Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवडा अध्यक्ष सापकोटाद्वारा गैरकानुनी ढङ्गले सरकारी जग्गालाई बाटो भन्दै सिफारिस

वडा अध्यक्ष सापकोटाद्वारा गैरकानुनी ढङ्गले सरकारी जग्गालाई बाटो भन्दै सिफारिस


काठमाडौं, फागुन ९
काठमाडौँ महानगरपालिकाको वडा नम्बर १४ की वडा अध्यक्ष शोभा सापकोटाले गैरकानुनी ढङ्गले सिफारिस गरेको पाइएको छ । वडा अध्यक्ष सापकोटाले मोटो रकमको लोभमा परी सरकारी जग्गालाई बाटो भन्दै बाटो नभएको ठाउँमा बाटो रहेको सिफारिस दिएकी छिन् ।

उनले गत माघ २० गते चलानी नम्बर २९५४ राखी मालपोत कार्यालय कलंकीलाई सम्बोधन गरेर विनय गौतमलाई दिएको घरबाटोको सिफारिसमा तीन फिट दक्षिणतर्फबाट बाटो भएको घर तथा जग्गालाई उत्तरतर्फको सरकारी गुठीको जग्गालाई बाटो भनी सिफारिस दिएकी हुन् । सिफारिसमा उल्लेख गरिएको नक्सा नं. १०२११४२१२ को कित्ता नम्बर ९७ र ९८ को क्षेत्रफल दुुई सय ६१ दशमलव नौ वर्गफिट जग्गामा घरसमेत रहेको र सहायक पिच बाटोले छोएको उल्लेख गरिएको छ । उल्लेख गरिएको घर र उल्लेख गरिएको बाटोको बीचमा कित्ता नम्बर ४ को २१ फिट जग्गा थापाथलीस्थित कालमोचनघाटको कालमोचन गुठीको नाममा श्रेस्ता कायम भएको १५ आना दुुई पैसा पर्दछ । जब कि घरबाटोको सिफरिस लिन सम्बन्धित स्थानको जग्गाको नक्सा हेर्नु जरुरी हुन्छ ।

उक्त घरसहितको जग्गा मालपोत कार्यालयको लगतअनुसार गत माघ २६ गते विवेक गौतम र सुलोचना लामिछानेको नाममा भएको कित्ता नम्बर ९७ र ९८ नम्बरको एकसय चार दशमलव दुुई वर्ग फिट र एक सय ५७ दशमलव सात वर्गफिट गरी जम्मा दुुई सय ६१ दशमलव नौ वर्गफिट जग्गा घरसहित ऋषिता ट्रेडर्स प्रालीको नाममा नामसारी भएको छ । त्यसो त उक्त कालमोचन गुठीको जग्गामोही रत्नदेवी थापालाई आफ्नी सासुु तोयादेवी थापाले छ रोपनी जग्गा बकसपत्र गरेर दिएकी थिइन् । भने तोयादेवीलाई आफ्नो बाबुले दाइजोमा दिएको पाइएको छ । तीन पुुस्तादेखि भोगकमोद गर्दै आएको जग्गा हडपेर खाएको गुनासो रत्नदेवी थापाले गरेकी छिन् ।

उमेरले सात दशकको उत्तरार्धमा रहेकी निरक्षर रत्नदेवी कहिले भौतारिँदै मालपोत कार्यालय त कहिले गुठी संस्थान र कहिले काठमाडौ महानगरपालिकाको कार्यालय धाइन् तर कहीँकतै सुनुवाइ नभएको गुनासो उनको छ । जुन सँगै रहेको कित्ता नम्बर ४ को १५ आना दुई पैसा जग्गा २०२२ सालमा नापी गर्न छुटेको थियो । यद्यपि भोगचलन भने रत्नदेवी थापाले नै गर्दै आएकी थिइन् । त्यसो त कित्ता नम्बर ४४, ४५, ४६, ४७ र ४८ को जग्गा पनि कालमोचन गुठीकै रहेको पाइएको छ । गुठी संस्थानले उनलाई समान व्यवहार नगरेकामा दुखेसो गरिन् । उनी भन्छिन् कोहीलाई तारिखको तारिख कोहीले लालपूर्जा समान न्यायको सिद्धान्तभित्र परेन ।

विनय गौतमले जग्गा हडपेको विषयमा २०७३ भदौ २९ गते रत्नदेवी थापा काठमाडौँ महानगरपालिकाको कार्यालय उजुरी गर्न पुगिन् । उनीलाई तीन वर्षको बीचमा ३७ पटक फिल्ड निरीक्षण गर्ने तारिख दिइएको छ तर सुनुवाइ भएको छैन । उनको पछिल्लो तारिख गत माघ १५ गतेलाई दिइएको थियो भने आगामी तारिख फागुन १५ गते रहेको छ । विवादित उक्त जग्गा मालपोत कार्यालय कलंकीको ५० मिटर नजिक पर्छ भने वडा कार्यालयदेखि दुुई सय मिटरको दूरीमा पर्दछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया