Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधढोका छुँदा नै युवामाथि कुटपिट

ढोका छुँदा नै युवामाथि कुटपिट


महेन्द्र शाही
सोलुखुम्बु, असार ७
सोलुखुम्बुमा एक दलित बालक कुटपिटका कारण सख्त घाइते भएका छन् । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ९ सिसाखोलामा एकजना दलित बालकले ढोका छोएको निुहँमा निर्घात कुटपिट भएपछि उनी सख्त घाइते भएका हुन् । जेठ ३१ गते स्थानीय तारा थापामगरको घरमा पुगेका १६ वर्षीय बालक दिपक विश्वकर्माले मगरको घरको ढोका छोएको भन्दै निज तारा थापामगर र २७ वर्षीय श्याम थापामगरले कुटपिट गरेको पीडितको भनाइ छ । पीडित विश्वकर्माका अनुसार निर्माण हुँदै गरेको तारा थापामगरको घरको ढोकामा बसेकै भरमा मगरद्वयले फलामको हतौडीले ढाड, टाउकोलगायतका स्थानमा कुटपिट गरेका हुन् । उनीहरूले ‘कामी भएर नयाँ घरको ढोका छुन्छस्, अब सबै अशुभ हुने भयो’ भन्दै कुटपिट गरेको पीडित विश्वकर्माको दाबी छ ।

कुटपिटबाट दिपकको ढाड, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । तल्लो जातको मान्छे भएर ढोका छोएको भन्दै जातीय छुवाछुतविरुद्धका अपमानजनक शब्द प्रयोग गर्दै बालकमाथि मुक्का र फलामको रडले प्रहार गरेको प्रत्यक्षदर्शी दिपेन्द्र रानामगरले बताए । कथित तल्लो जात भएकै कारण बालकमाथि निर्घात कुटपिट भए पनि आफूले त्यस्तो नगर्न आग्रह गरेको प्रत्यक्षदर्शी मगरको भनाइ छ ।

उनको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको पीडित बालकका बाबु नीरबहादुर विश्वकर्माले बताए । तर घटनालाई लुकाउन पत्ताले प्रहरी चौकी र पीडक पक्षको निरन्तर दबाबमा असार १ गते गाउँमै मिलापत्र गराएको पीडित पक्षको दाबी छ । आफ्ना नाबालक छोरालाई जातकै आधारमा मरणासन्न हुनेगरी कुटपिट गरे पनि आफुले न्याय पाउन नसकेको पीडितको भनाइ छ । पीडक मगरले स्थानीय अगुवाहरूको समेत सहयोगमा आफूहरूलाई कानुनले केही गर्न नसक्ने भन्दै जबरजस्ती मिलापत्र गराएको पीडितका बुबा निरबहादुर विश्वकर्माले गुनासो गरे । जिल्ला प्रहरी कार्यालयले समेत जाहेरी लिन इङ्कार गरेर वडा कार्यालयमै मिलापत्र गर्न दबाब दिएको पीडितको भनाइ छ ।

घाइतलाई अस्पताल लैजाँदाको गाडीभाडा १० हजार र अस्पतालमा खर्च भएको १० हजार तीन सय गरी २० हजार तीन सय रूपैयाँ खर्च पीडकले उपलब्ध गराएर जबरजस्ती मिलापत्र गराएको स्रोतको दाबी छ । वडा अध्यक्ष काजी शेर्पाले जातीय छुवाछुतका कारण भएको घटनालाई कानुनी उपचार खोज्नुपर्ने सुझाव दिए पनि आफूलाई जानकारी नै नगराई मिलापत्र गराएको बताए । तर यता पीडक तारा थापामगरले भने आफूले जातीय छुवाछुत नगरेको दाबी गरेका छन् । उनले आफूले बालकलाई कुटपिट गरेको स्वीकार गर्दै जातीय कारण कुटपिट नगरेको दाबी गर्दै आएका छन् ।

गत वैशाख २७ गते बाटो हिँड्ने क्रममा सोलुखुम्बु तिङ्लाका मिनबहादुर नेपालीलाई तल्लो जातको मानिस अगाडि हिँडेको भन्दै गाली बेइज्जत गरेको कसुरमा प्रहरीले स्थानीय ३१ वर्षीया संगिता राईलाई पक्राउ गरेको थियो । जातीय विभेदअन्तर्गत जिल्ला अदालतमा मुद्दा पनि दायर भयो । तर, केही दिनमै पीडक राईलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा एक हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x