Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनताको छ अर्ब दुरुपयोग गर्ने श्री लालीगुराँस समस्याग्रस्त घोषणा

जनताको छ अर्ब दुरुपयोग गर्ने श्री लालीगुराँस समस्याग्रस्त घोषणा


काठमाडौं,सर्वसाधारण जनताको छ अर्ब रुपैयाँ भन्दा बढी रकम संकलन गरेर कानुन विपरीत गएर गलत ठाउँमा लगानी गर्दै आएको ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मंगलबार समस्याग्रस्त घोषणा भएको छ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी श्री लालीगुराँस सहकारीलाई समस्याग्रस्त घोषणा गरेको जनाएको छ । उक्त सहकारी संस्था सञ्चालकहरूले सर्वसाधारणको ६ अर्ब रूपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरूपयोग गरेको थियो । उक्त सहकारीले गैरकानुनी तरिकाले लगानी गरेर सर्वसाधारणको रकम दुरुपयोग गरेको समाचार प्रकाशित गरेकामा आर्थिक दैनिकलाई केही व्यक्तिलाई लगानी गरेर पत्रिकाको नियमन गर्ने निकायबाट समेत कारबाहीको धम्की दिएको थियो । केही पत्रकारले उक्त सहकारीको बद्मासीको समाचार किन लेखेको भनेर आर्थिक दैनिकका पत्रकारहरुलाई धम्कीसमेत दिएका थिए । त्यसरी धम्की दिने पत्रकारहरुले आफ्नो मिडियामा भने सोही सहकारीको विज्ञापन प्रकाशित गर्ने गरेका थिए ।

सहकारी विभागले गरेको अनुगमनमा बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पुष्टि भएपछि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विभागले श्री लालीगुराँसलाई किन समस्याग्रस्त घोषणा नगर्ने भनेर १५ माघमै स्पष्टीकरण पनि सोधेको थियो । ‘सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति सहकारी व्यवस्थापन समितिमा पठाइएको व्यहोरा यस मन्त्रालयको मिति २०८०÷११÷२९ को निर्णय अनुसार सम्बन्धि सबैको जानकारीका लागि अनुरोध गरिन्छ’, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयको विज्ञप्ति अनुसार समस्यग्रस्त घोषणा गरिएको श्री लालीगुराँस सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ । सो सहकारीको सबै भन्दा बढी रकम दुरुपयोग गर्ने मुख्य पात्र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी हुन् । उनी नेपाली कांग्रेसको सहकारी विभाग सचिव थिए । यसअघि सहकारीको बेथितिका बारेमा समाचार प्रकाशित हुँदा भण्डारी गुण्डगर्दीशैलीमा उत्रिने गरेका थिए ।

सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उजुरी पर्न थालेपछि छानबिन भएको हो । उजुरी बढेपछि सहकारी विभागले दीपकराज पोखरेलको संयोजकत्वमा स्वतन्त्र अनुगमन गरेको थियो । अनुगमन टोलीले गत असोज ३० गते प्रतिवेदन पेस गर्दै संस्थामा सेयर सदस्यलाई हानि पुग्ने विभिन्न गतिविधि भइरहेका फेला पारेको थियो । सहकारीले सञ्चालन गरेका गाई फार्म र डेरी उद्योगमा अस्वाभाविक रूपमा सञ्चालन खर्च देखाउने र त्यसबाट सञ्चालक तथा व्यवस्थापकले लाभ लिने गरेका थिए । सहकारी विभागले संस्थालाई स्वेतपत्र जारी गरी बचत फिर्ताको स्पष्ट कार्ययोजना पेस गर्न निर्देशन दिए पनि केही माओवादीका र केही काँग्रेसका बुख्याचाहरुको आडमा सहकारीले त्यसलाई पनि अटेर गरेको थियो । सहकारी ऐनअनुसार अन्तर सहकारी सहयोग, सहकारी बैंकबाहेक अन्यत्र लगानी गर्न, सेयर तथा ऋणपत्रमा लगानी गर्न पाइँदैन । तर, सुरेन्द्र भण्डारीले ऐन विपरीत लगानी गरेका थिए । डेढ वर्षदेखि बचतकर्ताले बचत फिर्ता पाएका थिएनन् । विभागमा उजुरी दिने बचतकर्तालाई भण्डारीलगायतको टोलीले पैसा फिर्ता दिँदै नदिने र जे पनि गर्ने भनेर धम्की दिने गरेका थिए । श्री लालीगुराँसले लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, श्री लालीगुराँस डेरी प्रोसेसिङ उद्योग, भैरवकुण्ड हाइड्रोपावर लिमिटेड र वेब प्रोडक्सन प्रालिलगायतमा सेयर लगानी रहेको बताइएको छ । करोडौं बचत भएका निक्षेपकर्तालाई ५ हजार र २ हजारका चेक दिएर थामथुम पार्ने प्रयास पनि सहकारीले गर्ने गरेको थियो ।

२०८० कात्तिक मसान्तसम्म संस्थाको सेयर पूँजी ५७ करोड ५३ लाख ५७ हजार छ । यस्तै निक्षेप दायित्व ५ अर्ब ९१ करोड ३७ लाख ७१ हजार रूपैयाँ छ । संस्थाको कुल कारोबार ८ अर्ब ७७ करोड ३ लाख १९ हजार रहेको उसले सहकारी विभागमा बुझाएको विवरणमा उल्लेख छ । तर, संस्थाले ३ अर्ब ४२ करोड ३४ लाख ६९ हजार मात्रै सदस्यहरूलाई लगानी गरेको देखिन्छ ।यस्तै ४० करोड रुपैयाँ सहकारी संघ र बैंकको सेयरमा लगानी गरेको जनाएको छ । ५० करोड ४६ लाख रुपैयाँको जग्गा तथा भवन, ११ करोड १६ लाखको परियोजना तथा व्यवसायमा लगानी रहेको जनाएको छ । यसबाहेक १ अर्ब २७ करोड २० लाख २७ हजार संस्थागत लगानी भएको छ । सहकारी ऐनले संस्थागत लगानी गर्न नपाउने व्यवस्था गरेको छ । काँग्रेस र माओवादी निकटकालाई ऋण दिने तथा उनीहरूकै संरक्षणमा सर्वसाधारणको बचतमाथि हालिमुहाली गर्दै मुख्य पात्र भने सिईओ भण्डारी नै भएको स्वतन्त्र छानबिनले पनि पुष्टि गरेको थियो । भण्डारी लालीगुराँस सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । लामो समय लालीगुराँसको सीईओ रहेका भण्डारीले १४ पुस २०७९ मा राजीनामा दिएका थिए ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया