Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसक्रिय संक्रमित एक लाख एक हजार

सक्रिय संक्रमित एक लाख एक हजार


काठमाडौं ।
नेपालमा कोरोनाका सक्रिय संक्रमित एक लाख एक हजार छ सय ३४ जना पुगेको छ । बुधबार नौ हजार तीन सय पाँच जना थपिएपछि नेपालमा पहिलो पटक कोरोना संक्रमितको संख्या एक लाख नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार तीन सय ६२ जनाको पीसीआर र चार सय २४ जनाको एण्टिजेन परीक्षणमा नौ हजार तीन सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये पीसीआरबाट नौ हजार दुई सय ३८ र एन्टिजेन विधिको परीक्षणका क्रममा ६७ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

बुधबार सबैभन्दा बढी काठमाडौंमा तीन हजार दुई सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा चार सय ४८ र भक्तपुरमा दुई सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कुल तीन हजार नौ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी बढी सङ्क्रमण पुष्टि भएका जिल्लामध्ये रूपन्देहीमा सात सय ७१, कैलालीमा तीन सय ३९, मोरङमा तीन सय ३६, झापामा तीन सय, बाँकेमा दुई सय ८७, दाङमा दुई सय ७७, कास्कीमा दुई सय ३५ जना कोरोना सङ्क्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्यांकका आधारमा कोभिड १९ सङ्क्रमणबाट गत २४ घण्टामा एक सय ६८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार दुई सय ५२ पुगेको छ । यस अवधिमा चार हजार चार सय ४४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन लाख १६ हजार चार सय ६८ जना सङ्क्रमणमुक्त भएका छन् । यो कुल सङ्क्रमितको ७४.९ प्रतिशत हो ।

सक्रिय सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सर्वाधिक सङ्ख्या छ । हालसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख २२ हजार चार सय १६ पुगेको छ । सक्रिय कोभिड १९ सङ्क्रमितमध्ये एक लाख एक हजार छ सय ३४ जना आइसोलेसनमा छन् । जसमध्ये एक हजार दुई सय ४१ को आईसीयूमा उपचार भइरहेको छ । भेन्टिलेटरमा राखेर दुई सय ८५ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा कार्यालय बन्द : काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेकका कार्यालयहरू बन्द हुने भएको छ । कोभिड –१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।

काठमाडौँ प्रशासनले सूचना जारी गरी कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ । ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ’, प्रशासनद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ । उपत्यकामा बुधबार राति १२ बजेदेखि आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दै बुधबार राति १२ बजेसम्मका लागि समय थपिएको थियो । सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो ।

निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिदबिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुनेछ । मानिसका भीडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउनेछैनन् ।

सार्वजनिक एवम् निजी सवारीसाधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारीसाधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

रेम्डेसिभिर औषधि कहाँ लिने ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसँग लिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न अनुरोध गरेका हुन् ।

मन्त्रालयका सूचनामा कुपण्डोलस्थित यूनएनपार्कमा रहेको हेल्थकेयरका डा अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गर्न सकिने उल्लेख छ । हेल्थकेयरबाट प्रति रेम्डेसिभिर चार हजार र्नाै सय रुपैयाँमा पाइने मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया