइन्सहरुले चीनको विभिन्न सहरबाट पर्यटक ल्याउन पहल गर्नुपर्ने, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र चाइनिज एयरलाइन्सहरुले चीनको विभिन्न सहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटकहरु भित्र्याउनेतर्फ पहल गरिनुपर्ने, पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्रले पनि लागतका आधारमा होटललगायत अन्य पर्यटकीय सुविधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्ने गरी अधिकतम पर्यटक ल्याउने गरी तयारी गरिनुपर्ने सुभाव दिएको छ ।

यसैगरी पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखि अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमन समेत गर्ने, हवाइजहाज, बस, कारसहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, -याफ्टिङ– बन्जी–प्याराग्लाइडिङ–साइक्लिङ– बोटिङ–हात्ती सफारीलगायतका पर्यटकीय क्षेत्र र साधनमा नियमित रुपले डिसइन्फेक्ट गर्नुपर्ने, भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गनुपर्ने चेम्बरको सुझाव छ ।

त्यसैगरी चेम्बरले हवाइ क्षेत्रको सुधारका लागी आईसिएओ तथा अन्य मुलुकका हवाइ सेवा प्रदायकसँग सम्पर्क गरी वायुसेवा उडान कहिलेदेखि सुरक्षित रुपमा सञ्चालन गर्न सकिने सोबारेमा छलफल गरी नेपाल वायुसेवा निगमलाई समेत सञ्चालन गर्न पाइला चाल्नुपर्ने बताएको छ । साथै राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तीव्रता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौन्दर्यीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गहरुको मर्मतसम्भारलगायतका काम यही बेला गर्नसके आन्तरिक रोजगारी सिर्जना हुने तथा भविष्यका लागि पनि राम्रो तयारी गर्न सकिने चेम्बरले जनाएको छ ।

अहिलेको विषम परिस्थितिमा हवाइ यात्रुहरुको डिपार्चरअगाडि अनिवार्य रुपमा कोरोना परीक्षण गरिएको हुनुपर्ने, हाल सीमित पार्टपुर्जामा मात्र दिइँदै आइएको मू.अ.क. छुट वायुयानका सम्पूर्ण पार्टपुर्जाहरुमा उपलब्ध हुनुपर्ने, देशमा पुनर्बीमाको सुविधा नगन्य मात्र उपलब्ध भएकोले हवाइ बीमामा लगाउँदै आइएको मू.अ.क. र अग्रिम करछुट हुनुपर्ने चेम्बरको माग छ । मन्त्री भट्टराईले चेम्बर अफ कमर्सको सुझाव बुझ्दै सरकारले पर्यटन क्षेत्रको विकासको सरकारले काम गरिरहेको बताए । कोरानाका कारण सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री भट्टराईले आउने बजेट र नीति तथा कार्यक्रम पर्यटन सुधारको प्याकेज घोषणा हुने बताए । उनले सरकारले एयरलाइन्स होटल, रेस्टुरेन्ट मर्जको नीति बनाएर लागू गर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया