Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयोगद्वारा कर्मचारीहरूलाई पुरस्कार वितरण

आयोगद्वारा कर्मचारीहरूलाई पुरस्कार वितरण


काठमाडौं ।
निर्वाचन आयोगले निर्वाचन दिवसको अवसर पारेर आयोग र अन्तर्गतका कार्यालयमा रहेर काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । विक्रम सम्वत् २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै आयोले २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ यसवर्ष आयोगले फागुन ६ र ७ गते दिवस मनाएको थियो ।

निर्वाचन आयोग र सबै जिल्ला निर्वाचन कार्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने सिलसिलामा शुक्रबार आयोगले आयोग र अन्तर्गत कार्यालयमा अविछिन्नरूपमा २० वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेका १४ जना कर्मचारीहरूलाई प्रसंशापत्र र नगद पुरस्कारबाट सम्मानित गरेको थियो । त्यस्तै निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरी योगदान पु-याउने सात जना कर्मचारीहरूलाई उत्कृष्ट कर्मचारी पुरस्कारसहित प्रसंशापत्रबाट सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसाल, कम्प्युटर इञ्जिनियर हरिप्रसाद पोखरेल र हलुका सवारी चालक महेन्द्र मानन्धर तथा जिल्ला निर्वाचन कार्यालय, खोटाङका जिल्ला निर्वाचन अधिकारी कोपिला राई, जिल्ला निर्वाचन कार्यालय, सुनसरीका कम्प्युटर अपरेटर अजयकुमार मिश्र, जिल्ला निर्वाचन कार्यालय, डोल्पाका कम्प्युटर अपरेटर श्यामकुमार राई, जिल्ला निर्वाचन कार्यालय, डोटीका नायब सुब्बा दलबहादुर मलासी रहेको आयोगले जनाएको छ ।

यस्तै उक्त कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले डिजिटल प्रविधिबाट उद्घाटन समेत गरेका थिए । साथै कार्यक्रममा ‘निर्वाचन’ विषयमा कविता वाचन प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा विभिन्न १५ जना कर्मचारीहरूले भाग लिई कविता वाचन गरेका थिए ।

कविता वाचन प्रतियोगितामा आयोगमा कार्यरत उपसचिव कोमलप्रसाद धमला पहिलो, जिल्ला निर्वाचन कार्यालय, गोरखाका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइराला दोस्रो र जिल्ला निर्वाचन कार्यालय, खोटाङका जिल्ला निर्वाचन अधिकारी कोपिला राईले तेस्रो भएको थिए । विजयी प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरस्कृत सबै कर्मचारीहरूलाई बधाई दिँदै यस्ता सम्मान, प्रसंशा र पुरस्कारले कर्मचारीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्वि भई कार्यसम्पादन स्तर थप वृद्वि हुने बताए ।

तोकिएकै मितिमा निर्वाचन गराउन आयोग सक्षम : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सरकारले तोकेकै मितिमा निर्वाचन गराउन सक्षम रहेको बताएका छन् । उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुनदृष्टि रहेको बताए ।

इतिहासको विरासत र साखलाई खुम्चन नदिई आयोगलाई उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायको रूपमा पहिचान दिलाउन संकल्पित भई निरन्तर प्रयासरत रहने उनले प्रतिबद्वता समेत व्यक्त गरे । स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन सम्पन्न गर्न÷गराउन प्राविधिक तथा व्यवस्थापकीय रूपमा आयोग सक्षम रहेको भन्दै उनले राजनीतिक दलहरूले निर्वाचनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने बताए ।

कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र डा. जानकी कुमारी तुलाधरले आसन्न निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, मतदाता, सरोकारवालाहरू र कर्मचारीले आ–आफ्नो भूमिका र जिम्मेवारीका साथ क्रियाशील हुन आह्वान गरेका थिए । कार्यक्रममा निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्याल र रामप्रसाद भण्डारी तथा आयोगका सचिव सुरेश अधिकारीसहित आयोग सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया