Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअधिकृतको कमाइ साढे २६ करोड !

अधिकृतको कमाइ साढे २६ करोड !


काठमाडौं, जेठ ८
नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएका एक अधिकृतले करिब साढे २६ करोड रुपैयाँ आम्दानी गरेको पाइएको छ । यसरी आम्दानी गर्नेमा टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत अर्यालले सेवा अवधिभर करिब साढे २६ करोड रुपैयाँ आम्दानी गरेका छन् भने त्यसमध्ये १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको स्रोत खुल्नसकेको छैन । अर्यालले सो रकम गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएसँगै आयोगले कानुनी रुपमा बिगो तथा सजायको माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।

उनीमाथि आफ्नो कार्यकालमा गाविस तथा नगरपालिका कर्मचारीलाई दबाबमा पारी कार्यालयलाई भ्रष्टाचारको अखडा बनाई उच्च जीवनयापन गरेको आरोपमा आयोगमा उजुरी परेको बताइएको छ भने सोसँगै अख्तियारले जाँच कार्य अघि बढाएको थियो । आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन माग दाबी गर्दै अर्यालले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको गैरकानुनी रुपमा आर्जित सम्पत्तिहरु साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गरी जफत गरिएका सम्पत्तिबाट नपुग हुन आएको बिगोसमेत कानुनबमोजिम असुल गरी पाउन अर्यालकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालका छोराहरु सुशील अर्याल, सुनिल अर्यालसमेतलाई सम्पत्तिहरु जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी बुधबार विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो ।

उनले आफूसँगै श्रीमती र सन्तानहरुको नाममा समेत रकम लगानी तथा खर्च गरेको पाएको आयोगले जनाएको छ । आफू तथा श्रीमती र छोराहरुको नाममा घर जग्गाहरु खरिद विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण सेयरहरु खरिद लगानीलगायतका चल/अचल सम्पत्तिहरु खरिद, विभिन्न उद्योग तथा फर्म एवं सहकारीहरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं घर निर्माण लगायतका शीर्षकहरुमा भए गरेका खर्च लगानीहरु २६ करोड ६० लाख ६९ हजार रुपैयाँमध्ये १७ करोड ८३ लाख ४१ हजार पाँच सय रुपैयाँबराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ ।

उनले श्रीमतीको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा पाँच करोड ४४ लाख ८५ हजार आठ सय रुपैयाँ, पुँजीगत लाभ तथा आयकरमा चार लाख ९६ हजार एक सय रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण तथा संस्थापक सेयर खरिदमा नौ करोड १३ लाख ७८ हजार एक सय रुपैयाँ, विभिन्न बचत तथा सहकारी संस्थाहरुमा भए÷गरेको लगानी दुई लाख ५० हजार रुपैयाँ खर्च तथा लगानी गरेको आयोगले प्राप्त गरेको छ ।

यस्तै आयोगले छोरी छोराहरुको अध्ययनमा २० लाख ३२ हजार तीन सय रुपैयाँ, छोराछोरीहरुको विवाहमा २८ लाख रुपैयाँ, जीवन बीमाबापतको प्रिमियम शुल्कमा चार लाख १० हजार एक सय रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा एक करोड ७६ लाख ४६ हजार दुई सय रुपैयाँ, न्यू लिंक कापी उद्योग र एलडि इन्टरप्राइजेज फर्मसमेतमा लगानी चार करोड ४२ लाख ५० हजार रुपैयाँ, सवारीसाधन खरिदमा १२ लाख रुपैयाँ, सुन खरिदमा चार लाख रुपैयाँ, दान र सरसापटी व्यवहारमा चार करोड ५० लाख ३३ हजार रुपैयाँ र बैंक खाताहरुमा अन्तिम मौज्दात रकम १५ लाख ७६ हजार सात सय रुपैयाँ समेत गरी अनुसन्धानमा लिइएको जाँच अवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निजले २६ करोड ६० लाख ६९ हजार रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको बताएको छ ।

सोही जाँच अवधिमा अर्यालले स्वयं र छोरा सुशील अर्यालसमेतको तलब पारिश्रमिक बचत आयबाट ५८ लाख ७५ हजार पाँच सय रुपैयाँ, अवकाशपश्चात् प्राप्त सुविधाबापत १९ लाख ३० हजार सात सय रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तथा सापटी आय तीन करोड ९० लाख ६३ हजार पाँच सय रुपैयाँ, सुरु खरिद तथा प्रारम्भिक लगानीको स्रोत खुलेको जग्गा विक्तीबाट प्राप्त वैध आय ६८ लाख ५३ हजार चार सय रुपैयाँ, निवृत्तिभरण आय छ लाख ७९ हजार तीन सय रुपैयाँ, विप्रेषण आय १७ लाख ९१ हजार पाँच सय रुपैयाँ, श्रीमतीको एकल स्वामित्वमा लगानी गरी सञ्चालित एलडि इन्टरप्राइजेज फर्मबाट २५ लाख ६२ हजार आठ सय रुपैयाँ, बीमाबाट एक लाख सात हजार पाँच सय रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका खरिद साधारण तथा संस्थापक सेयरहरु (सुरु खरिद तथा प्रारम्भिक लगानीको स्रोत खुल्न आएका) विक्ती र नगद लाभांशसमेतबाट प्राप्त वैध आय ४१ लख ४५ हजार पाँच सय रुपैयाँ र सरसापटी व्यवहारबाट फिर्ता दुई करोड ४७ लाख १७ हजार रुपैयाँ समेत गरी जाँच अवधिमा उनले आठ करोड ७७ लाख २७ हजार चार सय रुपैयाँ आर्जन गरेको देखिन्छ । उनी सेवा प्रवेशसँगै आर्थिक वर्ष २०७५/७६ को अवधिजाँच अवधि हो ।

उनले आफू काम गरेको विशेष गरी काठमाडौंका उपत्यकाभित्रका गाविस तथा नगरपालिकामा आफ्नो र परिवारको नाममा घर जग्गाहरु जोडेको पाइन्छ भने सो सम्पत्तिको समेत स्रोत खुलाउन नसकेको आयोगले जनाएको छ । अर्याल काठमाण्डौ जिल्लाका साविकको धापासी गा.वि.स., टोखा सरस्वती गा.वि.स. र भीमढुंगा गा.वि.स.मा गा.वि.स. सचिवको रुपमा कार्यरत रही टोखा नगरपालिकामा निमित्त कार्यकारी अधिकृतको रुपमा समेत कार्यरत रहेका थिए भने सो स्थानमा आफू र परिवारको नाममा उनले चल/अचल सम्पत्ति जोड्नुको साथै विभिन्न संघ संस्थामा समेत लगानी गरेका देखिन्छ । २०३९ साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गा.वि.स. सचिव र रा. प. अनं. द्वितीय श्रेणी पदमा स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका उनी हाल टोखा नगरपालिकाबाट शाखा अधिकृतको पदबाट अनिवार्य अवकाशप्राप्त गरी सेवानिवृत्त छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया