Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएयर अरेबियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन

एयर अरेबियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन


काठमाडौं, भदौ १८
सरकारले एयर अरेबियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार नियमित उडानहरुको भाडा दर र चार्टर्ड उडानको गुनासो सुनुवाइ गर्न बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एयर अरेबियालाई यात्रुहरुको रकम फिर्ता दिन निर्देशन दिएका हुन् । एयर अरेबियाले गत २५ अगष्टमा एक सय ६१ जना यात्रु लिएर युएईको सारजाहबाट काठमाडौं आएको थियो । एक सय ६१ जनामध्ये एयर अरेबियालाई एक सय ४२ जना यात्रुको रकम फिर्ता गर्न निर्देशन दिइएको हो ।

एयर अरेवियाले एक सय ४२ जना पीसीआर गरेको, १८ जना आरडीटी गरेको र एक जना केही पनि नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टाइनमा राखेको थियो । मन्त्री भट्टराईले एयर अरेबियाले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि होटलको पैसा यात्रुले नै तिर्नुपरेको गुनासो आएपछि मन्त्रालय मातहतका निकायलाई उक्त रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्न समेत निर्देशन दिएका हुन् ।

यसैगरी अन्तर्राष्ट्रिय नियमित उडानहरु महंगो भएको गुनासो आएको भन्दै मन्त्री भट्टराईले नेपाल वायुसेवा निगमका र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरहरुमा वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन विदेशी एयरलाइन्सहरुलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए ।

मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीहरुले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएको भन्दै एयरलाइन्सहरुले नियन्त्रण गर्नुपर्ने बताए । उनले अनुगमन तथा सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघसँग (एनआएन)आग्रह गर्नुपर्ने बताए ।

बैठकले हवाइ भाडादरमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुलउपर नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई सचेत गराउने, नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सभन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर्ड उडानको सम्बन्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादरभन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया