Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यवसायी लोहियाको कोशी ट्रेडलिंकमा राजस्वको निगरानी

व्यवसायी लोहियाको कोशी ट्रेडलिंकमा राजस्वको निगरानी


शंकर लुइँटेल
विराटनगर ।
दाल, चामल, खाने तेल, मसला, चिनी, बिस्कुटलगायत सामानहरूको आधिकारिक डिलरका रूपमा लामो समयदेखि खाद्यान्नको कारोबार गर्दै आएका राजेश लोहीयाले कोशी ट्रेडलिंकका नाममा गरेको कारोबारमा आन्तरिक राजस्व कार्यालयले निगरानी बढाएको छ ।

लोहीयाले लकडाउन तथा बन्दाबन्दीको अवस्थामा कालोबजारी गरी दैनिक उपभोग्य सामानमा चरम मुल्यवृद्धि गरेर पनि कारोबार कम देखाई राजस्व भने अत्यन्त न्यून देखाएपछि राजस्वले निगरानी बढाएको हो । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले संघीय सरकारदेखि स्थानीय सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाले गर्दा मोरंग जिल्लाको विराटनगर बजारलगायत ग्रामीण सहरहरूमा महँगीले चरम रूप लिएको थियो । करिब छ महिनादेखि चलेको यो बन्दाबन्दी र निषेधाज्ञाले कतिपय व्यवसायीका लागि रातारात पैसा कमाउने मौकासमेत मिलेको थियो । व्यवसायीहरूले बन्दाबन्दी र निषेधाज्ञाको मौका छोपेर दैनिक उपभोग्य वस्तुको दोब्बर–तेब्बर मूल्यमा खाद्यान्नलगायत सामग्रीहरू बिक्री गरेका थिए ।

मागअनुसार सामानहरू आयात नभएको भन्दै सीमित केही व्यवसायीहरूले चर्को मूल्यसमेत असुल गर्ने गरेको थिए । जून कार्य अहिले पनि निरन्तर चलिरहेको छ । तर व्यवसायीहरूले राजस्व बुझाउने बेलामा भने अत्यन्तै कम कारोबार भएको देखाउने गरेका छन् । खाद्यान्नको कारोबार गर्दै आएका राजेश लोहियाले कोशी ट्रेडलिंकले २०६४ सालमा नै आन्तरिक राजस्व कार्यालयबाट ३००७४७७८८ नम्बरको भ्याट दर्ता गरेको थियो । तर उक्त फर्मले करोडौँको कारोबार गर्दा पनि आन्तरिक राजस्व कार्यालयमा बुझाउने राजस्व अत्यन्त न्यून देखिएको छ ।

समयअनुसार व्यावसायिक कारोबार गर्न पोख्त खाद्य सामग्रीका व्यवसायी लोहियाले पछिल्लो समय भारतलगायतका सहरमा हरियो मटरको माग उच्च रहेपछि चन्दादेवी लोहियाको नामबाट सीडी ट्रेडर्स नामको फर्म दर्ता गरी तेस्रो मुलुकबाट हरियो मटरको ट्रेडिङ्ग कारोबार गर्दै आएका छन् । लोहियाले उक्त सीडी ट्रेडिङ फर्म आन्तरिक राजस्व कार्यालय विराटनगरबाट ३०२००४३६४ नम्बरमा भ्याट दर्ता पनि गराएको देखिन्छ ।

तर सञ्चालक लोहियाले गत आर्थिक वर्ष ०७५÷०७६ को आय विवरणमा ११ करोड ५७ लाख ८० हजार मात्रको कारोबार देखाएर तीन लाख २६ हजार मात्र सरकारलाई राजस्व बुझाएपछि उनको कारोबार शंकाको घेरामा पर्न पुगेको बताइएको छ । लोहियाले आफ्नो परिवारका सबै सदस्यको नामबाट विभिन्न नामका व्यवसायी फर्म समेत दर्ता गरी कारोबार गर्न सुरक्षित राखेको छन् ।

करिब आधा दर्जन फर्मका सञ्चालक लोहियाले दुईवटा फर्मलाई सञ्चालनमा ल्याएर अरु फर्मको कारोबार भने बन्द गरेको आन्त्रिक राजस्व कार्यालयमा सूचना दिएको उच्चस्रोतले बताएको छ । अहिले सञ्चालनमा रहेका चन्दादेवी लोहियाको सीडी ट्रेडर्स र राजेश लोहियाको कोशी ट्रेडलिंक मात्र रहेको कुरा बताइएको छ ।

त्यसैगरी मोरङ प्याकेजिङ प्रियङ्का लोहियाको ३०३३१९९७५ मा दर्ता कायम भएको छ भने मोरङ ट्रेडिङ कम्पनी प्रभुदयाल लोहियाको ३००७५०७७७ मा आन्त्रिक राजस्व कार्यालयबाट दर्ता कायम रहेको छ । तर अहिले उक्त दुवै फर्मको कारोबार बन्द गरिएको सूचना आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको हुँदा बन्द सूचनापछिबाट कारोबार भएको छ वा छैन भन्ने विषय समेत अनुसन्धानको दायरामा आएको आन्तरिक राजस्व कार्यालयस्रोतले बताएको छ ।

उक्त समयमा खुलेयाम विराटनगर महानगरपालिकालगायत मोरङका ग्रमीण बजारहरूमा दैनिक उपभोग्य सामग्रीहरू महँगो मूल्यमा बिक्री भइरहेका पनि थिए । तर त्यसतर्फ स्थानीय सरकार र स्थानीय प्रशासनले कुनै चासो नै नदेखाएका कारण यस्तै नाफामुखी कारोबार गर्ने व्यवसायीले कार्टिलिङ गरी विराटनगरलगायत मोरङका ग्रमीण बजारहरूमा महँगी चुलिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया