Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरका लामा पक्राउ

बैंकिङ कसुरका लामा पक्राउ


काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पूर्ण लामा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिका–३० ठहिटी घर भई ललितपुर महानगरपालिका–१५ नखिपोट बस्ने ४१ वर्षीय लामालाई आइतबार पक्राउ गरेको हो ।

सीआईबीका अनुसार उच्च अदालत पाटनको २०७७ मंसिर ७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र बिगोबमोजिम २० लाख रुपैयाँ जरिबाना ठहर गरेको थियो । उक्त सजाय बेरुजु रही फरार रहेका लामालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर जावलाखेलबाट पक्राउ गरेको जानकारी सीआईबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले दिइन् ।

लेजर इन्फोटेक नेपाल प्रालि नामक कम्पनीलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी सानिमा बैंक लिमिटेडमा रहेको लामाको बचत खाताबाट भुक्तान हुनेगरी उक्त रकमबराबरको चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय हुनेगरी फैसला भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रवक्ता पन्तले जानकारी दिएकी छिन् ।

प्रवक्ता प्रहरी उपरीक्षक पन्तका अनुसार प्रतिवादी लामाले दुर्गामान मोक्तानद्वारा सञ्चालन गरेको लेजर इन्फोटेक नेपाल प्रालि नामक कम्पनीलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी सानिमा बैंक लिमिटेडमा रहेको निजको बचत खाताबाट भुक्तान हुने गरी उक्त रकमबराबरको चेक काटी पीडित जाहेरवाला दुर्गामान मोक्तानलाई दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम सजाय हुनेगरी फैसला भएको थियो ।

यसैबीच सीआईबीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादीको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीद्वारा लुकीछिपी बसिरहेको अवस्थामा प्रतिवादी भीमबहादुर बुढालाई काठमाडौंको हाँडीगाउँबाट पक्राउ गरेको जानकारी दिएको छ । बुुढाले बाँके, वैद्यनाथ गाउँपालिका वडा नं.–१ गाँवरस्थित कर्णराज रोकायले सञ्चालन गरेको होमस्टेको कोठामा २०७७ असोज २१ गते स्थानीय शैक्षिक संस्थाको कक्षा ११ मा पढ्ने छात्रालाई झुक्यानमा पारी नसालु पदार्थ सेवन गराएर बेहोस बनाई जबर्जस्ती करणी गरी सोही मितिदेखि हालसम्म फरार रहेका थिए । निज प्रतिवादीलाई थप अनुसन्धान तथा कारबाहीको सोमबार जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको सीआईबीले जनाएको छ ।

वाणिज्य बैंकहरुले पाँच सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड जारी गर्नसक्न
वाणिज्य बैंकहरुले अमेरिकी डलर पाँच सयसम्मको प्रिपेड कार्ड जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदको लागि वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरुले यस्तो प्रिपेड कार्ड जारी गर्नसक्ने भएका हुन् । राष्ट्र बैंकको विदेशी विनिमय विभागले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको सूचना जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनको लागि अनुुमतिप्राप्त वाणिज्य बैंकहरु र राष्ट्रिस्तरका विकास बैंकहरुले तोकेका शर्तहरुको अधीनमा रहेर वार्षिक अधिकतम अमेरिकी डलर पाँच सय वा सोबराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया