Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जास्रोत नखुलेको सम्पत्ति चालू आय वर्षको आम्दानी हुने !

स्रोत नखुलेको सम्पत्ति चालू आय वर्षको आम्दानी हुने !


काठमाडौं,सरकारले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिने तयारी गरेको छ । यसका लागि उसले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ मा संशोधन गर्न लागेको छ । प्रतिनिधिसभामा दर्ता गराइएको सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावारण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ ले स्रोत नखुलेको सम्पत्तिलाई चालू आय वर्षको आम्दानीको मान्यता दिने उल्लेख गरिएको छ ।

माघ २७ गते प्रतिनिधिसभामा दर्ता भएको सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकले सम्पत्ति शुद्धीकरणको क्रममा आम्दानीको स्रोत खुलाउन नसकेको र अनुसन्धान गर्दा दोषी नपाएको खण्डमा सो सम्पत्तिलाई वैधता दिनुपर्ने उल्लेख गरेको छ ।
सो विधेयक कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बुधबार संसद्मा पेस गरेका छन् । संसदमा विधेयक पेस गर्ने क्रममा भने मन्त्री प्रधानले आपराधिक गतिविधिबाट आर्जन भएको सम्पत्तिलाई भने करको दायरामा नल्याउने बताए । उनका अनुसार सम्पत्ति शुद्धीकरण वा अन्य सम्बद्ध कसुरमा संलग्न नभएको, कर छलीसम्बन्धी कसुर पनि नभएको अवस्थामा मात्र स्रोत खुलाउन नसकेको सम्पत्तिको हकमा कर निर्धारण गर्ने व्यवस्था गरिएको उनको भनाइ थियो ।

विधेयकले सम्पत्तिको स्रोत खुलाउन लगाउँदा त्यस्तो स्रोत खुलाउन नसकेको र अनुसन्धान गरिएको व्यक्तिउपर सम्बद्ध कसुर वा सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चल्ने अवस्था नदेखिएको अवस्थामा सोको अभिलेख राखी स्रोत खुलाउन नसकेको सम्पत्तिको हदसम्म कर निर्धारण तथा असुलीको लागि आन्तरिक राजस्व विभागमा लेखी पठाउनुपर्ने जनाएको छ ।

विभागले करसम्बन्धी कसुर गरे वा नगरेको एकीन गरी त्यस्तो कसुर गरेको नपाइएमा त्यस्तो व्यक्तिको सम्पत्तिलाई चालू आय वर्षको आय मानी प्रचलित कानुनबमोजिमको अधिकतम कर निर्धारण गरी असुल गर्नुपर्नेछ । तर करसम्बन्धी कसुर गरेको देखिएमा सो विभागले सो कसुरमा आफूले अनुसन्धान गर्नुपर्ने भए आफैँ अनुसन्धान गर्न र अनुसन्धान गर्ने निकाय अर्को रहेछ भने अनुसन्धानको लागि त्यस्तो निकायमा लेखी पठाउनुपर्नेछ ।

कर असुल गरिएको व्यक्तिको नाम, थर र ठेगाना विभागको वेबसाइटमा राखी निजको आय तथा राजस्वसम्बन्धी विवरण विभाग र वितीय जानकारी इकाइमा पठाउनुपर्ने व्यवस्था गरेको छ । यदि कर असुल गरिएको वा जफत गरिएको सम्पत्ति कुनै कसुरबाट प्राप्त भएको देखिएमा प्रचलित कानुनबमोजिम कारबाही गर्न वा मुद्दा चलाउन बाधा पर्नेछैन । उपदफा (३) बमोजिम सम्पत्तिको स्रोत खुलाउन लगाउँदा त्यस्तो स्रोत खुलाउन नसकेको र अनुसन्धान गरिएको व्यक्तिउपर सम्बद्ध कसुर वा सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चल्ने अवस्था नदेखिएको अवस्थामा सोको अभिलेख राखी स्रोत खुलाउन नसकेको सम्पत्तिको हदसम्म कर निर्धारण तथा असुलीको लागि आन्तरिक राजस्व विभागमा लेखी पठाउनुपर्नेछ ।

संशोधन बनेको ऐनको उपदफा (६) बमोजिम लेखी आएमा आन्तरिक राजस्व विभागले करसम्बन्धी कसुर गरे वा नगरेको एकीन गरी त्यस्तो कसुर गरेको नपाइएमा त्यस्तो व्यक्तिको सम्पत्तिलाई चालू आय वर्षको आय मानी प्रचलित कानुनबमोजिमको अधिकतम कर निर्धारण गरी असुल गर्नुपर्नेछ । तर करसम्बन्धी कसुर गरेको देखिएमा सो विभागले सो कसुरमा आफूले अनुसन्धान गर्नुपर्ने भए आफैँ अनुसन्धान गर्न र अनुसन्धान गर्ने निकाय अर्को रहेछ भने अनुसन्धानको लागि त्यस्तो निकायमा लेखी पठाउनुपर्नेछ ।

दफा ८ को उपदफा (७) बमोजिम कर असुल गरिएको व्यक्तिको नाम, थर र ठेगाना विभागको वेबसाइटमा राखी निजको आय तथा राजस्वसम्बन्धी विवरण विभाग र वित्तीय जानकारी इकाइमा पठाउनुपर्नेछ । ९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि उपदफा (७) बमोजिम कर असुल गरिएको वा जफत गरिएको सम्पत्ति कुनै कसुरबाट प्राप्त भएको देखिएमा प्रचलित कानुनबमोजिम कारबाही गर्न वा मुद्दा चलाउन बाधा पर्नेछैन । दफा १० मा कर अधिकृतले कर निर्धारण र कर परीक्षण गर्दा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तार वित्तीय लगानी निवारण सम्बन्धमा यस ऐनबमोजिम पालना गर्नुपर्ने शर्तको विषयमा आन्तरिक राजस्व विभागले मार्गदर्शन बनाई लागू गर्न सकिने व्यवस्था गरेको छ ।

संशोधन गर्न लागिएको ऐनले अवैध सम्पत्तिको साथै आतंककारी वा आमविनाशक हतियार लगायतमा लगानी, अस्वाभाविक आम्दानीको विषयमा समेत उल्लेख गरेको छ । जसमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रुपमा मात्र पालना गर्ने मनि अन्तर्राष्ट्रिय रुपमा पहिचान भएको मुलुकको ग्राहक पहिचान, कारोबार, सो सम्बन्धमा सूचक संस्थाले गर्नुपर्ने जोखिम मूल्यांकन सम्बन्धमा आवश्यक निर्देशन वा मापदण्ड जारी गर्ने र सोको पालना भए वा नभएको अनुगमन गर्ने उल्लेख गरिएको छ ।

दफा २८ मा सम्पत्तिको स्रोत खुलाउनुपर्ने उल्लेख गर्दै दफा १३ बमोजिम प्राप्त उजुरी वा विभागलाई अन्य कुनै माध्यमबाट प्राप्त जानकारीको आधारमा कुनै व्यक्तिउपर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा दफा १४ ‘क’को उपदफा १ बमोजिम सम्बद्ध कसुर भए वा नभएको सम्बन्धमा जाँचबुझ गर्दा सम्बद्ध कसुर भएको नेदखिएको तर त्यस्तो व्यक्तिको सम्पत्ति निजको आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा अस्वाभाविक देखिएमा वा निजले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखिएमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी चन्दा वा बकस दिएको वा कारोबार गरेको देखिएमा निजसँग त्यस्तो सम्पत्तिको स्रोत माग गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस ऐनबमोजिम कुनै व्यक्तिविरुद्ध परेको उजुरीको सम्बन्धमा अनुसन्धान अधिकारीले अनुसन्धान गर्दा प्राप्त प्रमाणबाट निजउपर कुनै कसुरमा मुद्दा चल्नसक्ने अवस्था नभएको तर त्यस्तो व्यक्तिको सम्पत्ति निजको आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा अस्वाभाविक देखिएको वा निजले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको वा आफ्नो हैसियतभन्दा बढी दान, दातव्य, उपहार सापटी चन्दा वा बकस दिएको वा कारोबार गरेको वा निजसँग ठूलो परिमाणमा नगद वा अन्य चल सम्पत्ति फेला परेको र सो परिमाणमा सम्पत्ति आय हुने वा कमाउन सक्ने कुनै व्यापार व्यवसाय वा नियमित आम्दानीको स्रोत भएको पाइएमा अनुसन्धान अधिकारीले आफ्नो रायसहित सो उजुरीसम्बन्धी मिसिल कागजात आवश्यक कारबाहीको लागि विभागमा पठाउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

सम्पत्तिको स्रोत नखोजिने सरकारी प्रयासले अवैधानिक धन भित्रिने र त्यसले मुलुकलाई जोखिमतर्फ धकेल्न भन्दै विज्ञहरुले भने यसको विरोध गर्दै आएका छन् । यसअघि पनि अवैधानिक धनलाई वैधता दिन सरकारी प्रयास गरिए पनि त्यसले पूर्णता प्राप्त नगरेको बताउँदै उनीहरुले यसले मुलुकलाई नै जोखिमतर्फ धकेल्ने बताउँदै आएका छन् ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया