काठमाण्डौं,वैशाख ७
बन्दाबन्दीका समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन् । प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा पाँच बलात्कारका घटना भएका छन् ।
त्यसपछि कपिलवस्तुमा चार, गुल्मी र बाँकेमा दुईदुई तथा रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा एकएक घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । बन्दाबन्दीमा बर्दियामा जर्बजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । घटनामा संलग्नलाई पक्राउ गरी जर्बजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
पछिल्लो एक हप्तामा रुपन्देहीमा तीन युवतीमाथि बलात्कार भएको उजूरी आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सैनामैना नगरपालिका तथा मर्चवारी र कञ्चन गाउँपालिकाका युवतीमाथि बलात्कार भएको हो । गत मंगलबार रुपन्देहीको सैनामैना १ मा १५ वर्षीयामाथि बलात्कार भएको हो । प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय मानबहादुर छहारीलाई पक्राउ गरेको छ । परिवारले दिएको किटानी जाहेरीका आधारमा सोही वडाबाटै छहारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
दिउँसो उनलाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको उहाँले बताउनुभयो । यस्तै चैत २९ गते सूर्यपुरा ९ मा बाबुले आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । एक वर्षदेखि बलात्कार गर्दै आएको बालिकाको बयानका आधारमा ४० वर्षीय उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही दिन मर्चवारीमा २२ वर्षीय युवतीमाथि बलात्कार भएको छ । बलात्कारका आरोपमा स्थानीयवासी १८ वर्षीय राजेश चौहानलाई प्रहरीले पक्राउ गरेको छ । सो अवधिमा घरेलु हिंसाका १२ मुद्दा दर्ता भएको प्रदेश प्रहरी प्र्रवक्ता पोखरेलले बताउनुभयो ।
घरेलु हिंसाका उजुरी धेरै परे पनि मुद्दा कम दर्ता भएका छन् । सबैभन्दा धेरै बाँके र दाङमा चारचार, रोल्पामा दुई र पाल्पामा घरेलु हिंसाका एक मुद्दा दर्ता भएका छन् । ३० को आत्महत्या बन्दाबन्दीमा आत्महत्याका घटना पनि भएका छन् । प्रदेशका पाल्पा र बाँकेबाहेक १० जिल्लामा ३० जनाले आत्महत्या गरेको रिपोर्ट आएको प्रहरीले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा नौ जनाले आत्महत्या गरेका छन् । त्यसपछि दाङमा छ र कपिलवस्तुमा चार जनाले आत्महत्या गरेका छन् । नवलपरासीमा तीन, अर्घाखाँची र रुकुममा दुईदुई तथा गुल्मी, बर्दिया, रोल्पा र प्युठानमा एकएक जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । बन्दाबन्दीमा एउटा यौन दुव्र्यवहारकोसम्बन्धी मुद्दा पनि दर्ता भएको छ । सो अवधिमा अर्घाखाँचीमा बालविवाह र बहुविवाहको एकएक वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।(रासस)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया