Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसवारीसाधनले मनपरी भाडा असुलेको भन्दै प्रशासनलाई ज्ञापनपत्र

सवारीसाधनले मनपरी भाडा असुलेको भन्दै प्रशासनलाई ज्ञापनपत्र


आशिष बहादुर सिंह
बझाड., साउन २६
बझाङ जिल्लामा चल्ने छोटो दूरीका सवारीसाधन जिपहरुले मनपरी भाडा असुलेको भन्दै अनेरास्वुवियुले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा सञ्चालन भइरहेका जिप चालकले मनपरी भाडा लिँदा यात्रुलाई समस्या भएको भन्दै अनेरास्ववियुले उक्त सवारीसाधनलाई कारबाहीको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।

सरकारले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्ने र ५० प्रतिशत नै बढाएर भाडा लिने गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि जिल्लामा सञ्चालन हुने साना सवारीसाधनले दोब्बर भाडामा क्षमताभन्दा दोब्बर यात्रु ओसार्ने गरेका छन् । स्थानीय प्रशासनले सिट क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न निर्देशन दिए पनि यातायात व्यवसायीले एक जीपमा १५ देखि २० जनासम्म यात्रु बोक्ने गरेको पाइएको छ ।

कोरोना भाइरस संक्रमणको बेला पनि यातायात व्यवसायीले न्यूनतम सुरक्षा मापदण्ड नअपनाएको, मनपरी भाडा असुलेर क्षमताभन्दा दोब्बर यात्रु राखी असुरक्षित यात्रा गर्न बाध्य पारेको र सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरेको ज्ञापनपत्रमा उल्लेख छ । यातायात व्यवसायीले सरकारले तोकेको सुरक्षा मापदण्ड लागू गर्नुपर्ने मनपरी भाडा घटाउनुपर्ने, यात्रुलाई टिकटको व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

अनेरास्ववियुका जिल्ला संयोजक प्रविन्द धामी र सह संयोजक देवीजंग सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना माग सम्बोधन नभए कडा संघर्षमा उत्रिने र त्यसबाट पर्ने असरको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने उल्लेख छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया