Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रत्येक एटीएम काउन्टरमा सीसीटीभी अनिवार्य

प्रत्येक एटीएम काउन्टरमा सीसीटीभी अनिवार्य


काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रदायक कम्पनीहरूले प्रदान गर्ने सेवालाई थप सुरक्षित र व्यवस्थित बनाउन निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार सबै किसिमका भुक्तानी सेवा प्रदायक कम्पनीहरूको लागि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ जारी गर्दै यस्तो सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

निर्देशिकाअनुसार अबदेखि भुक्तानी सेवा प्रदायक कम्पनीहरूले प्रत्येक एटीएम रहेको स्थानमा सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर अनिवार्यरुपमा क्लोज्ड सर्किट टेलिभिजन (सीसीटीभी)को व्यवस्था गर्नुपर्नेछ । सीसीटीभीको मेमोरो ब्याकअप कम्तीमा ९० दिनसम्म रहने व्यवस्था गर्नुपर्नेछ । निर्देशनअनुसार सीसीटीभी जडान गर्दा कारोबार गर्ने व्यक्तिको मुखाकृति प्रष्टरुपमा देखिने तर ग्राहकले राखेको पिन अनुमान गर्न र रेकर्ड गर्न नसकिने गरी जडान गर्नुपर्नेछ । साथै एटीएम बुथहरूमा कुनै व्यक्ति वा समूहहरूबाट शंकास्पद गतिविधि भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोेकेको पदाधिकारी वा निकायमा तत्काल सूचित गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

कुनै प्राविधिक कारणले एटीएम नचलेमा, एटीएममा नगद पर्याप्त नभएमा, नगद ननिस्किएमा वा अन्य समस्या उत्पन्न भएमा तत्काल सोको सूचना सम्बन्धित एटीएम सञ्चालन गर्ने संस्थामा पुग्ने व्यवस्था गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ । साथै, सोको सूचना आवश्यकताअनुसार कार्ड जारी गर्ने संस्थामा समेत पुग्ने व्यवस्था मिलाउनुपर्नेछ । एटीएम कारोबार सम्बन्धमा ग्राहकलाई तत्काल कुनै जानकारी वा सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीकोे नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलिफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्नेछ । कार्ड हराएमा, चोरी भएमा वा कारोबारको क्रममा अन्य समस्या देखिएमा ग्राहकलाई तत्काल सहयोग गर्न चौबीसै घण्टा सञ्चालन हुने गरी सम्बन्धित संस्थाले हेल्प डेस्कको स्थापना गर्नुपर्नेछ । कार्ड हराएमा वा चोरी भएमा सोको सूचना प्राप्त हुनासाथ तत्कालै उक्त कार्डबाट कारोबार हुन नसक्ने गरी कार्ड ब्लक गर्ने व्यवस्था गर्नुपर्नेछ । विद्युतीय भुक्तानी कार्ड जारी गर्दा यस्ता कार्डहरूमा अन्तर्राष्ट्रिय रूपमै स्वीकार्य र प्रचलनमा रहेका सुरक्षात्मक उपाय र विशेषताहरू अनिवार्यरूपमा राख्नुपर्नेछ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवाशुल्क, ब्याज तथा हर्जनासम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्टरूपमा उल्लेख गर्नुपर्नेछ । त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइनेछैन । कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिनअगावै सोको सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुुपर्नेछ तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्नेछ ।

निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकारको एकभन्दा बढी कार्ड (डेबिट तथा क्रेडिट) जारी गर्न पाउनेछैनन् । अनुमतिपत्रप्राप्त वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरूले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्नेछन् । यीबाहेकका अन्य वित्तीय संस्थाले भने क्रेडिट कार्डबाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानी सेवा प्रदायक (पीएसपी)को अनुमतिपत्रप्राप्त संस्थाले स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड मात्र जारी गर्नसक्ने निर्देशिकामा उल्लेख छ ।

बैंकिङ कसुरमा फरार व्यक्तिहरू पक्राउ
बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । नेपाल प्रहरीअन्तर्गत महानगरीय अपराध महाशाखा मिनभवन र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई बैंकिङ कसुरसम्बन्धी तीनवटा फरक–फरक मुुद्दाका फरक–फरक व्यक्तिलाई छुट्टाछुट्टैरुपमा फरक–फरक स्थानबाट पक्राउ गरेको हो ।

सोमध्ये महानगरीय अपराध महाशाखा मिनभवनले सोमबार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दिपक कार्कीलाई पक्राउ गरेको जानकारी दिएको छ । महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाकाका अनुसार काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका ३९ वर्षीय कार्कीलाई सोमबार पक्राउ गरिएको हो ।

उच्च अदालत पाटन ललितपुरको २०७६ फागुन १८ गतेको फैसलाले कार्कीउपर बैंकिङ कसुर मुद्दामा सात दिन कैद तथा ३० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । ‘अदालतको उक्त आदेशसँगै फरार रहेका कार्कीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काडाँघारीबाट पक्राउ गरेको हो’, सूचना अधिकृत प्रहरी उपरीक्षक कोइरालाले भने । प्रहरी उपरीक्षक कोइरालाका अनुसार पक्राउ परेका कार्कीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ । प्रहरी उपरीक्षक कोइरालाका अनुसार मंगलबार पनि महाशाखाले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी जसमिन झालाई पक्राउ गरेको छ ।

Open Photo

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट १६ लाख रुपैयाँ जरिवाना र सात दिन कैदको सजायको फैसला भई फरार रहेकी झालाई मंगलबार काठमाडौंको गहनापोखरीबाट पक्राउ गरिएको हो । कैलालीको साबिक चौमाला गाविस वडा नम्वर ८ गौरीगंगा नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं महानगरपालिका वडा न ७ बस्ने ३२ वर्षीया झालाई पक्राउलगत्तै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा पठाइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

उनका अनुसार मंगलबार नै ठगी कार्यमा संलग्न रहेको अभियोगमा रुसिल कटुवाल पनि पक्राउ परेका छन् । सुनरीको धरान नगरपालिका ९ घर भई हाल काठमाडाँै महानगरपालिका वडा नम्बर ३२ बस्ने ३६ वर्षीय रुसिल जग्गासम्बन्धी कारोबारमा संलग्न रहेका थिए । उनले विभिन्न व्यक्तिहरूको जग्गासम्बन्धी कामकै लागि ६८ लाख ९० हजार रुपैयाँ लिई जग्गा पास नगरी फरार रही ठगी गरेको पाइएपछि उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सूचना अधिकृत कोइरालाले जानकारी दिए । यता सीआईबीले पनि बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अनिस सुन्दासलाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थायी घर भई हाल काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ गोल्फुटार बस्ने २६ वर्षीय सुन्दासलाई सोमबार नै काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरिएको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी लक्ष्मी बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर उच्च अदालत पाटनले २०७७ चैत ८ गतेको फैसलामार्फत गरेको थियो । प्रतिवादी सुन्दासको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र सात लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । सोपश्चात् फरार रहेका सुन्दासलाई ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले सुन्दरीजल, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरेको प्रहरी उपरीक्षक थापाले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया