Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबन्द भएको साढे तीन महिनापछि सार्वजनिक यातायात खुल्यो

बन्द भएको साढे तीन महिनापछि सार्वजनिक यातायात खुल्यो


काठमाडौं, असार २६
सरकारले बन्द भएको साढे तीन महिनापछि छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । विश्व महामारी कोरोना संक्रमण फैलिने डरले गत वर्ष चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक सवारी साधन आंशिक रुपमा सञ्चालन गर्न दिने निर्णय भएको हो ।

यही असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी साधन चल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । अब कोरोनाको संक्रमण हुने जोखिमलाई न्यून गर्दै सम्पूर्ण सुरक्षाका मापदण्ड पूरा गरेर सवारी साधनमा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्न पाइनेछ ।

काठमाडौँ उपत्यकाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न सक्नेछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्नुपर्ने भएकाले केही दिन लाग्नसक्ने तर ट्याक्सीका हकमा भने तत्कालैबाट चल्नसक्ने जानकारी दिए । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को संक्रमण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ २८ गते र असार १५ गतेको निर्णयानुसार संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भएको आदेशमा केही हेरफेर गरिएको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए  ।

काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन सञ्चालन हुन सक्नेछ । ट्याक्सीमा चालकबाहेक थप दुई जनासम्म र परिवारभित्रका पाँच वर्षसम्मका बालबालिका मात्र सवार हुने र जोर–बिजोर प्रणाली भने कायम रहनेछ । जोरविजोर प्रणाली मोटर साइकलका हकमा समेत लागू हुनेछ । सरकारले तोकेअनुसार आगामी साउन ६ गतेसम्मका लागि मात्रै ट्याक्सीबाहेक अन्य सवारी साधनका हकमा तोकिएको भाडा दरको ५० प्रतिशतसम्म थप भाडा लिन पाइने राससले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया