Techie IT
×
गृहपृष्ठसमाचारविराटनगर भन्सारले फेरि लक्ष्य भेट्न सकेन भन्सार एजेन्टको जीवनस्तर भने विलासी बन्दै

विराटनगर भन्सारले फेरि लक्ष्य भेट्न सकेन भन्सार एजेन्टको जीवनस्तर भने विलासी बन्दै


विराटनगर । प्रदेश १ कै मुख्य भन्सार नाकाका रूपमा रहेको विराटनगर भन्सारबाट सरकारले अपेक्षाकृत राजस्व असुली गर्न सकेको छैन । २०६२/०६३ को मधेश आन्दोलनदेखि निरन्तर ओरालो लागेको विराटनगर भन्सारको राजस्व संकलनकार्य आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षमा ३९ करोड रूपैयाँले घटेको छ ।

कार्यालयको तथ्यांकअनुसार आव २०७८/७९ मा ४० अर्ब ४२ करोड ७७ लाख ७८ हजार रूपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले आव २०७८/८९ मा करिब ५० अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले लक्ष्यको ८१ दशमलव ४१ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । आव २०७७/७८ मा विराटनगर भन्सार कार्यालयले ४० अर्ब ८१ करोड ९० लाख १३ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले गत आवको सुरुवातदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको पाइएको छ । विराटनगर भन्सारले साउन महिनामा लक्ष्यको ९६ दशमलव ५६ प्रतिशत, भदौमा ९३, असोजमा ९२ दशमलव ६२, कात्तिकमा ८४ दशमलव १३, मंसिरमा ९४ दशमलव ४६, पुसमा ७६ दशमलव १८ र माघमा ७६ दशमलव २१ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । यस्तै फागुनमा ८१ दशमलव ७६, चैतमा ७५ दशमलमव ७१, वैशाखमा ६६ दशमलव २२, जेठमा ७४ दशमलव २४ र असारमा ६९ दशमलव ४० प्रतिशत राजस्व संकलन गरेको छ ।

विराटनगर जोड्ने भारतको जोगवनी नजिकको मिरगन्ज पुल भासिएका कारण विराटनगर नाकाबाट आयात गर्दै आएका उद्योगी व्यवसायी अन्य नाकामा डाइभर्ट भएको र सरकारले आयातमा गरेको कडाइका कारण आयात प्रभावित हुँदा विराटनगर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । यस नाकाबाट गत आवमा दुई खर्ब ६९ अर्ब ९० करोड रूपैयाँको व्यापार भएको छ । जसमा दुई खर्ब १३ अर्बको एक करोड ९० लाख रूपैयाँको वस्तु आयात भएको छ भने ५६ अर्ब ८८ करोड रूपैयाँको सामग्री निर्यात भएका छन् । विराटनगरको व्यापारमा मिरगन्ज पुल तगारो बन्दै आएको छ । पुरानो फलामे पुल भएकोले बेला–बेलामा भासिइरहने र मर्मतका नाममा भारतीय पक्षले महिनौँसम्म पुल सञ्चालन नगर्ने प्रवृत्तिले हरेक वर्ष विराटनगर नाकाको आयात निर्यात प्रभावित हुँदै आएको भन्सार कार्यालयले जनाएको छ । मिरगन्जको पुरानो पुलनजिकै भारतले नयाँ पक्की पुल निर्माण गरिरहेको भए पनि पुल निर्माणमा ढिलासुस्तीले निर्माण सुरु भएको १२ वर्षसम्म पनि पुल सम्पन्न भएको छैन ।

हाल विराटनगर नाकाबाट हुने आयात–निर्यात सुनसरीको भान्टाबारी नाकाबाट भइरहेको छ । मिरगन्ज पुल आंशिक भए पनि सञ्चालनमा ल्याउन मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले पहल गरिरहेको भए पनि अझैसम्म पुल सञ्चालनमा आउन सकेको छैन । भन्सारबाट लक्ष्यअनुसारको राजस्व संकलन हुन नसके पनि यहाँ कार्यरत भन्सार एजेन्टदेखि एजेन्टका प्रतिनिधिहरूको जीवनस्तरमा भने दिनप्रतिदिन विलासी बन्दै गएको देखिन थालेको छ । भारतमा रहेको मिरगञ्जको पुल समस्यादेखि भारतीय पक्षबाट हुने अवरोधले भन्सारलाई राजस्व संकलनमा तगारो लागेको भनिएको बेलामा नै भन्सार एजेन्टको जीवनशैलीमा विलासीपन देखिन थालेको हो । राजस्वमा संकलनमा कमी आउनु र भन्सार एजेन्टको जीवनस्तर विलासी हुन थाल्नुले पछिल्लो समय सबैलाई चिन्तित बनाउँदै गएको छ ।

विराटनगर भन्सारलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएका काम गर्ने भन्सार एजेन्टको संख्या यहाँ १८ मात्र रहेको छ । भर्खरै भन्सार विभागले लिएको भन्सार एजेन्ट परीक्षामा विराटनगर भन्सारबाट मात्रै एक दर्जनभन्दा बढी भन्सार एजेन्टका प्रतिनिधिहरूले परीक्षामा सहभागिता जनाएका थिए । तर सबै सहभागी परीक्षामा असफल भएपछि विराटनगर भन्सारमा कार्यरत भन्सार एजेन्टको कार्यक्षमतामाथि नै प्रश्नचिह्न लाग्न पुगेको छ । यस्तै परीक्षामा सहभागी भएर फेल गरेकाहरू नै पछिल्लो समय विराटनगर भन्सारबाट हुने भन्सार जाँचपाससम्बन्धी काममा सक्रिय भएर लागेका छन् । विराटनगर भन्सारबाट भन्सार जाँचपासको काम सम्पन्न गरेबापत भन्सार एजेन्टले प्रतिप्रज्ञापनपत्रबापत व्यापारीबाट तीन सयदेखि पाँच सय रूपैयाँसम्म पारिश्रमिक लिनेगरेका छन् । त्यसबाहेक अतिरिक्त रकम कतै–कहीँबाट पनि भन्सार एजेन्टले व्यापारीसँग लिन पाउँदैन । तर पनि भन्सार एजेन्टको काममा आकर्षण निकै बढेर गएको छ ।

विगतमा हवाइ चप्पल लाउँदै काँधमा झोला बोकेर प्रज्ञापनपत्र हातमा लिई भन्सार अधिकृतको पछि लाग्ने भन्सार एजेन्टहरू पछिल्लो १० देखि १५ वर्षको अन्तरालमा चिल्ला गाडीमा भन्सारको याडमा प्रवेश गर्न थालेका छन् । उक्त दृश्यले भन्सार अधिकृत नै तर्सिने बेला आएको एक भन्सार अधिकृतले बताए । यो छोटो अवधिमा भन्सार एजेन्टको जीवनस्तर एक्कासि बढ्दा पनि राज्यका सबै निकायले भन्सार एजेन्टलाई कानुनी दायरामा ल्याउन नसकेको उनको दाबी छ । चार पाँच वर्षपहिले विराटनगर भन्सारको भन्सार एजेन्ट संघको जिम्मेवार पदमा बहाल रहेकादेखि केही प्रभावशाली भन्सार एजेन्टलाई सम्पत्ति सुदृढीकरण र राजस्व अनुसन्धान विभागले सम्पत्ति आर्जनका स्रोतहरू खोज्दै पत्राचार गरेको स्मरण गर्दै ती अधिकृतले अहिले आवश्यक प-यो भने भन्सार एजेन्टले नै भन्सार अधिकृतलाई हल्लाउन थालेको बताए । पछिल्लो समय विराटनगर भन्सारमा भन्सार अधिकृतभन्दा भन्सार एजेन्ट नै शक्तिशाली भएको उनले दुखेसो पोखे ।

आर्थिक वर्ष २०७८/०७९ मा विराटनगर भन्सारमा रहेका भन्सार एजेन्टबाट भन्सार जाँचपास गराएका सामानसहितको गाडी भन्सार राजस्व गस्ती र नेपाल प्रहरीले राजस्व छली भएको आशंकामा नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्दै करिब १० दर्जन मुद्दा राजस्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाएको छ । प्रहरीले राजस्व छली भएको आशंकामा पक्राउ गरी राजस्वमा बुझाएको उक्त सामान र गाडीबाट राजस्व अनुसन्धान कार्यालय सुनसरीले पनि करोडौँको राजस्व असुली गरेको छ । यो घटनाले पनि विराटनगर भन्सारमा लामो समयदेखि भन्सार एजेन्टका रूपमा कार्यरत भन्सार एजेन्टको जीवनस्तर एक्कासि कसरी माथि उठेको छ भन्ने कुरा प्रमाणित हुने दाबी राजस्वस्रोतले गरेको छ । तसर्थ जतिसक्दो चाँडो सरोकारवाला निकायहरूले अस्वाभाविक जीवनशैली यापन गर्दै आएका भन्सार एजेन्टलाई राज्यको कानुनी दायरामा ल्याउन ढिला गर्न नहुने जनगुनासो व्यापक हुँदै गएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया