Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति

अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति


काठमाडौँ । वैदेशिक रोजगार कार्यालय, काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुने कार्यालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको व्यवस्थाले वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने बताए । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले फेरि रोजगारीमा जान पुनः श्रम स्वीकृति लिनुपर्ने हुन्छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई सहज बनाउन यस्तो व्यवस्था मिलाएको बताए । श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाई छिटो, छरितो र पारदर्शी रूपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले बताए । पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेबसाइट डब्लूडब्लूडब्लू डट डीओएफई डट जीओभी डट एनपीमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै ‘एफईआईएमएस डट डीओएफई डट जीओभी डट डट एनपीमा गएर पनि खोल्न सकिनेछ ।

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सोको कारणसहितको सूचना आवेदकको मोबाइल नं. र आवेदन गर्दाको युजर एकाउन्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नं. र इमेल ठेगाना अनिवार्य रूपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्को पटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकोले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ । अनलाइनमा कागजातहरू जाँच गर्न समय लाग्ने भएकोले कम्तीमा तीन दिनअगाडि अनलाइन फाराम भर्न र श्रम स्विकृति लिइसकेपछि मात्र हवाइ टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सोबमोजिम भए नभएको एकिन गर्न पनि कार्यालयले भनेको छ ।

पुनः श्रम स्वीकृतिको लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । म्यादी जीवन बीमा उमेरअनुसार १८ वर्षदेखि ३५ वर्षसम्म तीन हजार सात सय आठ रूपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्म चार हजार नौ सय ३१ रूपैयाँ र ५१ वर्षदेखि ६४ वर्षसम्म नौ हजार चार सय ६३ रूपैयाँ शुल्क तिर्नुपर्छ । वैदेशिक रोजगार कल्याणकारी कोषको लागि एक हजार पाँच सय रूपैयाँ शुल्क तिर्नुपर्छ । कार्यलयका अनुसार पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सोको स्क्यान कपी आवश्यक पर्छ । त्यस्तै अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिसपत्रको स्क्यान कपी आवश्यक पर्दछ । वैदेशिक रोजगार कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिनेगरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनु पर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन । वैदेशिक रोजगार कार्यालयबाट चालू आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जना भन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया