Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको निक्षेपमा ११ प्रतिशतले वृद्धि

बैंकिङ क्षेत्रको निक्षेपमा ११ प्रतिशतले वृद्धि


सुरेश राउत
काठमाडौं, असार २१
बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी १० महिनाको प्रतिवेदनअनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १७ दशमलव तीन प्रतिशतले बढेको छ । २०७७ वैशाख मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः आठ दशमलव छ प्रतिशत, ३२ दशमलव छ प्रतिशत र ४८ दशमलव छ प्रतिशत रहेको छ ।

अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः आठ दशमलव सात प्रतिशत, ३२ दशमलव आठ प्रतिशत र ४७ दशमलव आठ प्रतिशत रहेको थियो । २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव तीन प्रतिशत रहेको छ । २०७६ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४५ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११ दशमलव एक प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७ दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १३ दशमलव दुई प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको २०७७ वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५ दशमलव चार प्रतिशत घरजग्गाको धितोमा र १३ दशमलव दुई प्रतिशत चालू सम्पत्ति अर्थात कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७६ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ दशमलव दुई प्रतिशत र १३ दशमलव आठ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३ दशमलव नौ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्र्फ १२ दशमलव एक प्रतिशत, निर्माण क्षेत्रतर्फ १२ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५ दशमलव एक प्रतिशत र सेवा क्षेत्रतर्फ १८ दशमलव पाँच प्रतिशतले कर्जा बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २५ प्रतिशत, ओभर ड्राफ्ट कर्जा पाँच दशमलव सात प्रतिशत, ट्रष्ट रिसिट अर्थात आयात कर्जा १९ दशमलव दुई प्रतिशत, डिमान्ड तथा चालू पुँजी कर्जा ११ दशमलव पाँच प्रतिशत, रियल स्टेट कर्जा अर्थात व्यक्तिगत आवासीय घर कर्जा समेत आठ दशमलव एक प्रतिशत, मार्जिन प्रकृतिको कर्जा चार दशमलव तीन प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा शुन्य दशमलव चार प्रतिशतले
घटेको छ ।

बैंक तथा फाइनान्स कम्पनीहरुले अनुमति प्राप्त कम्पनीलाई पेमेन्ट पार्टनर बनाउनुुपर्ने : बैंक तथा फाइनान्स कम्पनीहरुले अनुमति प्राप्ति कम्पनीलाई मात्र डिडिटल पेमेन्ट पार्टनर बनाउनुुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सबै किसिमका बैंक तथा फाइनान्सको नाउँमा सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकबाट अनुमति पाएका कम्पनीसँग मात्र कारोबार गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ, केही बैंक तथा वित्तीय संस्थाहरुले यस बैंकबाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुुमति नलिएका संस्थाहरुलाई समेत डिजिटल पेमेन्ट पार्टनरको रुपमा आबद्ध गरी भुक्तानी सेवा सञ्चालन गरे गराइएको भन्ने जानकारी आएको छ । बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानी सेवा सञ्चालन गर्न डिजिटल पेमेन्ट पार्टनरकोरुपमा अन्य संस्थासँग आबद्ध गर्नुपर्दा यस बैंकसँग अनुमति प्राप्त संस्थासँग मात्र गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया