Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकात्तिक मसान्तसम्म ५७ अर्बको आन्तरिक ऋण उठाइँदै

कात्तिक मसान्तसम्म ५७ अर्बको आन्तरिक ऋण उठाइँदै


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबार पुन ११ अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही असोज २६ गते पनि राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

जारी मिति कात्तिक ४ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको २० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ । सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ माघ छ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७८ वैशाख ७ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ कात्तिक २ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि यही असोज २६ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि सरकारको लागि दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोमध्ये चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधि अर्थात् यही कात्तिक मसान्तसम्म ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ । यसमध्ये हालसम्म ३३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

‘चालू आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिकाअनुसार चालू आवको दोस्रो चौमासिक अवधिमा ५६ अर्ब र तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण निष्काशन गरिन्छ’, प्रवक्ता डा. भट्टले भने । चालू आवको प्रथम चौमासिकको लागि छुट्याइएको कुुल आन्तरिक ऋण तालिकाअन्तर्गत भने सात अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र रहेको छ ।

यसैगरी दोस्रो त्रैमासिकको लागि छुुट्याइएको आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र र दुुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् । चालू आवको तेस्रो चौमासिक अवधिमा निष्काशन गरिने कुुल आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया