Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुपारी, चिनी र मरिचका कारोबारी हरियो मटर निर्यातमा आकर्षित

सुपारी, चिनी र मरिचका कारोबारी हरियो मटर निर्यातमा आकर्षित


विराटनगर, असार २२
सुनसरी मोरङ करिडोरमा अवैधरुपमा सुपारी, चिनी र मरिचको कारोबार गर्नेहरु अहिले हरियो मटर निर्यातमा लागेका छन् । कोभिड १९ का कारण बन्दाबन्दीमा परेको बजार गत असार १ गतेबाट सरकारले केही खुकुलो बनाएपछि विराटनगरमा रहेका ट्रेडिङ कारोबारीको कारोबारमा बढोत्तरी भएको पाइएको हो ।

भारत र पाकिस्तानबीचमा उत्पन्न तनावले गर्दा भारतमा पाकिस्तानबाट आयात हुँदै आएको हरियो मटरमा भारत सरकारले प्रतिबन्ध लगाएका कारण पछिल्लो समय नेपालका ट्रेडिङ कारोबारीहरुले आयात गरी स्टोर गरेको हरियो मटर अवैध बाटो हुँदै भारततर्फ निकासी हुन थालेपछि बजारमा हरियो मटरको मूल्य वृद्धि समेत हुन पुगेको छ । बन्दाबन्दीका कारण निर्वादरुपमा आयात भएको हरियो मटर पछिल्लो केही दिनयता अवैध बाटो हुँदै भारततर्फ निकासी हुन थालेको छ ।

अवैधरुपमा मटरको निकासीसँगै यसको मूल्यवृद्धि भएको हो । बन्दाबन्दीका कारण नेपाल भारतसीमा सिल भएपछि सुस्त रहेको बजारमा एक्कासी मरियो मटरको मूल्यवृद्धि हुनुमा अवैध बाटो भएर भारतीय बजारमा हरियो मटर निकासी हुन रहेको व्यापारीहरुको भनाइ छ । बजार खुले पनि वैध बाटो भएर हरियो मटर भारतले नेपाली निकासीलाई प्रतिबन्ध लगाएको जानकारी पनि व्यापारी स्रोतले दिएको छ । जसले गर्दा नेपाल भन्सारले हरियो मटर निकासीलाई रोकेको छ ।

गत चैत्र ११ गतेदेखि नेपालमा भएको तीन महिना लामो बन्दाबन्दीले गर्दा लामो समयदेखि भारतलगायत तेस्रो मुलुकबाट समय अनुकूलको कारोबार गर्दै आएका ट्रेडिङ फर्महरु पछिल्लो समय सुपारी, अलैँची, काजु, किसमिस र गोल मरिचको कारोबारमा संलग्न हुँदै आएका थिए । तर पछिल्लो समय भारत र पाकिस्तानबीचको तनावका कारण पाकिस्तानबाट भारतमा आयात हुँदै आएको हरियो मटरमा समेत भारत सरकारले प्रतिबन्ध लगाएका कारण नेपाली ट्रेडिङ फर्मका सञ्चालकहरु हरियो मटर आयातमा आकर्षित बन्न थालेको व्यवसायीहरुले बताएका हुन् ।

विराटनगरमा आफूलाई प्रतिष्ठित दर्जाको व्यवसायी भन्न रुचाउनेहरु नै पछिल्लो समय हरियो मटर आयातलाई प्राथमिकता दिन थालेपछि मटर आयातको रहस्य खुलेको हो । व्यवसायी स्रोतले भारतमा दैनिक हरियो मटरको माग अत्यधिक भएका कारण अहिले व्यवसायीहरु तेस्रो मुलुकबाट मटर आयात गरी बोरा पल्टी गरेर पुनः नेपालबाट भारततर्फ नै पठाउने काममा संलग्न भएको बताएको छ ।

अहिले नेपालमा प्रतिकेजी ७० रुपैयाँमा बिक्री हुँदै आएको मटर भारतमा भारु ९० प्रतिकेजी बिक्री हुँदै गरेको बताउँछन् । शत प्रतिशत मुनाफा खान पाइने भएको हुँदा अहिले व्यवसायीहरु तेस्रो मुलुकबाट मटर आयातमा सक्रिय हुन थालेको जानकाहरुले बताएका छन् । विराटनगरका ट्रेडिङ कारोबारीले पछिल्लो समय विराटनगरलगायत प्रदेश २ को जनकपुर र वीरगञ्ज नाका बढी प्रयोग गरी सेटिङ मिलाएर अवैध बाटो हुँदै हरियो मटरको निकासी गर्न थालेपछि नेपालमा हरियो मटरको मूल्यवृद्धि भएको दाबी पनि व्यापारीले गरेका छन् ।

कोभिड १९ का कारण बन्दाबन्दीमा हुँदा पनि पछिल्लो समय पाकिस्तान र अष्ट्रेलियाबाट हरियो मटर आयात गरी पुनः भारततर्फ नै निर्यात कार्यमा संमलग्न भएका ट्रेडिङ कारोबारीले अहिले सेटिङका भरमा हरियो मटरको भारत निकासी खोलेका हुन् । विराटनगरका ट्रेडिङ कारोबारीबाट हुने काजु किसमीसदेखि सुपारीको कारोबारबाट मनग्य फाइदा लिन सफल बनेका कारोबारी अहिले फेरि हरियो मटर आयातमा अग्रपङ्क्तिमा देखिन पुगेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया