Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसार्वजनिक संस्थानहरूलाई नाफामा सञ्चालन गर्नेगरी नीतिगत तयारी गर्न निर्देशन

सार्वजनिक संस्थानहरूलाई नाफामा सञ्चालन गर्नेगरी नीतिगत तयारी गर्न निर्देशन


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरूलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन् । बुधबार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ लिने क्रममा उनले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरूलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिएका हुन् ।

‘के–कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरूलाई नाफामा लान सकिन्छ ? के–के समस्या समाधान गर्नुपर्ने हो ?’ भन्दै तत्काल त्यसको विस्तृत सूची तयार गर्न उनले सम्बद्ध कर्मचारीहरूलाई निर्देशन दिए । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले केहीबाहेक धेरैजसो सार्वजनिक संस्थानहरूको स्थिति राम्रो नभएको भन्दै सुधार गर्नैपर्ने अवस्था रहेको बताए ।

नेपाल सरकारको छ सय अर्ब लगानी रहेको सार्वजनिक संस्थानहरूले ३० हजार रोजगारी पनि सिर्जना गर्न नसकेको र नाफा आर्जन गर्नुको सट्टा उल्टै सरकारलाई दायित्व थपेको उनको भनाइ थियो । नाफामा लैजाने उद्देश्यका साथ निजीकरण गरिएका कतिपय संस्थानहरू समेत नोक्सानीमा रहेको भन्दै उनले सुधारको लागि नीतिगत परिवर्तनको आवश्यकता औँल्याए ।

संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिव दीर्घ मैनालीले सार्वजनिक संस्थानहरूको विद्यमान अवस्थाबारे जानकारी दिँदै नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडलगायतका संस्थानहरू नाफामा रहेको जानकारी दिए ।

सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरू ४४ वटा रहेका छन् । औद्योगिक क्षेत्रका १०, जनउपयोगी पाँच, व्यापारिक पाँच, वित्तीय नौ, सामाजिक पाँच र सेवा क्षेत्रका १० वटा संस्थान रहेका छन् । यसमध्ये नाफामा सञ्चालित संस्थानहरू २४ वटा रहेका छन भने घाटामा सञ्चालित १८ वटा रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया