Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपर्साको सामुदायिक विद्यालयमा आइसोलेसन सञ्चालन

पर्साको सामुदायिक विद्यालयमा आइसोलेसन सञ्चालन


सन्तोष पौडेल
बीरगञ्ज, भदौ १८
शिक्षा मन्त्रालयले विद्यालयमा आइसोलेसन नबनाउन र बनेका आइसोलेसन बन्द गर्न निर्देशन दिए पनि पर्साको केही स्थानीय तहमा अहिले पनि विद्यालयहरूमा आइसोलेसन सञ्चालन भइरहेको छ । पर्सागढी नगरपालिकाले तयार गरेको पाँचवटा आइसोलेसन केन्द्रमध्ये तीनवटा आइसोलेसन अहिले पनि विद्यालयमा छ । नेपाल आधारभूत विद्यालय हरपुर, नेपाल राष्ट्रिय मावि बडेर्वा, नेपाल राष्ट्रिय मावि बर्वाछोटैली गरी तीनवटा विद्यालयमा आइसोलेसन बनाइएको छ ।

नगरपालिकाले तयार गरेको होटल कुमु प्यालेसको आइसोलेसन भरिभराउ भएको र संक्रमितहरू बढ्दै गएपछि नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्रसहित तीनवटा विद्यालयमा भर्खरै आइसोलेसन तयार गरिएको हो । शिक्षा संयोजक प्रदीप चौरसियाले पाँचवटै आइसोलेसनमा ७२ जना संक्रमित रहेको बताए । उनले कोरोना संक्रमण सुरू भएलगत्तै नगरपालिकाले साना किसान सहकारी संस्थाको बन्द भवनमा ५० शैय्याको आइसोलेसन तयार गर्दा स्थानीयले विरोध गरेपछि रोकिएको बताए । उनले खाली ठाउँमा आइसोलेसन केन्द्र बनाउन सकेको भए विद्यालय प्रयोग गर्नुपर्ने अवस्था नआउने बताए ।

यसैगरी पटेर्वा सुगौली गाउँपालिकामा पनि एउटा विद्यालयमा आइसोलेसन बनेको छ । नेरा आधारभूत फरहदवामा १० शैय्याको आइसोलेसन बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए । उनले शिक्षा मन्त्रालयको परिपत्र गापाको कार्यालयमा नआएको बताए । उनले विद्यालयमा आइसोलेसन नराख्न निर्देशन आएको खण्डमा गापा अन्यत्र राख्न सक्षम भएको पनि बताए । उनले तत्काल १० शैय्याको आइसोलेसन विद्यालयको एउटा कक्षमा बनाइएको र विद्यालय सञ्चालन गर्नुपर्दा निसंक्रमित गरेर विद्यालय सञ्चालन गर्न सकिने बताए ।

सखुवापरसौनी गापामा भने दुईवटा विद्यालयमा सञ्चालित आइसोलेसन हटाइएको छ । गापाको महुवन स्वास्थ्य चौकी भवन तयार भएपछि सोही भवनमा आइसोलेसन बनाइएको छ । स्वास्थ्य चौकी निर्माण हुनु पहिले दीपनारायण नमुना आदर्श मावि र मोहन आदर्श आधारभूत विद्यालय श्रीपुर पचगावाँमा आइसोलेसन थियो । सूचना अधिकारी राजेश रौनियारले स्वास्थ्य चौकीको आइसोलेसनमा ६ जना संक्रमित रहेको र विद्यालयको आइसोलेसन संक्रमितको अभावमा बन्द गरिएको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x