Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपाल वायुसेवा निगमका विमानमा किन दोहोरिन्छ समस्या ?

नेपाल वायुसेवा निगमका विमानमा किन दोहोरिन्छ समस्या ?


काठमाडौं,एक साताभित्रै नेपाल वायुसेवा निगम (एनएसी) प्राविधिक र व्यवस्थापकीय कमजोरी देखिनेगरी तीनवटा घटनामा विवादित बनेको छ।यात्रुहरूलाई प्रत्यक्ष मर्का पर्नेगरी भएका ती घटनालाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सचेत गराउँदै निगमसँग स्पष्टीकरण सोधिएको जनाएको छ।

प्राधिकरण प्रवक्ता जगन्नाथ निरौला भन्छन्, “उडानका आधारभूत कुरामा निगमको बारम्बार व्यवस्थापकीय कमजोरी देखिएको छ जसमा सुधार आवश्यक छ।”

निगमका प्रवक्ता पछिल्ला घटनाको मूल कारण थोरै विमान हुनु रहेको बताउँछन्।”जसले गर्दा एउटा विमानमा समस्या आउँदा धेरैतिर प्रभाव देखिन्छ।”हाल निगमसँग दुई वाइडबडी (ठूला आकारका) र दुई न्यारोबडी जहाजहरू छन्।

जगेडामा पाइलट भएनन्
चैत १८ मा काठमाण्डूबाट दुबई उड्नुअघि सहचालकले आफू बिरामी भएको जनाएपछि उक्त रूटमा दुईतर्फी टिकट काटेका करिब ५०० यात्रुहरूले सास्ती बेहोरे।

त्यस्तो अवस्थाका लागि अर्को पाइलटको उपलब्धता नहुँदा बोर्डिङ पास लिएर उड्न ठिक्क परिसकेका यात्रुहरूले समेत १२ घण्टा थप कुर्नुपर्ने परिस्थिति बन्यो।

“चालक दल नै जगेडामा रहने व्यवस्था रहे पनि त्यस दिन वाइडबडीका चारजना एकैपटक सिम्यूलेटर तालिमका लागि बाहरेन गएका रहेछन्,” प्रवक्ता पौडेल भन्छन्।

“जगेडामा रहनेगरी व्यवस्थापन गरिनुपर्नेमा त्यस पक्षलाई बेवास्ता गरिएको रहेछ।”आफ्नो यात्रा योजनामा अवरोध पुर्‍याएपछि बिचल्लीमा परेका यात्रुहरूले विमानस्थलमा नाराबाजी गर्ने परिस्थिति बन्यो।

क्यान प्रवक्ता निरौलाले “जगेडामा विमान चालकहरू हुनुपर्ने सामान्य कुरामा पनि निगमले हेलचेक्र्याइँ गरेको” बताउँछन्।कोभिडको समयमा अस्थायी रूपमा ल्याइएका विदेशी पाइलटहरू फर्काउँदा जनशक्तिको कम नै रहेको अवस्था सिर्जना भएको निगमले जनाएको छ।

वाइडबडीका लागि निगमसँग हाल नौ जना क्याप्टेन र सात जना सहचालक उपलब्ध छन्।त्यसको कारण र घटना थप नदोहोरियोस् भन्नका लागि भन्दै निगमले आन्तरिक रूपमा एक छानबिन समिति गठन गरेको जनाएको छ।

चाहिँदा पाङ्ग्रा पनि भएन
काठमाण्डू आउनका लागि यात्रुहरू विमानस्थल आइसक्दा चैत १७ मा समेत दिल्लीमा उनीहरूले सास्ती खेपे।एनएसीको त्यहाँ रहेको विमानको पाङ्ग्रामा समस्या आएपछि त्यसलाई फेर्नका लागि निगमसँग जगेडा टायर नभएपछि यात्रुहरू होटलमा लगेर राखिए।

झन्डै एक दिनपछि बल्ल उनीहरू उड्न पाए।त्यसका लागि कतार एअरवेजसँग निगमले सापटीका रूपमा दुईवटा टायर मागेर उड्नुपरेको थियो।

काठमाण्डूबाहेक निगम उड्ने कुनै पनि गन्तव्यमा त्यस्तो वैकल्पिक व्यवस्था नरहेको निगमले जनाएको छ।निगमका प्रवक्ता रमेश पौडेलले खर्चिलो हुने भएकाले पाङ्ग्रासहितका सबै पाटपुर्जा काठमाण्डूमा मात्र राख्ने गरिएको बताउँछन्।”केही पर्दा अन्य विमान कम्पनीहरू र त्यहीँको व्यवस्थापनबाट सापटीमा काम चलाउने भनेर सम्झौता नै गरिएको हुन्छ।”
नवीकरण नगर्दा मलेशिया उडानमा सकस

साप्ताहिक रूपमा पाँचवटा उडान गर्दै आएको मलेशियाको क्वाललम्पुर गन्तव्यका लागि निगमले समयमै विदेशी वायुसेवाले उक्त देशमा उडान गर्नका लागि लिनुपर्ने प्रमाणपत्र एफएओसी नलिँदा चैत १४ पछिका दुई दिन त्यहाँ नियमित उडान हुन सकेन।यात्रुहरूलाई मार नपरोस् भन्ने दृष्टिले नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यहाँ चाटर्ड उडानको अनुमति दिएको जनाएको छ।

क्यानले समेत त्यसको लागि आफ्नो ध्यानाकर्षण भएको सार्वजनिक रूपमा जनाएको थियो।उसले ट्विटरमा लेखेको थियो: “नेपाल र मलेशिया सरकारबीच भएको हवाई सेवा सम्झौता बमोजिम प्रतिहप्ता १४ वटा नियमित उडान सञ्चालन गर्न पाउने व्यवस्था भए तापनि सो वृत्तखण्डमा नियमित उडान सञ्चालन नगरी यात्रु चार्टर उडान सञ्चालनको लागि अनुमति माग गरिएको विषयमा प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधिएको छ।”(बीबीसी)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया