Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखामा ‘लकडाउन’ कडाइ, तरकारी, फलफूल र खाद्यान्न आयातमा पनि प्रतिबन्ध

दोलखामा ‘लकडाउन’ कडाइ, तरकारी, फलफूल र खाद्यान्न आयातमा पनि प्रतिबन्ध


दोलखा,जेठ २
सरकारले बिहीबारदेखि लकडाउनलाई थप कडाइ गर्न निर्देशन दिएसँगै दोलखामा पनि कडाइ गरिएको छ । लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले गत आइतबारदेखि आंशिक उद्योग, बैंक तथा वित्तीय संस्थाहरू सञ्चालन गर्न अनुमति दिएको थियो । स्थानीय तहमा जिल्ला प्रशासनको रोहबरमा सवारी पासको व्यवस्था गरेर सवारीसाधन तथा अत्यावश्यक कार्यालय खोल्न दिएको थियो । लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको कारण बिहीबारदेखि लकडाउनमा फेरि कडाइ गरिएको छ ।

दोलखामा सरकारले घोषणा गरेको लकडाउन अवधि जेठ ५ गतेसम्म खाद्यान्न, तरकारी र फलफूल आयातमा समेत प्रतिबन्ध लगाइएको छ । जिल्लामा तराईका जिल्लाहरूबाट खाद्यान्न, फलफूल र तरकारी आउने क्रम बढेपछि जिल्लाका दुई प्रमुख नाका किर्नेटार र खरीढुंगाबाट तरकारी र फलफूल पूर्णतः प्रतिबन्ध लगाइएको हो । कोरोना भाइरस संक्रमण फैलिरहेको जिल्लाहरूबाट उक्त सामान आउने भएकोले प्रतिबन्ध गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । दोलखाका मुख्य बजारहरूमा तराई र राजधानीबाट तरकारी र फलफूल आयात हुन्छ ।

लकडाउन पनि उक्त जिल्लाहरूबाट दिनहुँ तरकारी र फलफूल आयात भइरहेका थिए । जिल्लाभित्र नै उत्पादित तरकारीले पुग्ने र खाद्यान्नको पनि मौज्दात रहेकाले उक्त वस्तुहरू आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । हाल जिल्लाभित्र उत्पादित काउली, बन्दाकोभी, सागहरू बिक्री नभई किसान मारमा परिरहेको अवस्थामा बाहिरी जिल्लाबाट धमाधम तरकारी भित्रिरहेको थियो । जिल्ला प्रशासनले तरकारी तथा फलफुल आयातमा प्रतिबन्ध लगाएपछि स्थानीय कृषकहरूलाई केही राहत मिलेको छ ।

पाँच दिनका लागि बाहिरबाट तरकारी आउन नआउँदा जिल्लाभित्र उत्पादित तरकारीहरूको मौज्दात घटेर किसानलाई राहत हुने देखिन्छ । जेठ ५ पछिको अवस्था हेरेर अर्को निर्णय लिइने कोभिड— १९ जोखिम न्यूनीकरण जिल्ला समन्वय समितिले जनाएको छ ।त्यस्तै आंशिकरूपमा खुलेको होटल, पसल तथा वित्तीय संस्थाहरू पनि बन्द भएका छन् । अत्यावश्यक सामानका पसलहरू पनि बिहान १० बजेपछि बन्द गर्न निर्देशन दिएइएको छ । साथै सवारी साधन सञ्चालन पनि न्यूनरूपमा रहेको छ । यसअघि जारी गरिएको सबै प्रकारका पास खारेज गरिएको प्रशासन कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया