Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनता झुक्याउने मारुती सिमेन्टप्रति गुणस्तर विभाग मौन

जनता झुक्याउने मारुती सिमेन्टप्रति गुणस्तर विभाग मौन


काठमाडौं । आफ्नो सिमेन्ट नम्बर एक भन्दै आकर्षक विज्ञापनले जनता ढाँट्ने मारुती सिमेन्टले खुलेआम जनता झुक्याउँदा समेत यसको गुणस्तर परीक्षण गर्ने सरकारी निकाय मौन देखिएको छ । आफ्नो उत्पादन उच्च गुणस्तरयुक्त भन्दै देशकै प्रतिष्ठित कलाकारहरुलाई ब्राण्ड एम्बेसडर बनाएर भिडिओ तथा फोटो खिच्ने मारुती सिमेन्टको गुणस्तर नै नपुगेको भन्दै गुणस्तर विभागले गत मंसिर १ गतेदेखि बिक्रीवितरणमा रोक लगाएको थियो ।

१५ दिनलाई बिक्रीवितरणमा रोक लगाउने गुणस्तर विभागको निर्णयलाई चुनौती दिँदै मारुती सिमेन्टले गुणस्तरहीन भेटिएको आफ्नो सिमेन्टको पुनः परीक्षण नगरी गुणस्तरमा कुनै सम्झौता नगरेको भन्दै सरकारी निकाय नेपाल गुणस्तर विभागको निर्णय नै गलत भनेजसरी मिडियाबाजी गर्दै हिँडेको छ । उक्त सिमेन्टले गलत प्रचार गरे पनि विभाग मौन बसेको छ ।

अघिल्लो साता गुणस्तर विभागले जारी गरेको विज्ञप्तिमा यसले उत्पादन गरेको ४३ ग्रेडको सिमेन्ट गुणस्तरहीन भएको प्रस्ट उल्लेख गरिएकोमा त्यसविरुद्ध मारुती सिमेन्टले जनताहरुलाई दिउँसै रात पारेजसरी आफ्नो सिमेन्ट गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने साथै सधैँ परीक्षणपछि मात्र बजार पठाउने भन्दै गुणस्तर विभागको विज्ञप्तिविरुद्ध अर्को विज्ञप्ति जारी गरेको हो । यसरी आफूले गरेको गुणस्तरको परीक्षणमै शंका गर्दै विज्ञप्ति जारी गर्ने मारुती सिमेन्टविरुद्ध गुणस्तर तथा नापतौल विभाग मौन रहनुले १५ दिनलाई बिक्रीवितरणमा रोक लगाएको विभागले पुनः गुणस्तर परीक्षण नै नगरी बिक्री गर्न दिन चलखेल गर्न लागेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार विभागको निर्णयलाई राष्ट्रिय चासो बनाउन मारुती सिमेन्टलाई गुणस्तर विभागबाटै ‘ग्रिन सिग्नल’ दिएको र सोहीअनुसार जनता झुक्याई वर्षौँदेखि गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बिक्री गर्दै आएको मारुती सिमेन्टले झूटो प्रचार गर्दै चलखेल गर्न खोजेको हो । देशमा सञ्चालित ठूला निर्माण आयोजनाहरुमा मारुती सिमेन्ट प्रशस्त मात्रामा बिक्री भई पुगेको र गुणस्तर विभागको निर्णयपछि सो फिर्ता हुँदा करोडौँको हानि कम्पनीलाई पर्ने भएपछि गुणस्तर विभागसँगको चलखेलमा पुनः गुणस्तर परीक्षण नगरी सोही गुणस्तरहीन भेटिएको सिमेन्ट नै बजारमा पठाउनेसम्मको तयारी भएको स्रोतको दाबी छ ।

गुणस्तरहीन भेटिएको ब्याचको सिमेन्ट बजारबाट फिर्ता नल्याएको विषयमा प्रश्न गर्दा मारुती सिमेन्टका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले आफ्नो सिमेन्ट खरिद गरी लगेका निर्माण आयोजनाहरुले पनि गुणस्तर परीक्षण गरिरहेकोले सो ब्याचका सिमेन्ट फिर्ता आउने नआउने सम्बन्धित आयोजनाहरुले गरेको परीक्षणपछि मात्र थाहा हुने बताए । उनका अनुसार सिमेन्ट गुणस्तरहीन कहिले पनि नहुने र सो सिमेन्ट गुणस्तरहीन भए पनि ग्रेड उल्लेख नगरी पुरानो विधिअनुसार बिक्री गर्न भने पाइनेछ ।

सिमेन्ट गुणस्तरहीन हुनलाई संरचना बनाउँदा बलियो तथा कमसल बनाउने म्याग्नेसियम र आईआर रेसियो धेरै तथा थोरै हुनु हो । म्याग्नेसियम कमले बलियोपना घट्छ भने आईआर रेसियो बढी हुँदा बनेका संरचनाहरु चर्किने र भत्किने हुन्छ र यही मात्रा मिलेन भने नै सिमेन्टमा गुणस्तर कम देखिने गर्दछ । यसको आधारमा हेर्ने हो भने पनि यसअघि मारुती सिमेन्टबाट बनेका संरचनाहरु चाँडै भत्किने तथा चर्किने स्रोतको दाबी छ ।

गुणस्तर विभागको कारबाहीपछि आफ्नो सिमेन्ट ठीक छ भनी दाबी गर्ने मारुती सिमेन्टले गुणस्तरहीन भेटिएको ब्याचमा कति सिमेन्ट उत्पादन भएको थियो, ती सिमेन्ट कहाँ कुन संरचना बनाउन प्रयोग गरिएको छ र त्यसलाई आफ्नो कम्पनीले प्रयोग नगर्न के गरेको छ भन्ने सामान्य जानकारी समेत नदिई गुणस्तरहीन भेटिएको कुरा सकभर लुकाएर झुक्याई सबै सिमेन्ट बेच्ने प्रपञ्चमा लागेको स्रोतको दाबी छ । यस विषयमा सरकारी संस्था गुणस्तर विभाग समेत मौन देखिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया