Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपैदलमार्ग हुँदै २० हजार पर्यटक जट्टापोखरी र पाँचपोखरीमा

पैदलमार्ग हुँदै २० हजार पर्यटक जट्टापोखरी र पाँचपोखरीमा


दोलखा । चारैतिरबाट पहाडले घेरेको ठाउँको बीचमा प्राकृतिक रूपमा बनेका निकै सुन्दर पोखरी देख्दा जो कोहीलाई निकै आनन्द आउने गर्दछ । रामेछाप र दोलखा जिल्लाको सिमानामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल जट्टापोखरी र पाँचपोखरी त्यही सुन्दर ताल हुन्, जहाँ मानिसहरु १२ घण्टाको पैदलमार्ग यात्रा गरेर मनोरम दृश्य हेर्न पुग्छन् । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण यस क्षेत्र पोखरी नै पोखरी छन् । यस क्षेत्र धार्मिक ऐतिहासिकसँगै बहुमूल्य जडीबुटी पाइने क्षेत्रको रुपमा पनि परिचित छ ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर १ स्यामा र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर–१ चुचुरेको सिमानामा रहेकोे पाँच पोखरी पाँचवटा कुण्ड मिलेर बनेको छ । समुद्री सतहदेखि चार हजार छ सय पाँच मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरी र चार हजार दुई सय ५० मिटर उचाइमा रहेको जट्टापोखरीमा मानिसहरु विशेषगरी जनैपूर्णिमाको अवसर पारेर जाने गरेका छन् । यस वर्ष यहाँ २० हजारभन्दा बढी पर्यटक करिब १२ घण्टाको पैदलमार्ग हुँदै पोखरी पुगेको गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले जानकारी दिए । साउन दोस्रो सातादेखि नै जट्टापोखरी तथा पाँचपोखरी जाने मान्छेहरुको चहलपहल देखिन्छ । यस वर्षको जनैपूर्णिमा अर्थात् साउन २७ गतेसम्म २० हजार पैदलयात्री दोलखाको जिरी र रामेछाप जिल्लाको ठोसे, शिवालय, गर्जाङ, गुम्देल, भण्डार हुँदै पाँचपोखरी र जट्टापोखरी खड्काको भनाइ छ ।

खिम्ति खोलाको शिरमा रहेको पाँच पोखरी र जटापोखरी धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेकोे अध्यक्ष खड्काले बताए । दोलखा र रामेछाप जिल्लाको उत्तरी खण्डको उच्च लेकमा रहेका पोखरीमा वर्षौँदेखि पैदलमार्ग हुँदै नेपालका प्रायः सबै जिल्लाबाट पर्यटकहरु दर्शन गर्न पुग्ने गर्छन् । यहाँका छवटा पोखरी घुम्ने पर्यटकहरुको संख्यामा पछिल्लो समय वृद्धि समेत हुँदै आएको छ । गत वर्षको तुलनामा यस वर्ष पोखरीमा दर्शन गर्न आउने आन्तरिक पर्यटक वृद्धि भएको खड्काको भनाइ छ । गत वर्ष जट्टापोखरी र पाँचपोखरीको भ्रमण गर्न करिब १२ हजार पर्यटक पुगेका थिए भने यस वर्ष दोब्बरले आन्तरिक पर्यटक वृद्धि भएका हुन् ।

सडक र विद्युत् विस्तार हुन नसके पनि वर्षेनी पर्यटकहरु पैदलमार्ग हुँदै पवित्र धार्मिंक स्थल पोखरीमा जाँदै आएका छन् । पछिल्लो समय रामेछापको गोकुलगंगा गाउँपालिकाले पोखरीलाई पर्यटकीय रूपमा थप विकास गर्न र यहाँ पुग्नको लागि सहज बनाउन बजेट छुट्याएको छ । पैदलमार्ग र सडकलाई थप व्यवस्थित गर्न चालू आर्थिक वर्षमा तीन करोड बजेट विनियोजन गरेको हो । हाल पालिकाले वडा नम्बर एकको चुचुरे– खरे कसैँ खण्डगा हुँदै पोखरीभन्दा केही तलसम्म छ किलोमिटर सडक विस्तार गर्न बजेट विनियोजन गरेको अध्यक्ष खड्काले बताए ।

पालिकाले आगामी वर्षमा पनि पोखरीसम्म पुग्न हेलिप्याड निर्माण गर्ने योजना बनाएको छ । चुचुरेबाट छ किलोमिटर सडक निर्माण भएपछि तीन घण्टाको पैदल हिँडेर धर्मावलम्बी भक्तजन तथा पर्यटकहरु सहज रूपमा पोखरी पुग्नसक्ने गाउँपालिकाले जनाएको छ । निकै विकट र उच्च लेकमा रहेका यहाँका पोखरी पुग्न अहिले करिब १२ घण्टाको उकालो पैदल हिँड्नुपर्छ । साथै यस क्षेत्रमा लोडसल्ला, चिराइतो पाखनवेद, ठूलो ओखती, पाँच औँले, जटामसी, सुनापति, विषमारलगायतका जडीबुटी प्रचुर मात्रामा पाइन्छ । कतिपय मानिसहरु जनैपूर्णिमा मेलाको अवसर पारेर यिनै जडीबुटी लिन समेत पोखरी पुग्ने गर्छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया