Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइच्छाराजलाई छाड्न सीआईबीमा पूर्वमन्त्री गुरुङको दबाब

इच्छाराजलाई छाड्न सीआईबीमा पूर्वमन्त्री गुरुङको दबाब

अनुसन्धान गर्न १८ दिन म्याद थप


काठमाडौं । सिभिल सहकारीका २२ सयभन्दा बढी बचतकर्ताहरुको सात अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपको किटानी जाहेरी परेका ३४ जनामध्ये २२ जनालाई प्रहरीले पक्राउ गर्न नभ्याउँदै गत असोज १९ गते पक्राउ परेका १२ जनामध्येका नाइके मानिएका इच्छाराज तामाङलाई छाड्न एक नम्बर प्रदेशका पूर्वमन्त्री अमिर बाबु गुरुङले यही कात्तिकको १ गते सीआईबीमा पुगेर दबाब दिएका हुन् । एक जना कानुनी सहयोगीसहित पुगेका प्रदेश सांसद गुरुङले आफूले तामाङलाई हाउजिङ गर्न अत्तरखेलको जग्गा बेचेको र त्यसबापत ३४ करोड रुपैयाँ लिन बाँकी रहेकाले उनलाई थुनामा राख्दा आफ्नो रकम डुब्ने हुँदा उनलाई छाड्न सीआईबी प्रमुख धिरजप्रताप सिंहलाई दबाब दिएका थिए । अनुसन्धान गर्न अदालतबाट बिहीबारमात्र थप १८ दिन म्याद थपिएको तामाङसहित पक्राउ परेका १२ जनालाई प्रहरीले संगठित अपराधमा मुद्दा चलाउने भएको छ ।

कुपण्डोलमा मितेरी रेष्टुरेण्ट चलाएर त्यसका नाममा जीसी गरेर मानिस विदेश पठाउने धन्दा गर्ने वामदेव गौतमनिकट मानिने सांसद गुरुङ अहिले एमालेका महासचिव ईश्वर पोख्रेलनिकट मानिन्छन् । उनी र महासचिव पोख्रेल दुवै जना ओखलढुङ्गाबाट राजधानी छिरेका हुन् । उनले छाड्न दबाब दिएका तामाङ सिभिल बैंकको अध्यक्ष मात्र नभई पूर्वसांसद पनि हुन् । असोज १९ गते ४६ करोड रुपैयाँ बिगो दाबीको जाहेरीसहित पक्राउ परेका तामाङविरुद्ध बिहीबारसम्म उजुरीकर्ताको संख्या ११ सय जनाभन्दा बढी र बिगो रकम चार अर्ब ६१ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

उक्त रकम ठगी गर्ने भनी किटानी जाहेरी परेका ३४ जना व्यक्तिहरुमा केशवलाल श्रेष्ठ, इच्छाराज तामाङ, प्रविण मुखिया, सुमननन्द बैद्य, मुकुन्द प्रसाद न्यौपाने, दानहिरा कंसाकार, गोपाल बहादुर श्रेष्ठ, हरिहर प्रसाद लामिछाने, रामकृष्ण पौडेल, केशव कुमार अमात्य, खेमनाथ डल्लाकोटी, इन्द्रराज हुमागाई, दुर्गा प्रसाद संग्रौला, नगेन्द्र बिमली, हरी प्रसाल रिसाल, सिर्जना शाक्य तामाङ, कृष्ण प्रसाद श्रेष्ठ, रामराज मास्के, प्रकाश कुमार बर्मा, जीवन राज बज्राचार्य, भगवान बहादुर सिंह, राकेश महर्जन, रञ्जना महर्जन, सुवाश कुमार श्रेष्ठ, शंकर प्रसाद पाठक, मायोनानी महर्जन, कौस्तुभ केतन ढुंगाना, बुद्धराज तामाङ, कान्ती लक्ष्मी उपाध्याय, लालकाजी गुरुङ, मिना गुरुङ र विजय बिक्रम शाह छन् र यीमध्ये तामाङलगायत १२ जना मात्र पक्राउ परेका छन् । अन्य व्यक्तिहरुलाई प्रहरीले खोजिरहेको छ । खोजी गरिरहेको व्यक्तिहरुमा उनकी श्रीमती पनि छिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया