Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअझै धेरै पानी पर्ने सडक सञ्जालमा तहसनहस

अझै धेरै पानी पर्ने सडक सञ्जालमा तहसनहस


काठमाडौं । यो वर्ष बढी वर्षा भएको कारण देशका प्रमुख राजमार्गको साथै अधिकांश सडक साउनभित्रै तहसनहस भएका छन् । अझै भदौ र असोजमा भारी वर्षा हुने भएको कारण सडक, घर, बस्ती र खेतीपातीमा थप क्षति हुने अनुमान गरिएको छ ।

यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएकोमा साउन अन्तिम सातासम्म आठ सय ३५ दशमलव तीन मिलिमिटर अर्थात् ५६ दशमलव सात प्रतिशत वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भदौ र असोज महिनामा अरु वर्षभन्दा यो वर्ष धेरै वर्षा हुने मौसमविद्हरुले प्रक्षेपण गरेका छन् ।

वर्षा मापन गर्ने ७७ वटा केन्द्रको तथ्यांकअनुसार साउन २६ गतेसम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको छ । सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत भएको राससले जनाएको छ । साउन अन्तिम सातासम्म प्रदेश नं. १ र बागमती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा भएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ । नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ । नेपालमा पूर्वीभेग भएर मनसुन भित्रिने गर्दछ ।

असार र साउनमा परेको भारी वर्षाकै कारण सबैजसो राजमार्ग अवरुद्ध हुन पुगेको छ । अझ भदौ र असोजमा पर्ने पानीले थप क्षति हुने देखिन्छ । असारदेखि नै राजमार्गहरु भारी वर्षा र त्यसबाट आएको पहिरोको कारण बन्द हुने गर्नाले आवतजावतमा कठिनाइ भइरहेको छ । भदौ र असोजमा पनि अन्य वर्षभन्दा धेरै पानी पार्ने भएकाले अझै क्षति बढ्नेछ । राजमार्ग र दर्जनौ कालोपत्रे सडकहरु नै अवरुछ छ भने अन्य सडकमा जान सक्ने अवस्था छैन । सडक विभागले गर्ने मर्मतले पनि थेग्नसकेको छैन ।

‘यो वर्ष धेरै पानी परेको कारण जेठ अन्तिम सातादेखि नै सडकलाई क्षति गरिरहेको छ’, सडक विभागका एक अधिकारीले भने, ‘अझै भदौ र असोजमा औसत भन्दा बढी पानी पर्ने भएकाले सडकमा झन ठूलो क्षति हुने अनुमान गरिएको छ । वर्षा नरोकिएसम्म मर्मत गर्न नसकिने भएकाले कतिपय सडक पार गर्न ज्यादै कठिन भैरहेको छ ।’ भारी वर्षाको कारण यो वर्ष पृथ्वी राजमार्ग पटकपटक बन्द भइरहेको छ । खासगरी धादिङ र चितवनको सीमा क्षेत्रनजिक पृथ्वीराजमार्गको दुई/तीन किलोमिटर सडक भारी वर्षाको कारण मर्मत गर्न नै कठिन भइरहेको सडक डिभिजन नुवाकोटले जनाएको छ । ‘पानी परिरहेको बेला गर्ने मर्मत टिक्दैन’, सडक डिभिजन नुवाकोटका एक इन्जिनियरले भने, ‘सडक धेरै बिग्रिसकेको छ । मर्मत गर्न थाल्यो कि पानी परिहाल्छ । टिकाउनै गाह्रो भयो ।’

सडक डिभिजन नुवाकोटले ठाउँठाउँमा मेसिन राखेर अवरुद्ध राजमार्ग जतिसक्दो छिटो खुलाउने प्रयास भने गरेको छ । देशको मुख्य राजमार्ग यो सडक बन्द भएमा राजधानीमा खाद्यान्न र इन्धन नै अभाव हुने भएकाले सरकारले सबै संयन्त्र प्रयोग गरे पनि भारी वर्षाको कारण मर्मत हुन कठिनाइ परिरहेको छ ।

भारी वर्षाको कारण शुक्रबारसम्म तीन पूर्ण र १२ सडक आंशिकरूपमा अवरुद्ध रहेको छ । कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु– त्रिशूली– धुन्चे– स्याफ्रबेसी सडकका विभिन्न खण्डका सडक अवरुद्ध रहेका छन् । कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको सुर्कीपाखा र दादीखोलामा पहिरोका कारण सडक अवरुद्ध छ । खुलाउने प्रयास पनि जारी छ । साँफेबगर– मार्तडी –कोल्टी सडक पनि ठाउँठाउँमा अवरुद्ध छ ।

बालाजु– त्रिशूली– धुन्चे– स्याफ्रुबेसी सडकको बेलकोट खोला नजिक पटक–पटक अवरुद्ध हुने गरेको छ भने रसुवाको बनुवामा अवरुद्ध भएकामा वैकल्पिक सडक खुलाएर साना गाडी जाने व्यवस्था मिलाइएको छ । कोशी राजमार्ग, पृथ्वी, त्रिभुवन राजमार्ग, डुम्रे–बेसीसहर– चामे सडक, कर्णाली राजमार्ग र पुष्पलाल (मध्यपहाडी) राजमार्गको विभिन्न खण्डमा बाढी र पहिरोका कारण अवरुद्ध बनेकामा हाल आंशिकरूपमा खुलाइएको छ ।

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सम्माटार, पृथ्वी राजमार्गको तनहुँको साँखर (बाँसबारी), त्रिभुवन राजपथमा मकवानपुरको छत्तिस खोला, डुम्रे–बेशीसहर–चामे सडकअन्तर्गत लमजुङको उदीपुर, मनाङको म्यार्दी भीरमा सडक एकातर्फबाट मात्रै खुलाइएको छ । त्यस्तै, कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको फक्सिण्डा दोभानबाट बरुण खोला, तानसेन– रिडि– कोरलाअन्तर्गत मुस्ताङको काभ्रे भीर, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत बागलुङको खहरे दोबिल्ला, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको जारकोटमा पनि आंशिकरूपमा मात्रै सञ्चालनमा छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मकरूपमा तराई क्षेत्रमा कम वर्षा भएको छ । आइतबार र सोमबार मौसम बदली भई देशका धेरेजसो स्थानमा मेघ/गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार पनि काठमाडौंका उत्तरपूर्वी भागमा भारी वर्षा भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया