Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्माण सम्झौता भएको सात वर्षपछि सडक कालोपत्रे

निर्माण सम्झौता भएको सात वर्षपछि सडक कालोपत्रे


काठमाडौं । काठमाडौंदेखि दोलखालाई जोड्ने मुख्य राजमार्गको रूपमा रहेको लामसाँघु–जिरी सडकखण्डअन्तर्गतको ३० किलोमिटर मुडे–चरीकोट सडकको कालोपत्रेको काम करिब अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले निर्माण सम्झौता भएको सात वर्ष बितपछि सडक कालोपत्रे गरेको हो ।

पटक–पटकको नागरिक आन्दोलन र खबरदारी तथा राज्यले दिएको ठेक्का तोड्नेदेखि कालोसूचीमा राख्ने चेतावनीपछि निर्माण कम्पनीले पछिल्लो चार महिनामा सडक स्तरोन्नति र कालोपत्रे गर्ने कामलाई तीव्रता दिएको छ । जिल्लालाई देशको संघीय राजधानी काठमाडौंसम्म जोड्ने यस मुडे–चरीकोट सडक खण्डमा कालोपत्रे गर्ने कार्य अहिले पनि जारी छ । दुई वर्षभित्र कालोपत्रे सक्ने सर्तमा २०७२ सालमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले सम्झौता म्याद सकिएर चर्को हर्जाना तथा फाइन तिर्दै आएको थियो ।

पछिल्लो पटक थपिएको म्यादमा भने निर्माण कम्पनीले कामलाई तीव्रता दिएको छ । थपिएको म्याद सकिन एक महिना मात्र बाँकी रहँदा सडक कालोपत्रेको काम २७ किलोमिटर पूरा भएको निर्माण कम्पनीले जनाएको छ । आयोजनाका निमित्त योजना प्रमुख एवं इन्जिनियर ईश्वर कार्कीका अनुसार जेठ १० गतेसम्म २७ किलोमिटर कालोपत्रे सकिएको छ । अब सडकमा तीन किलोमिटर मात्रै कालोपत्रे गर्न बाँकी छ ।

पछिल्लो समयमा लगातार झरी परेकाले बाँकी रहेको तीन किलोमिटर सडकको कालोपत्रे गर्न समस्या भएको उनले बताए । मौसमले साथ दिए अबको १५ दिनभित्र पूरै कालोपत्रे सक्ने निर्माण कम्पनीले जनाएको छ । सात वर्षदेखि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकको कष्ट खेप्दै आएका जिल्लाका नागरिक सडक निर्माणमा सुधार आएपछि यात्रा गर्न केही सहज भएको बताउन थालेका छन् । मुडे–चरीकोटको काम शंकर माली निर्माण सेवाले सुरु गरेको भए पनि ठेकेदार कम्पनी मिटरब्याजको फन्दामा परेपछि काम अलपत्र बन्न पुगेको थियो । शंकरमाली–सुनौला खिम्ती र भारतको सकिल हैदर जेभीले २०७२ मा सडक विस्तारको ठेक्का पाएको थियो । विसं २०७४ भित्र सम्पन्न हुनुपर्ने काम छ वर्ष ढिला भएपछि सडक डिभिजन कार्यालयले ठेकेदारलाई चार लाखका दरले हर्जना समेत तिराएर काम गर्न दबाब दिँदा समेत कामले गति लिन सकेको थिएन ।

सरकारले गत माघ २०७८ मा कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेपछि जेभीकै अर्का ठेकेदारको समूह काममा फर्केर २०७८ कै फागुनदेखि काम सुरु गरेको थियोे । भारतीय एक्जिम बैंकको एक अर्ब २४ करोड ऋण सहयोगमा सडक निर्माणको ठेक्का सम्झौता भएको थियो ।

सिन्धुपाल्चोकको खाडीचौरदेखि चरीकोट सडकखण्डसम्मको पहिलो चरणको खाँडीचौरदेखि मुडेसम्मको २५ किलोमिटरको काम गत वर्ष नै पूरा भइसकेको छ । मुडेदेखि चरीकोटसम्मको ३० किलोमिटर निर्माणको काम भने अन्तिम चरणमा पुगेको हो । समयमा सडक निर्माण नहुँदा जिल्लाका नागरिकले महँगो शुल्क तिरेर बिरामीलाई हेलिकोप्टरमार्फत काठमाडौं लगेर उपचार गर्नुपर्ने बाध्यता थियो भने कच्ची सडककै कारण जिल्लाको निजी क्षेत्र सुस्ताउँदै गएको छ । त्यस्तै जिल्लामा भित्रिने पर्यटक पनि घट्दै गएका थिए । यो सडकको निर्माण सकिएपछि जिल्लाको निजी क्षेत्र र पर्यटकीय क्षेत्रमा केही सुधार आउँछ कि भन्ने आशमा जिल्लाका व्यवसायीहरू रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया