Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसारडा समूहको कारोबार शंकास्पद, राजस्वको छानबिन सुरु

सारडा समूहको कारोबार शंकास्पद, राजस्वको छानबिन सुरु


विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा उद्योग सञ्चालन गर्दै आएको सारडा समूहको कारोबार शंकास्पद देखिएको छ । कारोबार शंकास्पद देखिएपछि राजस्व अनुसन्धानले छानबिन थालेको छ । सो समूहले २०६७ सालदेखि नै ट्रेडिङबाट व्यावसायिकरूपमा कारोबार गर्दै आएको पाइएको छ ।

सारडा समूहबाट ट्रेडिङ कारोबारमा सक्रिय बन्दै आएका उद्योगी एवम् ट्रेडिङका कारोबारी अनिल सारडा पछिल्लो समय सरकारी निकायको निगरानीमा परेका हुन् । राजस्वले उनले गर्दै आएको ट्रेडिङ कारोबारको छानबिन सुरु गरेको समाचार स्रोतले बताएको छ । स्रोतका अनुसार २०६७ सालमा नै आन्तरिक राजस्व कार्यालय विराटनगरमा जेएमडी एक्सिम नामको ट्रेडिङ फर्म ३०४३९५१८९ भ्याट नम्बरमा अनिल सारडाको नामबाट दर्ता कायम भई कारोबार गरेको देखिन आएको भन्दै छानबिन सुरु भएको छ । भारत तथा तेस्रो मुलुकबाट गाडीमा प्रयोग हुने विभिन्न ब्रान्डका टियु र टायर आयात गरी न्युन राजस्व बुझाएपछि उक्त सारडाको ट्रेडिङ फर्मको कारोबारका सम्बन्धमा राजस्व अनुसन्धानले आफ्नो अनुसन्धान सुरु गरेको हो ।

यस्तै, सारडा समूहकै अनिल सारडाले अर्को एसिएन इम्पेक्स नामको ट्रेडिङ फर्म पनि दर्ता गरी मोटरपार्टसदेखि बल ब्यारिङ समेत आयात गर्दै आएको पाइएको छ । उक्त ट्रेडिङ्ग फर्म पनि आन्तरिक राजस्व कार्यालय विराटनगरमा नै ६०३९२६३०७ भ्याट नम्बरमा २०७२ सालमा दर्ता भई कारोवार गर्ने गरेका पाइएको हो । यी दुवै सारडाका ट्रेडिङ्ग फर्ममध्ये जेएमडीएकजीमले एक करोड ७३ लाखको मात्रै कारोबार देखाएर भ्याट तथा आयकर केही नबुझाएका कारण अनुसन्धानको दायरामा आएको दाबी स्रोतले गरेको छ । त्यसैगरी एसियन इम्पेक्स नामको ट्रेडिङ फर्मले पनि चार करोड ६९ लाखको कारोबार देखाएर अत्यन्तै न्यून राजस्व बुझाएको छ ।

राजस्वले सारडा समूहका दुवै व्यावसायिक ट्रेडिङ फर्ममाथि एकसाथ अनुसन्धान सुरु गरेको हो । दुवै ट्रेडिङ फर्मको सञ्चालकमा अनिल सारडा रहेका भने एक व्यवसायी ट्रेडिङ्ग फर्ममा सेकेन्डरीका रूपमा प्रवीन सारडा रहेका छन् । अनिल सारडा हाल मोरङ व्यापार संघको महासचिव समेत हुन् । यस्तै, उनले सुनसरी मोरङ औद्योगिक कोरिडोरमा पायोनियर वायर्स उद्योग सञ्चालन गर्दै आएका छन् । त्यसैगरी मोरङ व्यापार संघकै भूतपूर्व अध्यक्ष समेत रहेका विराटनगरको ट्रेडिङ कारोबारको अग्रपङ्क्तिमा रहेका कमला ग्लोबलका सञ्चालक शंकरलाल अग्रवालको ट्रेडिङ व्यवसायी फर्मलाई पनि कारबाहीको तयारी थालेको राजस्वको उच्चस्रोतहरूले जानकारी दिएको छ ।

अग्रवालले सामान आयात गर्दा भन्सारमा १२ सय डलरको भन्सार मूल्याङ्नलाई घटाएर आठ सय डलर मूल्याङ्कन कायम गरी व्यापक राजस्व छली गरेको भन्दै कारबाहीको प्रक्रिया थालिएको हो । कारबाहीका लागि सम्बन्धित फर्मका व्यवसायीहरूलाई पत्राचार नै भइसकेको राजस्व स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार शंकरलाल अग्रवालको भ्याट दर्ता ३०००३८७७४ रहेको कमला ग्लोबल ट्रेडिङ फर्म पछिल्लो समय राजस्व र आन्तरिक राजस्व विभाग दुवैको अनुसन्धानमा तानिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया