Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१० खर्ब नाघ्यो व्यापारघाटा

१० खर्ब नाघ्यो व्यापारघाटा

नौ महिनाामा ११ खर्ब ११ अर्बको सामान आयात हुँदा ९४ अर्बको मात्र निर्यात


काठमाडौं ।
चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा मुलुकको व्यापारघाटा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी नौ महिनाको प्रतिवेदनअनुसार कुल वस्तु व्यापारघाटा १२ दशमलव पाँच प्रतिशतले बढेर १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा आठ दशमलव नौ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको नौ महिनामा कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात सात दशमलव पाँच प्रतिशतले घटेको थियो । चालू आवको नौ महिनामा कुल वस्तु निर्यात भने २० दशमलव दुई प्रतिशतले बढेर ९४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव नौ प्रतिशतले बढेको थियो’, राष्ट्र बैंकले भनेको छ ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः २३ दशमलव पाँच प्रतिशत र १४ दशमलव पाँच प्रतिशतले बढे पनि चीनतर्फको निर्यात भने २७ दशमलव तीन प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, जुटका सामान, धागो, पश्मिनालगायतका वस्तुको निर्यात बढे पनि चालू आवको नौ महिनामा पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु आयात सात दशमलव पाँच प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २० दशमलव तीन प्रतिशत र सात दशमलव सात प्रतिशतले बढे पनि अन्य मुलुकबाट भएको आयातमा भने दुई दशमलव तीन प्रतिशतले कमी आएकोे छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेकोमा हवाइजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, चाँदीलगायतका वस्तुको आयात घटेको राष्ट्र बैकले जनाएको छ । निर्याततर्फ सुख्खा बन्दरगाह, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात बढेकोमा आयाततर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, जलेश्वर, तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात बढेको छ ।

खुद सेवा आय ४९ अर्ब १३ करोड रुपैयाँले घाटामा : खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा खुद सेवा आय ४९ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय एक अर्ब आठ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९० दशमलव दुई प्रतिशतले कमी आई पाँच अर्ब ५४ करोड कायम भएको छ । राष्ट्र बैैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ६८ करोड रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ४७ प्रतिशतले कमी आई २६ अर्ब ७५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २१ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५० अर्ब ४७ करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ६० करोेड रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालू खाता दुई खर्ब सात अर्ब रुपैयाँले घाटामा : चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा चालू खाता दुई खर्ब सात अर्ब ४१ करोड रुपैयाँले घाटामा देखिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब २६ अर्ब नौ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १० करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब ७७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १० दशमलव सात प्रतिशतले वृद्धि भई १२ अर्ब ८६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५ प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको छ ।

नौ महिनामा भित्रियो सात खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स : नेपालले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा सात खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स रकम भित्र्याएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा वैदेशिक रोजगारीबाट प्राप्त आय अर्थात् विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेर सात खर्ब २९ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलव दुई प्रतिशतले घटेकोे थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई छ अर्ब १९ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह चार दशमलव नौ प्रतिशतले घटेकोे थियोे । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६ दशमलव सात प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलव दुई प्रतिशतले बढेको थियो ।

Open Photo

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५ दशमलव सात प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १४ दशमलव चार प्रतिशतले वृद्धि भई आठ खर्ब १४ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर चार दशमलव सात प्रतिशतले घटेकोे थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया