Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा उपप्रधानमन्त्रीको चासो

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा उपप्रधानमन्त्रीको चासो


काठमाडौँ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालाका विषयमा चासो लिएका छन् । क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई बिहीबार सिंहदरबारमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्नसक्ने सहयोगका विषयका छलफल गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताएका छन् । साथै उनले प्रेरणादायी, प्रशंसनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेसनको प्रशंसा समेत गरे । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ’, उनले भने ।

उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाबारे चासो लिएपछि धुर्मुसले टुहुरोजस्तो भएको बेला आफैँले बोलाएर चासो लिएकोमा सरकारलाई धन्यवाद दिए । ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौँ, धेरैपटक बूढाबूढी रोएका छौँ’, उनले पोखरेललाई भने ।

अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोडभन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको उनले जानकारी दिए । रकमको जोहो भए छ महिनादेखि एक वर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले बताए । उनले भने, ‘हाम्रो कुनै स्वार्थ छैन, विशुद्ध कलाकार हो । जे गरेका हौँ, राष्ट्रका लागि गरेका हौँ । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौँ । सहयोगी मनहरुको सद्भावले अगाडि बढ्न धेरै ठूलो ऊर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया