Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजारमा ‘धन कमाउने’लाई प्रवेश गराइने

सेयरबजारमा ‘धन कमाउने’लाई प्रवेश गराइने

११ महिनामा ११ सयले घट्यो बजार


काठमाडौं । सरकारले सेयरबजारमा विदेशमा गएर ‘धन कमाउने’ वर्गलाई प्रवेश गराउने भएको छ । सेयरबजार लगातार ओरालो लागेर आलोचना भएपछि अर्थमन्त्री जनार्दन शर्माले यसलाई उकास्ने प्रयासस्वरुप गैरआवासीय नेपालीलाई सेयरबजारमा लगानीको वातावरण बनाउने र वैदेशिक रोजगारीमा विदेश गएकाहरुलाई प्राथमिक सेयर निष्काशनमा दश प्रतिशत सेयर हिस्सा दिने घोषणा गरेका छन् ।

केपी ओली नेतृत्वको सरकार ढलेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि शर्मा अर्थमन्त्री बनेका थिए । ओली सरकारको पालामा विष्णु पौडेल अर्थमन्त्री हुँदा करिब ३२ सय पुगेको सेयरबजार करिब ११ महिनाको अवधिमा ११ सय अंकले नै झरेर एक्काईस सय ३० मा आइपुगेकै दिन बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले सेयरबजार अब सकारात्मक दिशाबाट अगाडि बढ्ने आशा गरे । सर्वोच्च अदालतको परमादेशको कारण असार अन्तिम साता ओली नेतृत्वको सरकारी विस्थापित भएर देउवा नेतृत्वमा सरकार बनेको थियो ।

प्राथमिक सेयरमा श्रम स्वीकृति लिएर विदेशमा काम गर्न गएकाहरुलाई लाभ दिए पनि गैरआवासीय नेपालीले लगानी गरेमा सेयरबजारमा लगानी थपिनेछ । तर, त्यसका लागि सरकारले सुविधाको व्यवस्था गर्नुपर्ने हुन्छ ।

‘गैरआवासीय नेपालीलाई सेयरबजारमा लगानीको वातावरण बनाउने र वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत सेयर हिस्सा छुट्याइदिने कुराले सकारात्मक सन्देश दिने मेरो विश्वास छ’, बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘पँुजीबजार सुधारका लागि निकै महत्वपूर्ण विषय बजेटमा समावेश गरिएको छ । बजेटको बुँदा नम्बर ३३२ पढ्न र पुँजीबजारका विषयमा धारणा बनाउन सबैलाई आग्रह गर्छु । त्यसमा उल्लेख गरिएको विषय पुँजीबजारका लागि महत्वपूर्ण हुनेछ ।’

बजेट वक्तव्यको ३३२ नम्बर बुँदामा ‘एक अर्ब रुपैयाँ वा सोभन्दा बढीको पुँजी वा पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेछ’ भन्ने उल्लेख छ । अर्थमन्त्री शर्माले उक्त दाबी गरे पनि बजेट आएपछि कारोबार भएका तीनवटै दिन सेयरबजारमा लगातार ओरालो लागेको छ ।

सेयरबजार लगातार ओरालो लाग्नुमा अर्थ मन्त्रालयको हात रहेको छ । अहिले बजार धेरै बिग्रिएपछि अर्थमन्त्री शर्माले सम्हाल्ने प्रयास गरे पनि तत्काल सुधारको संकेत भने देखिएको छैन । देउवा नेतृत्वको सरकार बन्नासाथ माओवादी अध्यक्ष प्रचण्ड पनि सेयरबजारविरुद्ध उत्रिएका थिए । सेयरबजारलाई अनुत्पादक क्षेत्रसँग तुलना गरेका प्रचण्डले पछि त्यसलाई सुधार गर्ने प्रयास गरे पनि समग्र माओवादी नेतृत्व सेयरबजारविरुद्ध छ भन्ने आम लगानीकर्ताको बुझाइ छ । त्यही भएर बजारले माओवादी अर्थमन्त्रीलाई नरुचाएको प्रस्ट भएको छ ।

यसैबीच, अर्थमन्त्री शर्माले सबैको स्वाधीनता कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट सार्वजनिक गरेको बताएका छन् । उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दूरदराजका नागरिक र रौतहटका अल्पसंख्यक परिवारदेखि कर्णालीको जनजातिसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेकाले सबैको स्वाधीनता रहेको बताएका हुन् । ‘यो बजेट तपाईंहरुको हो, म त केवल प्रतिनिधि मात्र हुँ’, उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म सबैको विषयलाई सम्बोधन गर्ने गरी बजेट बनाएको छु । अब यसलाई सबै मिलेर कार्यान्वयन गरौँ ।’

आमजनताले स्वामित्व लिनसक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उद्देश्य हासिल हुने उनको दाबी थियो । ‘संसद्मा अहिले यसबारे विभिन्न प्रश्न उठेका छन्, बहस भइरहेका छन् । यसले बजेट कार्यान्वयनमा सघाउ पुग्ने मेरो अपेक्षा छ’, उनले भने । शर्माले कृषिलाई उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको जानकारी दिए । जुन सुपारी आयात ग-यो, त्यही सुपारी निर्यात गर्ने विषय अब इतिहास हुने पनि उनको तर्क थियो । मुलुकभित्रै उत्पादन भएको वस्तु तथा सेवा निर्यातका लागि बजेटले अधिकतम स्थान दिएको उनको दाबी छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया