Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकञ्चनपुरको ब्रह्मदेवमा बहुसांस्कृतिक संग्रहालय निर्माण

कञ्चनपुरको ब्रह्मदेवमा बहुसांस्कृतिक संग्रहालय निर्माण


काठमाडौं ।
जिल्लाको भीमदत्त नगरपालिका–९ स्थित मुख्य धार्मिक पर्यटकीय स्थल ब्रह्मदेवमा बहुसांस्कृतिक संग्रहालयको निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको चार करोडको लगानीमा उक्त सांस्कृतिक संग्रहालय निर्माण भएको हो ।

सुदूरपश्चिम प्रदेशभरि रहेका नौवटै जिल्लाका भेषभूषालाई संरक्षण गरी अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रचारप्रसार गर्न ब्रह्मदेवमा संग्रहालय निर्माण गरिएको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका वडाध्यक्ष राम नाथले जानकारी दिए । उनका अनुसार बहुसांस्कृतिक संग्रहालयको भवन निर्माणको काम सकिए पनि अन्य निर्माणको कार्य भने सम्पन्न हुने चरणमा रहेको छ । संग्रहालयभित्र सुदूरपश्चिम प्रदेश क्षेत्रको कला, संस्कृति, भेषभूषा, पहिरन, खानपान, रहनसहन, रीतिरिवाज तथा हराउँदै गएको परम्परालाई स्थापित गरिने उनले बताए ।

बहुसांस्कृतिक संग्रहालय आधुनिक तवरले दुई तलाको निर्माण गरिएको छ । भवन निर्माण कार्य सम्पन्न भए पनि संग्रहालयभित्र राखिने सामग्री भने राखिएको छैन । संग्रहालयको भवनको सम्पूर्ण कार्य सकेपछि मात्रै अन्य थप काम गरिने वडाध्यक्ष नाथले बताए । अहिले मार्बल बिच्छ्याउने, विद्युत् जडान गर्ने कार्य पनि अन्तिम चरणमा रहेको छ । संग्रहालय निर्माण सम्पन्नपश्चात् भने सुदूरपश्चिम क्षेत्रमा हराउँदै गएको कला, संस्कृतिको पनि पहिचान हुनेछन् । महाकाली किनार नजिकै निर्माण भएको संग्रहालयलाई भारतीय पर्यटकको मुख्य आकर्षणको बिन्दुको रूपमा पनि हेरिएको छ ।

‘महाकाली नदी किनारसँग जोडिएको भारतको टनकपुर तथा नेपालको ब्रह्मदेव बजार एकआपसमा धार्मिकरुपले जोडिएका बजार हुन्, ब्रह्मदेव बजारमा महादेवको आस्थाको केन्द्र सिद्धनाथ मन्दिर छ भने महाकाली नदीपारि टनकपुर बजारसँगै जोडिएको क्षेत्रमा सत्यदेवीको आस्थाको केन्द्र पूर्णागिरी मन्दिर रहेको छ ।’ वडाध्यक्ष नाथले भने, ‘धार्मिक पर्यटन पवद्र्धन गर्न पनि बहुसांस्कृतिक संग्रहालयले महत्वपूर्ण टेवा पुग्छ, भारतीय धार्मिक पर्यटकको लागि ब्रह्मदेव क्षेत्र महत्वपूर्ण क्षेत्र भएकोले पनि धार्मिक पर्यटन क्षेत्र पवद्र्धन गर्नको लागि यसले महत्पूर्ण टेवा पु¥याउनेछ ।’ ब्रह्मदेव क्षेत्र भनेको भारतसँग सीमा जोडिएको क्षेत्र हो ।

भारतको पूर्णागिरि दर्शन गरेर ब्रह्मदेवमा अवस्थित शिद्धबाबाको मन्दिरमा अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक मान्यता भएकाले पनि संग्रहालयको धेरै ठूलो सम्भावना छ । संग्रहालय स्थापनापश्चात् भारतीयसँगै अन्य विदेशी र आन्तरिक पर्यटकको पनि मुख्य आकर्षण बन्ने विश्वास रहेको नाथले बताए । भारतसँग सीमा जोडिएको ब्रह्मदेवमा फागुन होली पूर्णिमादेखि असार महिनाको पूर्णिमासम्म पूर्णागिरि मेला लाग्ने गर्छ । झन्डै चार महिना लाग्ने पूर्णागिरि मेलामा दैनिक २० देखि ३० हजारको संख्यामा भारतीय धार्मिक पर्यटक आउने गर्दछन् ।

समाज विकाससँगै समाजिक परम्परा पनि फेरिँदै गएका छन् । पुराना संस्कार संस्कृतिको पहिचानलाई गुमाउँदै नयाँ पिँढीले पश्चिमी संस्कृति अवलम्बन गर्दै गएको अवस्था छ । समाज रुपान्तरण भएको बेला सामाजिक मूल्य र मान्यतालाई पुरानै अवस्थामा टिकाउनको लागि बहुसांस्कृतिक संग्रहालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विस्वास रहेको वडाध्यक्ष नाथको भनाइ रहेको छ । ‘हाम्रो मुलुक भनेको संस्कृतिको धनी मुलुक हो, त्यसमा पनि सुदूरपश्चिम मुलुककै संस्कृतिको धनी प्रदेशको नमूना क्षेत्र पनि हो ।,

सुदूर क्षेत्रमा तराईदेखि पहाड तथा हिमालसम्म संस्कृतिले भरिएको छ, यसलाई जगेर्ना गर्र्नु आजको आवश्यकता पनि हो, यसलाई केही हदसम्म परिपूर्ति गर्नमा बहुसांस्कृतिक संग्रहालयले पहिचान गुमाएको संस्कृतिलाई जीवन्त प्रदान गर्न मदत गर्नेछ’, वडाअध्यक्ष नाथले भने, ।

प्रदेशसँगै वडाको पनि धार्मिक पर्यटन क्षेत्रको गौरवको विषय भएकाले वडाले पनि धार्मिक पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने विभिन्न योजना बनाएको अध्यक्ष नाथको भनाइ छ । संग्रहालय स्थापना भएपछि कला, संस्कृति झल्कने पुराना भेषभूषालगायत सामग्रीहरूलाई राखेर सांस्कृति जर्गेना गर्ने एउटा नमूना प्रयास हुने यहाँका स्थानीयवासीले पनि अपेक्षा लिएका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया