Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसंसद् भवन निर्माण कार्य सुस्त

संसद् भवन निर्माण कार्य सुस्त


काठमाडौं ।
सिंहदरबारभित्र निर्माण भइरहेको संघीय संसद् भवनको निर्माणकार्य सुस्त गतिमा भइरहेको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले आफूअन्तर्गत निर्माण भइरहेको संघीय संसद् भवनको काम जम्मा १२ प्रतिशत मात्रै भएको छ ।

भवनको गत असोज १ गते प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए । चालू आवमा २५ प्रतिशत प्रगति गर्ने योजना भए पनि हालसम्म करिब १२ प्रतिशत मात्र प्रगति भएको संघीय संसद् भवन आयोजना प्रमुख प्रकीर्ण तुलाधरले जानकारी दिए । सो परियोजनाको अवधि २०७९ असोज १५ सम्म छ । आयोजना प्रमुख तुलाधरले कोभिड संक्रमणको कारण निर्माणसम्पन्न हुन केही ढिलो हुनसक्ने बताए ।

यद्यपि तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई दबाब दिइरहेको उनले बताए । छठलगत्तै करिब एक हजार मजदुर परिचालन गरी तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य लिएको उनको भनाइ छ । दुई सिफ्ट गरेर भए पनि २४ घण्टा काम गर्ने गरी तयारी भइरहेको उनले बताए । सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाल सिंहले गुणस्तरमा कुनै कम्परमाइज नहुने गरी योजना अघि बढिरहेको बताए ।

प्रधानमन्त्री केपी ओलीको कार्यकालमा संसदको अन्तिम बैठक बस्न मिल्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको उनले बताए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले कोभिडको कारण काम गर्न केही समस्या भएको भन्दै अब जस्तो परिस्थिति भए पनि कामलाई निरन्तर रुपमा अघि बढाउने बताए । सिंहदरबारको पुतली बगैँचामा १ सय ७३ रोपनी क्षेत्रफलमा प्रतिनिधिसभा, राष्ट्रियसभा, अतिविशिष्ट व्यक्तिको कार्यालय भवन, संसदीय दल, समिति, सचिवालय, चमेनागृह र प्रिन्टिङ प्रेस भवन रहनेछ । भवन परिसरमा सात सय सवारी पार्किङ गर्ने व्यवस्था रहेको छ ।

त्यसैगरी सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ललितपूरको भैँसेपाटीमा संघीय मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माण गरिरहेको छ । गत कातिक २७ बाट सम्झौता भएर आगामी वर्ष २७ गते सम्पन्न गर्ने गरी तयार भएको २४ वटा मन्त्री निवास, उपसभामुख, राष्ट्रियसभाको अध्यक्षको भवनको लागत १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । यसैगरी मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको लागत ७२ करोड ४७ लाख रुपैयाँ छ ।

सो परियोजनाका साइड इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले कोभिडको कारण केही समय समस्या आए पनि हाल निर्माणकार्य सन्तोषजनक रहेको जानकारी दिए । द्ुवै परियोजनाको बारेमा जानकारी गराउँदै सहरी विकास मन्त्रालयका सचिव डा. रमेश कुमार सिंहले परियोजना गुणस्तर खस्किन नदिन निगरानी बढाउनुपर्ने बताउँदै गुणस्तरमा गम्भीर हुनुपर्ने बताए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले दुवै परियोजना तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको बताए ।

यसअघि सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले समेत संघीय संसद् भवन, संघीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास भवन निर्माणकार्यको निरीक्षण गरेका थिए । आयोजनाको निरीक्षण गर्न गत आइतबार निर्माणस्थल पुगेका उनले तोकिएकै समयमा निर्माणसम्पन्न गर्न निर्देशन दिएका थिए । गुणस्तरमा कुनै कमी कमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण गर्न सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया