Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी व्यवसायीको आग्रह

बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी व्यवसायीको आग्रह


काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी, व्यवसायीहरुले आग्रह गरेका छन् । मिडिया इन्टरनेसनलले सोमबार आयोजना गरेको वेबिनार कार्यक्रममा उनीहरुले सरकारले ल्याएको बजेटको प्रावधानहरु सकारात्मक रहे पनि कार्यान्वयन पक्ष त्यतिकै चुनौतीपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेट भाषणभन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको बताए । उनले गत वर्षको बजेट पनि राम्रै रहेको तर कार्यान्वयन हुन नसकेको स्मरण गरे । तल्लो तप्काका जनता जो कमाएर साँझबिहान हातमुख जोड्नुपर्ने अवस्थाका छन्, उनीहरुलाई बजेटले के इफेक्ट गर्ला भन्नेमा ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ ।

सरकारले बजेटमार्फत साना तथा मझौला उद्योगलाई छुट दिने भने पनि जब व्यापार नै छैन भने छुटको के मतलब भयो ? भन्दै प्रश्न समेत गरे । अहिले सरकार ऋणात्मक बजेटमा रहेको भन्दै उनले यो अवस्थामा सरकारले सामाजिक सुरक्षा भत्ता, राष्ट्र सेवकको भत्ता बढाउन नहुने बताए ।

कार्यक्रममा नेपाल हिमालय सिमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले बजेटले स्वदेशी उत्पादनलाई महत्व दिएको भन्दै लागू भएमा नेपालको उत्पादन क्षेत्रमा आत्मनिर्भर बन्नसक्ने बताए । बजेट राम्रोसँग कार्यान्वयन भएमा नेपालको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

हस्तकला महासंघ वाग्मती प्रदेशका अध्यक्ष होमनाथ उपाध्ययले बजेट कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘बजेटमा ६२ प्रतिशत राजस्व असुली भन्ने छ, त्यो कति सम्भव छ । त्यसतर्फ ध्यान दिनुपर्नेछ ।’ गत वर्षहरुमा पनि सरकारले सर्टिफिकेट धितोमा राखेर लोन दिने भने पनि खासै कार्यान्वयन हुनु नसकेको उनको भनाइ छ ।

कार्यक्रममा मिनरल वाटर एसोसिएसनका पूर्वअध्यक्ष धर्मनन्द श्रेष्ठले चुनावलाई रिझाउने खालको बजेट आएको बताए । अध्यादेशबाट बजेट आएको भन्दै राजनीतिक तरलताका कारण सकारात्मक रुपमा लिन नसकिएको उनको भनाई छ । अर्बौँ रुपैयाँको आयात गरेर देश घाटामा गएको अवस्थामा उत्पादनलाई बजेटले छुन नसकेको उनले बताए । चुनावी बजेट भएकाले उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले बजेटले लत्ताकपडा आयतमा भन्सार छुट दिन नसकोकोमा गुनासो गरे । राष्ट्रिय व्यापार संघका उपाध्यक्ष सरोजकुमार श्रेष्ठले सरकारले उद्योग क्षेत्रमा ब्याजदर कमी गरे पनि पहुँचवालालाई मात्र सहज भएको बताए ।

मह व्यावसायी धर्मराज श्रेष्ठले कृषि क्षेत्रमा पनि कच्चा पदार्थ र कामदारको अभाव हुन थालेको बताए । कृषि क्षेत्रलाई बैंकले ब्याजदरमा छुट नदिएको उनको गुनासो छ । व्यवसायी रमेशचन्द वादे श्रेष्ठले बजेटमा मेडइन नेपाल र मेकइन नेपाल भन्ने अवधारण राम्रो रहेको बताए । कार्यक्रममा होटल व्यवसायी कमल शर्माले बजेट सुन्दा राम्रो देखिएको तर व्यवसायीले प्रत्यक्ष लाभ लिन नसक्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया