Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभीसीटीएस नगरी सामान ढुवानी गर्ने व्यवसायी राजस्वको कारबाहीमा

भीसीटीएस नगरी सामान ढुवानी गर्ने व्यवसायी राजस्वको कारबाहीमा


विराटनगर । सरकारले वैदेशिक मुद्राको सञ्चितिलाई मध्यनजर गर्दै पछिल्लो समय एलसी खोल्न कडाइ गरेपछि राजस्व चुहावटमा व्यापक वृद्धि हुन थालेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले व्यावसायिक मालसामान ढुवानी गर्दा अनिवार्यरूपमा गर्नुपर्ने भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस)मा प्रविष्ट नगरी मालसामान ढुवानी गर्ने क्रम तीव्र हुन थालेपछि यहाँका विभिन्न व्यापारिक फर्मलाई कारबाही समेत सुरु गरेको छ ।

राजस्व कार्यालय सुनसरीले त्यस्ता व्यावसायिक फर्मलाई कारबाही गरी चालू आर्थिक वर्षको असार ५ गतेभित्रमा करिव ७७ लाख १४ हजार रुपैयाँ राजस्व समेत संकलन गरेको छ । कार्यालयले ट्र्याकिङ गर्दा धेरै कम्पनीहरूले भीसीटीएस नगरी मालसामान ढुवानी गरेको पाइएको थियो । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका धेरैजसो व्यावसायिक फर्मबाट अत्यधिक मात्रामा भीसीटीएस उल्लंघन गरेको पाइएपछि कार्यालयले चेकजाँचमा सक्रियता बढाएको छ । अनुसन्धानको कारबाहीमा पर्ने सबैभन्दा धेरै मोरङका व्यावसायिक फर्म रहेका छन् ।

सरकारले २०७६ सालदेखि नै भीसीटीएस प्रणाली लागू गरेर प्रयोगमा ल्याएको भए पनि व्यावसायिक प्रतिष्ठानको हेपाहा प्रवृत्तिका कारण भीसीटीएस प्रणाली लागू गर्न समस्या परेको छ । राजस्व अनुसन्धानले अहिलेसम्ममा कारबाही गरेका विराटनगरका व्यावसायिक फर्महरूमा अलि ट्रेडर्स सेन्टर विराटनगर, शिवमोटर पाट्र्स विराटनगर, आर्य इम्पेक्स विराटनगर, इन्द्रेणी सप्लायर्स सुन्दरहरैचा मोरङ, स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि सुनसरी, फाइनल सोलुसन प्रालि उर्लाबारी मोरङ, श्री नवदुर्गा इन्टरप्राइजेज विराटनगर, साह हार्डवेयर सप्लायर्स विराटनगर र महालक्ष्मी केवल विराटनगर रहेका छन् ।

राजस्व चुहावट गर्ने फर्महरूलाई कानुनअनुसार कारबाही गर्दै आएको राजस्व कार्यालयले बताएको छ । मालवाहक सवारीसाधन नियन्त्रणमा लिनेदेखि दण्ड जरिवाना समेत गर्दै आएको कार्यालयका अधिकारीहरूले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया