Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण

वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल निर्यात व्यवसायी महासंघले बुधबार राजधानीमा आयोजना गरेको ‘निर्यात प्रवर्द्धनका लागि राजदूत एवम् व्यवसायीबीचको अन्तर्क्रिया’ कार्यक्रममा उनले नेपालको निर्यात क्षेत्रलाई विस्तार गरी वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताए ।

मुलुकमा उत्पादित वस्तुको निर्यातलाई बढाएर विदेशी मुद्रा भित्र्याउनु अहिले देशको मुख्य आवश्यकता रहेको उनको भनाइ थियो । उक्त कार्यमा विभिन्न देशका नवनियुक्त राजदूतहरु लाग्ने आफूले विश्वास लिएको उनले बताए । आयातलाई प्रतिस्थापन गरी निर्यात बढाउन सकेमात्र नेपालको व्यापारघाटा कम हुने उनको भनाइ छ । उद्योगमन्त्री बडूले निर्यात प्रवर्द्धनका लागि आवश्यक पर्ने नीतिनियम बनाउन सरकार सधैँ सकारात्मक रहेको बताए । राष्ट्रिय उत्पादन बढाएर निर्यात प्रवर्द्धनमा सरकार सधैँ निजी क्षेत्रसँग सहकार्य गर्ने उनको भनाइ छ । उनले निर्यात क्षेत्रलाई बढावा दिन सरकारले व्यवसायलाई अनुदान तथा प्रोत्साहनको व्यवस्था गरेको बताए । मन्त्री बडूले नेपालमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न सरकार सकारात्मक रहेको समेत स्पष्ट पारे ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई विदेशमा सजिलै निर्यात गर्ने व्यवस्था मिलाउन कूटनीतिक नियोगको महत्वपूर्ण भूमिका रहेको बताए । निर्यात प्रवर्द्धनका लागि राजदूतसँगको अन्तर्क्रियाले सहयोग पुग्ने विश्वास परराष्ट्र मन्त्रालयले लिएको उनको भनाइ छ । विदेशमा रहेका नेपालका ४० कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्रालयले ६÷६ महिनामा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

कार्यक्रममा महासंघका अध्यक्ष राम बहादुर गुरुङले नेपालको निर्यात प्रवर्द्धनका लागि अर्थ, परराष्ट्र, उद्योग, कृषि, वन मन्त्रालयका प्रतिनिधि र व्यवसायी सम्मिलित स्थायी संयन्त्र बनाउनुपर्ने, स्वदेशी कच्चा पदार्थको सम्भाव्यता अध्ययन गरी कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने, निर्यात व्यवसाय सञ्चालनका लागि पूर्वाधारमा निःशुल्क वा ५० प्रतिशत लगानी गरी सरकारी तथा निजी साझेदारीमा निर्यात प्रवर्द्धनका लागि संयुक्त रणनीति बढाउन सरकारलाई आग्रह गरे ।

अध्यक्ष गुरुङले नेपाली निर्यातकर्तालाई परेको समस्या समाधानका लागि राजदूतको भूमिका ठूलो रहेको बताउँदै नेपाली वस्तुको निर्यातमा सघाउ पुग्ने खालको व्यवसायी सम्झौताका लागि सहयोग गर्न राजदूतसमक्ष आग्रह गरे । उनले निर्यातजन्य वस्तुको अनुसन्धान तथा विकासका साथै निर्यातको उच्च सम्भाव्यता अध्ययन रहेका वस्तुको प्रवर्द्धनका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । महासंघका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब आठ अर्बको वस्तु आयत गर्दा निर्यात भने एक खर्ब ४१ अर्बमा सीमित भएको छ । सोही अवसरमा उपस्थित राजदूतले भने नेपालको निर्यात व्यवसायलाई प्रवर्द्धन गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया