Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसम्पत्तिका लागि षड्यन्त्र

सम्पत्तिका लागि षड्यन्त्र


बटुकनाथ झा
जनकपुरधाम, साउन २७
जनकपुरका एक पिताले आफ्नै छोरालाई अंश नदिन षड्यन्त्र गरेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का गोविन्दप्रसाद मारवाडीले सम्पत्तिका लागि आफ्नै कान्छा छोरा रोहित हिँसारियालाई छोराको रूपमा नै अस्वीकार गरेका छन् ।

गोबिन्दप्रसादले आफ्नो कान्छो छोरा रोहितलाई धर्मपुत्र पाल्नका लागि आफ्नै सहोदर दाई श्रवणकुमार मारवाडीलाई दिएका थिए । श्रवणकुमारले आफ्नो कुनै सन्तान नभएपछि भाइ गोविन्दको कान्छो छोरो रोहितलाई आपसी समझदारीमा नै धर्मपुत्र राखे । श्रवनले रोहितलाई धर्मपुत्र बनाउन मलपोतमा पाँच सय २० रूपैयाँको दस्तुर तिरेको रसिद समेत कटाएको प्रमाण रहेको छ । यसका लागि उनले मालपोत कार्यालय धनुषाबाट मिति २०४९ साल जेठ ६ गते रसिद नम्बर ९६२४ को धर्मपुत्रको लिखित कानुनी रजिष्ट्रेसन पास गराए । उक्त कानुनी रजिस्ट्रेसनपश्चात् गोबिन्दप्रसादले श्रवणकुमारलाई एक पत्र लेखेका थिए । रोहितको जन्मदर्तामा बुबाको नाम गोविन्दप्रसाद माडवारी र आमाको नाम राधादेवी नै उल्लेख छ । गोविन्दप्रसादका रोहितसहित २ छोरा तथा दुई छोरी छन् ।

रोहित हिँसारियालाई श्रवणकुमार मारवाडीले धर्मपुत्रका रूपमा पालनपोषण गरिरहेका थिए । श्रवणकुमार मारवाही बसाइसराइ गरी भारतको पुपरीमा बस्न थालेपछि उनले रोहितलाई पनि भारतमा नै लगे । श्रवन र उनको श्रीमतीको मृत्यु भएपछि उनको नाममा रहेको सम्पत्ति खानको लागि रोहितका आफ्नै बाबु गोविन्दले अहिले उनलाई अनाथ बनाइदिएका छन् । गोविन्दले आफ्नो एक मात्रै छोरो रहेको बताउँदै दाजु श्रवनको नामको सम्पत्ति आफ्नै नाममा ल्याएका छन् ।

श्रवणकुमारको नाममा जिल्ला धनुषा जनकपुरधाम नगरपालिका वडा नं २ सिट नं १३५६–१६ कि नं. १६२ को ०–१–१०–० र ए वडा नं. ५ सिट नं. १३५५–२४ कि नं. ८४ को ०–०–२–३१–२ जग्गा दर्ता भएको लालपुर्जा रहेको छ । २०७५ साल भदौ १६ गते श्रवणकुमार मारवाडीका पत्नी रजोदेवी मारवाडीको मृत्यु भयो र त्यसको एक वर्ष नबित्दै श्रवणकुमार मारवाडीको २०७६ आघ २ गते मृत्यु भएपछि उनले सम्पत्ति खान छोरोविरुद्ध आफ्नै बाबु लागिपरेका हुन् ।

रोहित हिँसारियाका अनुसार श्रावणकुमारको नाममा रहेको सम्पत्ति खाने उद्देश्यले रोहितका दाजु कन्हैयाले धनुषा जिल्ला अदालतमा अंश दर्ता मुद्दा दिए । अंश मुद्दामा आफूलाई गोविन्दप्रसादको एक मात्र छोरा देखाए र ठूलोबुबा श्रवणकुमार निसन्तान भएको देखाएर निवेदन दर्ता गरे । धनुषा जिल्ला अदालतलाई गोविन्दप्रसाद र कन्हैया हिँसारियाले जानकारी गराएअनुसार श्रवणकुमारको कुनै सन्तान थिएन ।

श्रवणकुमारको नाउँमा जनकपुरधामको सोनारपट्टीमा करोडभन्दा माथिको सम्पत्ति छ । सो जग्गा कानुनअनुसार श्रवणकुमारले धर्मपुत्रका रूपमा कानुनीरूपमा नै राखेका गोविन्दप्रसाद मारवाडीकै कान्छा छोरा रोहितको नाउँमा हुनुपर्ने हो तर उनका दाजु र बाबुको कारण उनको नाममा नामसारी भएन । साथै गाोविन्दले आफ्नो नाममा रहेको जग्गा पनि रोहितलाई दिएका छैनन् । उनले आफ्नो नाममा रहेको सबै जग्गा जेठो छोरो कन्हैयालाई दिएका छन् । यही विषयमा अदालतमा समेत यस विषयमा अहिले मुद्दा परेको छ । रोहित सानैदेखि भारतमा नै बसिरहेकाले उनले त्यहाँ अध्ययन गरेको आधारमा आधारकार्ड समेत बनाएकाले उनको अंशको सम्पत्ति नदिन षड्यन्त्रमा उनका आफ्नै बुबा र दाइ लागेका हुन् ।

रोहितका अनुसार अदालतबाट मिलापत्र गरी उनको हकको करोडौँ मूल्यबराबरको सम्पत्ति झूटा तथ्यहरू उल्लेख गरी अदालतलाई झुक्याई गोविन्द र कन्हैयाले प्राप्त गरेका छन् । रोहितकै अनुसार उनीहरू उक्त जग्गा बिक्री गर्न ग्राहक खोज्दै हिँडेका छन् । उता रोहित आफ्नो सम्बन्ध प्रमाणित गर्न डीएनए परीक्षण गराउन समेत तयार छन् । २०४८ जेठ १४ गते जनकपुरधाममा आफ्नै घरमा जन्म भएको रोहितलाई उनकै पिताले सम्पत्तिको लागि आफ्नो सन्तान नभएको भन्दै सम्पत्तिबाट वञ्चित गरिदिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया