Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटेलिकमको सिमकार्डको समयावधि विदेशबाट पनि थप्न सकिने

टेलिकमको सिमकार्डको समयावधि विदेशबाट पनि थप्न सकिने


काठमाडौं, साउन ९
टेलिकमको सिमकार्डको समयावधि विदेशबाट पनि थप्न सकिने भएको छ । नेपाल टेलिकमद्वारा प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्ड प्रयोग गर्ने अवधि तथा विदेशबाट पनि सेवाको व्यालेन्स थप गर्न सकिने सम्बन्धमा टेलिकमले बिहीबार एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

कम्पनीका अनुसार टेलिकमद्वारा प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधिसमेत थपिँदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको व्यालेन्स थप गर्न सकिन्छ । कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा सुरु गर्न १४१५ मा डायल गरी वा स्टार१४१४ह्याक्समा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ । नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १ सय ८० दिन हुने भएकाले सेवा सुरु गरेपश्चात् सो अवधिसम्म टप अप नगरे पनि उक्त सिमकार्ड प्रयोग गर्न सकिन्छ ।

प्रिपेड सिमकार्डमा ५० रुपैयाँ टपअप गर्दा ३० दिन, एक सय रुपैयाँ टपअप गर्दा ६० दिन, ५ सय रुपैयाँ टपअप गर्दा एक वर्ष र एक हजार रुपैयाँ टपअप गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ । कम्पनीका अनुसार न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड टपअप गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द हुन्छ । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम फ्रोजन अवस्थामा पुग्छ । फ्रोजन अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार कुनै सिमकार्डमा सञ्चित रकम भए पनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ । यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र टपअप गरिएमा टपअप गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ टपअप गरिएको रकम अनुसार मात्र थप हुने कम्पनीले जनाएको छ । कुनै सिम कार्ड फ्रोजनमा गएपछि कम्पनीले आवश्यकताअनुसार कुनै पनि समयमा रिसाइकल गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ ।

त्यसैगरी कम्पनीको पोस्टपेड सिमकार्ड सेवा प्रयोग गरेबापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम उक्त मोबाइलको क्रेडिट लिमिटभन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन । ९० दिनसम्म पनि बाँकी रकम भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा बन्द हुन्छ र सिम फ्रोजनमा जान्छ । फ्रोजनमा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दूरसञ्चार कार्यालयमा गई (वा फोन÷इमेलमार्फत) जानकारी गराउनुपर्ने कम्पनीले जनाएको छ । उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द हुन्छ ।

कम्पनीका अनुसार ग्राहकको सिम स्थायी रुपमा बन्द अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र ५ सय ६० रुपैयाँ रिकनेक्टीङ शुल्क भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सक्नेछन् । सिम स्थायी रुपमा बन्द भएको १ सय ८० दिनपश्चात् कम्पनीले सिम रिसाइकल गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री/वितरण गर्न सक्नेछन् ।

कम्पनीका अनुसार विदेश जाँदासँगै लगेको प्रिपेड वा पोष्टपेड सिम अनलाइन बैकिंङ, भुक्तानी सेवा प्रदायक आदिमार्फत विदेशबाटै टपअप गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सक्नेछन् । यसरी अवधि थप गर्दै सेवा एक्टिभ अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया