पर्यटनको माध्यमवाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी
पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पु-याउन सकिने बताइन् ।
कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै र स्वावलम्बी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाइ छ । “सार्वजनिक रुपमा ध्यान पुग्न नसकेका धेरै ऐतिहासिक मठमन्दिर र पर्यटकीयस्थल मुलुकका विभिन्न स्थानमा छरिएर रहेका छन्”, उनले भनिन् , “स्थानीय, प्रदेश र सङ्घीय सरकारले अग्रसरता लिएर यस्ता स्थलको संरक्षण, सम्बर्द्धन र प्रचार गरेको खण्डमा त्यसको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायलाई हुनेछ ।”
जलजलाको जैविक विविधतायुक्त कालञ्जर पहाड, मल्लाज दरबार, फलामेडाँडालगायत पर्यटकीय, धार्मिक र ऐतिहासिकस्थलको पूर्वाधार विकासमा ध्यानाकर्षण भएको राष्ट्रपति भण्डारीले बताइन् । “प्रसिद्ध बराहताल संरक्षणका लागि समुदायस्तरबाट भएको प्रयासका लागि धन्यवाद दिन चाहन्छु”, उनले भनिन्,“पर्वत जिल्लाका पर्यटकीयस्थलको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको अनुभूत भएको छ ।” कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मुख्य सचिव शङ्करदास बैरागी, संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जलजला गाउँपालिकालाई धार्मिक पर्यटकीय गन्तव्य र कृषिको माध्यमबाट विकसित बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
लामिछाने र घर्ती क्षेत्री समुदायले रु एक करोड ५० लाखको लागतमा दुई वटा मन्दिर निर्माण गरेको आयोजकले जनाएका छन् । मन्दिर पुनःनिर्माणको मुख्यदाता रवीन्द्रजङग लामिछनेले रु. २५ लाख सहयोग प्रदान गरेको निर्माण समितिका नवीन जिसीले राससलाई जानकारी दिए । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपतिको भ्रमणले पर्यटकीय सम्भावनायुक्त बराहताल र हम्पाल कालञ्जर क्षेत्रको प्रचार तथा पहिचान दिलाउन सहयोग पुगेको बताए ।
समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरि हिमाल रहेका छन् । जनैपूर्णिमामा लाग्ने विशेष मेलामा पर्वतसहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला –२ का वडाअध्यक्ष प्रकाश जिसीले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया