Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजनीतिक संरक्षणले नक्कली अन्तःशुल्क स्टिकरको धन्दा बढ्दो

राजनीतिक संरक्षणले नक्कली अन्तःशुल्क स्टिकरको धन्दा बढ्दो


काठमाडौँ । विगत लामो समयदेखि आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर छाप्न नसकेको अवस्थामा मदिरामा टाँस्ने अन्तःशुल्क स्टिकरको नक्कली धन्दा बढ्दै गएको छ । हरेक पटक नक्कली स्टिकरको धन्दा चल्ने र समातिने फेरि मिलेमतोमा छुट्ने पुरानो प्रचलन यसपटक पनि भएको छ ।

हरेक पटक नक्कली अन्तःशुल्क स्टिकरको धन्दामा जोडिने क्रिष्टल डिस्टिलरीका मालिक फुलसिंह क्षेत्रीलाई उच्च राजनीतिक संरक्षणमा यसपटक पनि उम्काइएको छ । नक्कली स्टिकर प्रकरणमा जेल पर्ने डरले राजनीतिक संरक्षण  खोजेका क्षेत्रीलाई उम्काउन भन्दै आन्त्रिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई राजनीतिक निर्देशन दिइएको हो ।

स्रोतका अनुसार क्षेत्रीको क्रिष्टल डिष्टिलरीमा नक्कली अन्तःशुल्क स्टिकर सप्लाई गर्ने बाबुराजा कसोधन र एजेन्ट कुलप्रसाद पण्डित ‘भीम’ समेत पक्राउ गरी बयान समेत लिइसक्दा राजनीतिक दबाबमा क्षेत्रीलाई पक्राउ नगरिएको हो ।यस्तै नक्कली अन्तःशुल्क स्टिकरको धन्दा गरेको आरोपमा धनगढीमा हरकेश सिंह, संक्राम सिंह साउद, विजय कलवार र राज कुमार साह पक्राउ परेका छन् । नक्कली अन्तःशुल्क स्टिकर बनाई ओसारपसार तथा भण्डारण समेत गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई आन्तरिक राजस्व कार्यालय धनगढीले तोकेको जरिवानाभन्दा कम जरिवाना ठहर गर्दै राजस्व न्यायाधिकरणले सजिलै उन्मुक्ति दिनेछ ।

धनगढीमा समातिएकाहरुलाई आन्तरिक राजस्व कार्यालय धनगढीले जनही सात करोडभन्दा बढी जमानत लिई तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्नु भन्ने गत भदौ १८ गतेको प्रमुख कर अधिकृतको थुनछेक आदेशविरुद्ध राजस्व न्यायाधिकरणले दुई जना विजय कुमार कलवान र राज कुमार शाहलाई पच्चीस पच्चीस हजार, अर्का संक्राम सिंह साउदलाई एक करोड र हरकेश सिंहलाई एक करोड ५० लाख मात्र नगद वा जेथा वा बैंक ग्यारेन्टी दिए लिई तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु भन्ने आदेश दिएको छ ।

राजस्व न्यायाधिकरणका अध्यक्ष केशवराज जोशीले आन्तरिक राजस्व कार्यालयले भनेको भन्दा झण्डै २६ करोड कम धरौटी हुने भनी आन्तरिक राजस्व कार्यालय धनगढीलाई सोही अनुसार गर्न भन्दै पत्र पठाएका हुन् ।आन्तरिक राजस्व कार्यालयले तोकेभन्दा निकै कम धरौटीमा अभियुक्तहरु छुटेपछि राजस्व न्यायाधिकरणका अध्यक्ष जोशीको समेत यसमा मिलेमतो हुनसक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार नक्कली अन्तःशुल्क स्टिकरको धन्दा गर्ने मदिरा उद्योगको सेटिङ माथिदेखि सरकारी निकायको तलैसम्म भएकोले पक्राउ परे पनि सामान्य तरिकाले छुट्ने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया