Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२५ कम्पनीको सेयर कारोबार रोक्का

२५ कम्पनीको सेयर कारोबार रोक्का


काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) वार्षिक नवीकरण शुल्क नबुुझाउने २५ वटा कम्पनीहरुको सेयर कारोबार हालको लागि रोक्का गरेको छ । नेप्सेका अनुसार कात्तिक २ गते आइतबारसम्म नवीकरण शुल्क नबुुझाएको आधारमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टिपर्पोज फाइनान्स, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनी, सम्झना फाइनान्स, हिमाल दोलखा हाइड्रो पावर लिमिटेड, जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, नेपाल हाइड्रो पावर डेभलपर लिमिटेडको सेयर कारोबार रोक्का भएको हो ।

नेप्सेका अनुसार सोही दिन अरुण वनस्पति उद्योग, विराट सुज, बुुटवल स्पाइनिङ मिल्स, फ्युलर हिमालयन लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, हरिसिद्धी इँट्टा तथा टायल कारखाना लिमिटेड, हिमालय डिष्टिलरी लिमिटेड, ज्योति स्पाइनिङ मिल्स लिमिटेड, नेपाल बिटुुमिन एण्ड ब्यारेल उद्योग, रघुपति जुुटमिल्स, भृकुुटी पल एण्ड पेपर लिमिटेड, श्रीराम सुगर मिल्स, नेपाल वेयलफेयर कम्पनी लिमिटेड, नेपाल ट्रेडिङ लिमिटेड, याक एण्ड यती होटल र नेपाल फिल्म डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार वार्षिक नवीकरण शुल्क नबुुझाएको आधारमा यी कम्पनीहरुको सेयर कारोबार हालको लागि रोक्का गरिएको र नवीकरण शुल्क बुुझाएपछि कारोबार खुल्ला गरिने नेप्सेले जानकारी दिएको छ । यसैबीच नेप्सेले आइतबार नै कार्यालय समयभन्दा केहीअघि मल्टिपर्पोस फाइनान्स र हिमालयन डिष्ट्रिलरी लिमिटेडले वार्षिक नवीकरण शुल्क बुझाएको र शुल्क बुुझाएलगत्तै कारोबार खुल्ला गरिएको जानकारी दिएको छ । यसअघि नेप्सेले सूचीकृत कम्पनीहरुको नाउँमा सूचना जारी गर्दै यही असोज मसान्तसम्ममा वार्षिक नवीकरण शुल्क बुझाइसक्न आग्रह गरेको थियो ।

नेप्सेका अनुसार चुक्ता पुँजी ५० करोड रुपैयाँसम्म रहेको कम्पनीको वार्षिक नवीकरण शुल्क ५० हजार रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ५० करोड रुपैयाँभन्दा माथि रहेको संस्थाको हकमा वार्षिक नवीकरण शुल्क एक लाख रुपैयाँ रहेको छ । यीबाहेक डिबेन्चर र म्युुचुअल फण्ड अर्थात् सामूहिक लगानी कोषको वार्षिक नवीकरण शुल्क भने चुक्ता पुँजी ५० करोड रुपैयाँसम्मको हकमा २५ हजार र चुक्ता पुँजी ५० करोड रुपैयाँभन्दा माथिको हकमा ५० हजार रुपैयाँ तोकिएको छ ।

नेप्सेले वार्षिक नवीकरण शुल्क नेप्सेको नाउँमा ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा गरिदिन आग्रह गरेको छ । नेप्सेका अनुसार तोकिएको समयभित्रमा नवीकरण शुल्क नबुुझाएमा वार्षिक नवीकरण शुल्कको १० प्रतिशतको दरले जरिवाना लाग्नेछ । नेप्सेमाल हाल दुुई सय आठवटा कम्पनीहरु सूचीकृत रहेका छन् । जसमध्ये एक सय ४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चार/चार वटा होटल तथा व्यापारिक संस्था र पाँच अन्य समूहका रहेका छन् । यसअघि २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १२ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया