Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधफागुनदेखि सुपरदोर्दी ‘ख’को बिजुली राष्ट्रिय प्रसारण लाइनमा

फागुनदेखि सुपरदोर्दी ‘ख’को बिजुली राष्ट्रिय प्रसारण लाइनमा


लमजुङ ।
आगामी फागुनदेखि सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माणकार्य सकेर आगामी फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो ।

निर्माणकार्य तीव्र भएकाले आगामी फागुनमा बिजुली उत्पादन गर्ने आयोजना साइट इन्चार्ज रमेश सिग्देलले बताए । उनले भने, ‘८५ प्रतिशतभन्दा बढी निर्माणकार्य सकिएको र बाँकी काम निर्धारित समयमै सक्ने लक्ष्य छ ।’ पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको यस आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो हो । यस आयोजनाको हालसम्म दुई सय २७ मिटर ठाडो पाइप खन्ने काम सकिएको छ जसमा ३७ मिटर पाइप बिच्छ्याइसकेको छ । त्यस्तै, दुई हजार एक सय मिटरको सुरुङको आधा काम सम्पन्न भइसकेको छ ।

एक हजार चार सय मिटर सुरुङको फिनिसिङ कार्य भइरहेको र आगामी पाँच÷६ दिनभित्र सम्पन्न हुने इन्चार्ज सिग्देलले बताए । यस्तै, एक हजार छ सय मिटरको सुरुङको समेत काम भइरहेको छ । यस सुरुङको चार सय २० मिटर सुरुङ खन्न बाँकी छ । आगामी जेठभित्र सुरुङ इनटेकको बाहिरी काम सम्पन्न हुने जनाइएको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसको केही काम भइरहेको छ । यस पावर हाउसको सात मिटर चौडाइ र ५० मिटर लम्बाइमा पर्खाल लगाउने काम सकिएको छ ।

पावर हाउसको सबै काम गरेर ६० प्रतिशत निर्माण सकिएको छ । आयोजनामा हाल चार सय जना कामदार कार्यरत छन् । विविध कारणले निर्माणकार्यमा ढिलाइ भएपछि २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको छ । आयोजनाको कुल लागत आठ अर्ब ८० करोड रूपैयाँ छ ।

सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र २७ करोड रूपैयाँ लगानी रहेको छ । आयोजनाले सुक्खायाममा आठ रूपैयाँ ४० पैसा र वर्षायाममा चार रूपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पीपीए) सम्झौता भएको छ ।

यस आयोजना निर्माण भइरहेको दोर्दी खोला अर्थात् दोर्दी करीडोरमा यसबाहेक चारवटा आयोजना निर्माणाधीन छन् । सोमध्ये हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२ दशमलव एक मेगावाटको दोर्दी–१ र छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया