Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवरुण बेभरेजको छानबिन नै शंकास्पद

वरुण बेभरेजको छानबिन नै शंकास्पद


काठमाडौं, पुस ६
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेको राजस्व अनुसन्धान विभागले गत ३ गते वरुण बेभरेज नेपाल प्रालिविरुद्ध ६४ करोड ९६ लाख दुई हजार तीन सय ४० रुपैयाँबराबरको झूठो र नक्कली भ्याटबिल प्रयोग गरी रकम असुलेको आरोप लगाएर त्यसका सञ्चालकहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । तर सोही समूहको एकै ठाउँमा केन्द्रीय कार्यालय रहेको र कागजात नियन्त्रणमा लिइएको देवयानी इन्टरनेशनल प्रालि, आर्टिक इन्टरनशेनजल र वरुण डेलभपर्सलाई कारबाहीको दायराबाट बाहिर पारेपछि विभागको छानबिन नै शंकाको घेरामा परेको हो ।

विभागले उक्त कम्पनीले आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्म झूटा तथा नक्कली भ्याटबिलतर्फ २५ करोड ३४ लाख छ हजार नौ सय ४० रुपैयाँ र आयकरतर्फ ३९ करोड ६१ लाख ९५ हजार चार सय रुपैयाँ गरी कुल ६४ करोड ९६ लाख दुई हजार तीन सय ४० रुपैयाँ राजस्व छलेको आरोप लगाएको छ र वरुण बेभरेजका सञ्चालकहरु अमित गुप्ता, रविकान्त जय पुरिमा, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद कुमार सिंह र अशोक कुमारबाट बिगो रकम ६४ करोड ९६ लाख दुई हजार तीन सय ४० र बिगोको दोब्बर हर्जना एक अर्ब २९ करोड ९२ लाख चार हजार छ सय ८० रुपैयाँ समेत गरी एक अर्ब ९४ करोड ८८ लाख सात हजार २० रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजदायको माग गरेको छ ।

वरुण बेभरेजले नेपालमा पेप्सीकोला, मिरिण्डा, सेभेनअप, डिउलगायतका पेय पदार्थ उत्पादन गर्दै आएको छ । यसका मुख्य लगानीकर्ता रविकान्त जयपुरिया हुन् र उनले नेपालमा वरुण बेभरेज नेपाल प्रालि, देवयानी इन्टरनेशनल नेपाल प्रालि, आर्टिक इन्टरनेशनल प्रालि र वरुण डेभलपर्स कम्पनी प्रालि सञ्चालन गर्दै आएका छन् । यी सबैको कार्यालय पेप्सीकोलामा रहेको छ । देवयानी इन्टरशनेल नेपाल प्रालिले केएफसी र पिज्जाहट सञ्चालन गरेको छ । नेपालमा केएफसीका ७ वटा शाखा र पिज्जा हटका तीनवटा शाखा रहेका छन् । यसले वार्षिक ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने गर्छ ।

आर्टिक इन्टरनेशनलले नेपालमा आइसक्रिमको व्यापार गर्ने गर्दछ । यसले क्रिमवेल आइसक्रिम नेपालका प्रायः सबै प्रमुख सहरमा बिक्री गर्ने गर्दछ । तीन महिना अघिसम्म यसको सबै कारोबार वरुण बेभरेजमार्फत नै हुने गर्दथ्यो तर पछिल्लो समय आर्टिक इन्टरनेशनलको छुट्टै हिसाब राख्न थालिएको छ । यसले भैरहवामा आइसक्रिम उत्पादन गर्ने कारखाना स्थापना गरिरहेको छ ।

जयपुरियाले घरजग्गा व्यवसायमा पनि लगानी गरेका छन् । वरुण डेभलपर्स प्रालिको नाममा उनले घरजग्गाको कारोबार गर्दै आएका छन् । २०७२ सालको महाभूकम्पमा भत्किएको होराइजन अपार्टमेन्ट उनैले बनाएका हुन् । त्यहाँ अपार्टमेन्ट बुक गरेका सयौं व्यक्ति अहिलेसम्म अपार्टमेन्ट र रकम नपाएर बिचल्ली परेका छन् । भूकम्पबाट होराइजन अपार्टमेन्ट ढलेपछि रोहित कोहली नेपालबाट भागेर भारत गएका थिए र त्यसपछि अमित गुप्ता सीएफओ बनेर सो समूहको व्यापार हेर्न नेपाल आएका थिए ।

२०७५ साल फागुन ५ गते राजस्व अनुसन्धान विाभगले यी सबै कम्पनीको एकीकृत हेड अफिस पेप्सीकोलामा छापा मारेर कम्प्युटर र कागजपत्र नियन्त्रण गरेपछि सीएफओ गुप्ता कम्प्युटर, ल्यापटप र कागजपत्र लिएर भारत प्रस्थान गरे । विभागले छापा मारेको १० महिनापछि मात्रै चारवटा कम्पनीमध्ये एउटा कम्पनी वरुण बेभरेज नेपाल प्रालिविरुद्ध अदालतमा मुद्दा दायर गरेकाले बिगो पनि घटाएको हुनसक्ने आशंका गरिएको छ ।

विभागले छापा मारेर केही कागजात नियन्त्रणमा लिएपछि बाँकी रहेका मूल कागजात लिएर सीएफओ गुप्ता भारत पलायन भएपछि वरुण बेभरेजका पीके सिंह लेनदेन र सम्झौताका लागि फाइल बोकेर विभिन्न अखडाहरुमा दौडिएका थिए । होराइजन अपार्टमेन्ट ढलेपछि भागेर भारत पसेका रोहित कोहली फेरि नेपाल फर्किएका छैनन् । त्यसैगरी, गत फागुन ५ गते राजस्व अनुसन्धान विभागले छापा मारेपछि भएभरका कागजपत्र लिएर भारत पसेका अमित गुप्ता पनि फेरि नेपाल आएका छैनन् ।

सीएफओ गुप्ता भारत गएकाले केही जवाफ दिन नसक्ने भन्दै विभागलाई वरुण बेभरेजले महिनौँसम्म छानबिनमा सहयोग नगरेर हल्लाएको थियो भने अर्कोतिर अन्डरटेबल लेनदेनबाट समस्या समाधान गर्न पनि दौडधूप जारी थियो र यही क्रममा गत साउनपछि तीर्थाटनकै बहानामा भारतमै सहमति बनेपछि उक्त समूहको नयाँ सीएफओ बनेर प्रविण कुमार अग्रवाल नेपाल आएका हुन् । उनी आएको तीन महिनापछि विभागले उही समूहका देवयानी इन्टरनेशनल नेपाल प्रालि, आर्टिक इन्टरनेशल नेपाल प्रालि वरुण डेभलपर्स नेपाल प्रालिसँग सम्बन्धित नक्कली भ्याटबिल र भ्याट छलीलगायत राजस्व छलिका घटनालाई छानबिनको दायरामै नल्याइएको जस्तो गरी छुट्याएर वरुण बेभरेजको विरुद्ध मात्र मुद्दा दायर गरिनुलाई निकै अर्थपूर्ण मानिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया