Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदिप्लीघाटको बेलिब्रिजको निर्माण कार्य सम्पन्न

दिप्लीघाटको बेलिब्रिजको निर्माण कार्य सम्पन्न


महेन्द्र शाही
सोलुखुम्बु, जेठ २६
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमानामा रहेको दिप्लीघाटमा निर्माण भइरहेको बेलिब्रिजको काम सम्पन्न भएको छ । वि.सं. २०७५ चैत १९ गतेदेखि निर्माण सुरु गरिएको बेलिब्रिज निर्माणको कार्य शनिबार सम्पन्न भएको हो । बेलिब्रिज निर्माणको काम अघिल्लो वर्षात्भन्दा पहिले नै सक्ने भनिए पनि एक वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको छ ।

दिप्लीघाटमा बेलिब्रिज निर्माण भएसँगै अब वर्षात्को समयमा पनि जिल्लाको सोताङ र महाकुलुङ गाउँपालिकासँग सिधा सवारी सञ्चालन हुनेछन् । यो ठाउँमा पुल नहुँदा वर्षात्को समयमा सोताङ र महाकुलुङका स्थानीय बासिन्दा जिल्ला सदरमुकामसँगको सम्पर्कबाट टाढा हुन्थे । बेलिब्रिजको काम यो वर्षको वैशाखमा नै सक्ने लक्ष्य रहे पनि लकडाउनले केही ढिलाइ भएको निर्माणको जिम्मा पाएको निश्चल निशानी सेवाका सञ्चालक दुर्गा राईको भनाइ छ ।

जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ र सोताङ गाउँपालिकामा अब बाह्रै महिना सवारी सञ्चालन हुनेछन् । बेलिब्रिज निर्माणका लागि प्रदेश १ सरकारको ४६ लाख, महाकुलुङ गाउँपालिकाको ५० लाख र सोताङ गाउँपालिकाको १ करोड बजेट खर्च भएको छ । यो पुललाई कोशी पारिएका दुई गाउँपालिकाको मेरुदण्डकै रुपमा हेरिएको छ ।

पुल निर्माण भएसँगै खाद्यान्नलगायत सामग्री पहिलेदेखि नै जोहो गरेर राख्नुपर्ने बाध्यताको पनि अन्त्य हुन महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीको भनाइ छ । यो पुलका लागि आफूहरुले निकै मिहिनेत गरेको सफल भएको उनले बताए । बेलिब्रिज निर्माण भएको स्थानमा मोटरेबल पुलको लागि पनि संघीय सरकारले बजेट छुट्याएकाले मोटरेबल पुल नबन्दासम्मका लागि यो पुल प्रयोग हुनेछ । वर्षात्को समयमा उत्पादन भएका कृषि उपजलाई पनि जिल्ला सदरमुकाम ल्याउन समेत सहज हुने स्थानीयको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x