Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली हस्तकलाको प्रवर्द्धन गर्न नीतिगत सुधार गरिने

नेपाली हस्तकलाको प्रवर्द्धन गर्न नीतिगत सुधार गरिने


काठमाडौं ।
निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हस्तकलाको प्रवर्द्धनका साथै निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको बताएका हुन् ।

हस्तकला समृद्धिका सम्भावना भन्ने नाराका साथ नेपाल हस्तकला महासंघले आफ्नो ४८औं वार्षिकोत्सव, नवौँ हस्तकला दिवस र हस्तकला वर्षको आइतबार शुभारम्भ गर्दै उनले निर्यातलाई प्रतिस्पर्धी बनाउन र कोरोनाबीच पनि हस्तकला व्यवसायलाई गति दिन सरकारकातर्फ के कस्तो नीतिगत सुधार गर्नुपर्ने हो, सो बारेमा सुझाव दिन महासंघलाई आग्रह गरे । साथै मन्त्री गुरुङले हस्तकलाको अनलाइन मार्केटिङका लागि पनि मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यात प्रवर्द्धनका लागि उत्पादन लागत घटाउन मन्त्रालयले सहयोग गर्ने बताए । हस्तकला निर्यातको धेरै सम्भावना रहे पनि अपेक्षाअनुसार निर्यात बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले उत्पादन लागत घटाउँदै हस्तकलाको विविधीकरणमा जोड दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उत्पादन लागत घटाउँदै र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताए । उत्पादन लागत घटाउन सरकारले सहजीकरण गर्नसक्ने भए पनि गुणस्तरीय उत्पादनका लागि व्यवसायी नै लाग्नुपर्ने उनको भनाइ छ । सविच अर्यालले अमेरिकाले नेपाललाई ७७ वटा वस्तुमा भन्सार सहुलियत दिएको भए पनि नेपालले उक्त सहुलियतको सदुपयोग गर्न नसकेको गुनासो गरे । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाको प्रवर्द्धनका लागि अनलाइन मार्केटिङमा जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचन, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि हस्तकलाको प्रवर्द्धनका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले हस्तकला व्यवसायमा समस्याबारेमा सरकारको ध्यानाकर्षण गराएका थिए भने महासंघका उपाध्यक्ष एवं ४८औँ वार्षिकोत्सव तथा नवौं हस्तकला दिवस समितिका संयोजक रविन्द्र शाक्यले हस्तकला वर्षका कार्यक्रमबारे जानकारी गराएका थिए ।

महासंघले हस्तकला वर्षका लागि २५ बुँदे वार्षिक कार्यक्रम घोषणा गरेको छ । कोरोनाबाट प्रभावित हस्तकला उद्योग व्यवसायलाई पूर्ववत् अवस्थामा पु-याउने उद्देश्यका साथ वार्षिक कार्यक्रम तय गरिएको समितिका संयोजक शाक्यले जानकारी दिए । वार्षिक कार्यक्रमअन्तर्गत व्यावसायिक अनलाइन मार्केटमा पहुँच वृद्धि गर्दै जाने, महिला उद्यमीलाई व्यावसायिक रुपमा संगठित गर्दै जाने, आन्तरिक बजार प्रवर्द्धन गर्न त्रैमासिकरुपमा क्रेता बिक्रेता भेला आयोजना गर्ने, वस्तुगत विधाको लागि सामूहिक ट्रेडमार्कको अवधारणा कार्यान्वयन गर्ने, हस्तकलासँग इन्टेरियर डिजाइनिङ समायोजन गर्ने, मूर्त तथा अमूर्त कला संस्कृतिको प्रवर्द्धन गर्ने, डिजाइन तथा डिस्प्ले कक्ष तयार गर्ने, अर्धवार्षिक कला प्रदर्शनी आयोजना गर्ने, विधागत हेरिटेज वाक आयोजना गर्ने, विभिन्न वस्तु विद्याको डकुमेन्ट्ररी तयार गर्ने, प्याकेजिङ र लेबलिङ योजना तयारी गर्ने, विशुद्ध हस्तकलाको पहिचान गर्दै जाने, लिभिङ लेजेन्ड इन ह्याण्डिक्राफ्टको पहिचान गरी सम्मान गर्दै जाने लगायतका कार्यक्रम छन् ।

त्यसैगरी ७ वटै प्रदेशमा महासंघको पहुँच विस्तार गर्ने, हस्तकला उद्योग व्यवसायको क्षेत्रमा विद्यमान नीतिगत तथा प्रक्रियागत समस्या समाधानका लागि नेपाल सरकारलगायत सम्बन्धित निकायमा पैरवी गर्दै जाने, हस्तकलामैत्री निर्यातमुखी ऐन, कानुन नीति नियम तर्जुमा र समयसापेक्ष परिमार्जनका लागि नेपाल सरकारसँग पहल र पैरवी गर्ने, सार्क हस्तकला विकास केन्द्र सञ्चालन र हस्तकलाग्राम स्थापना र हस्तकला विकास नीति कार्यान्वयनको लागि नेपाल सरकारसमक्ष पहल गर्ने, मेड इन नेपाल एण्ड मेक इन नेपालको प्रतिस्पर्धी अवधारणा विकास गर्ने र प्रचलित विद्युतीय प्रविधि, सञ्चार तथा आर्थिक कारोबार र व्यावसायिक सञ्जालको समयसापेक्ष उपयोग गर्ने जस्ता कार्यक्रम रहेका छन् ।

महासंघले विगत ४७ वर्षदेखि निरन्तर क्रियाशील भई नेपालभरिका मूर्त र अमूर्त ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अनुसन्धान, संरक्षण एवं सम्वर्द्धनको साथै हस्तशिल्पीको जनजीवनमा सुधारलगायत हस्तकला निकासी व्यापारको प्रवर्द्धनको लागि निकासी मैत्री नीति नियम तर्जुमा र समयसापेक्ष सुधारको लागि नेपाल सरकारसमक्ष पैरवी गर्ने साथै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा योगदान पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

महासंघले कोभिड–१९ को असर पर्यटन उद्योग व्यवसायपछि हस्तकला उद्योग व्यवसाय क्षेत्रमा अत्यधिक रुपमा परेको जनाएको छ । विशेषगरी पश्चिमी मुलुकमा बढी आश्रित हस्तकला उद्योग व्यवसायले रोजगारी सिर्जना गरी निर्यात व्यापारमार्फत विदेशी मुद्रा आर्जन गरी देशको अर्थतन्त्रमा विदेश निर्यात र आन्तरिक उपभोग गरी २० अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु-याउँदै आएको हस्तकला उद्योग व्यवसायमा ११ लाखभन्दा बढी व्यक्तिहरु संलग्न छन् ।

कोभिड–१९ को प्रभावबाट धराशायी हुनपुगेको अवस्थामा यस क्षेत्रलाई उकास्न सरकारी कार्यालयमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्नुपर्ने तथा तीन वटै तहका सरकारले सीपमूलक स्वरोजगारमुखी तालिम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार व्यवस्थापनका तालिम प्रदान गर्ने एवं स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर हुने स्पष्ट व्यवस्थालाई प्राथमिकतामा राखी आवश्यक बजेट व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया